
आइतबार परेको असिनाका कारण पोखरा महानगरपालिकाका दुई वडाका विभिन्न क्षेत्रमा करिब ६ करोड रुपैयाँबराबरको सुन्तला बालीमा क्षति भएको छ । असिनाले महानगरको वडा नम्बर २१ र २२ का विभिन्न स्थानमा फूल खेल्न सुरु गरेको सुन्तलाको बोटमा हान्दा सोबराबरको क्षति भएको हो ।
२१ नम्बर वडामा पर्ने दोपहरे, वएली, फेदीपाटन, पोखराथोक, भालडाँडा, धम्नीलगायतका क्षेत्रमा लगाइएको सुन्तला बालीमा करिब पाँच करोड रुपैयाँबराबरको क्षति भएको वडाध्यक्ष दीपकप्रसाद सुवेदीले जानकारी दिए । यी क्षेत्रका कुल तीन सय किसानको मुख्य नगदे बालीको रूपमा सुन्तला खेती रहेको छ । यस वडामा वार्षिक करिब १० करोडको हाराहारीमा सुन्तला उत्पादन हुने गरेको सुवेदीले बताए ।
यसैगरी असिनाका कारण वडा नम्बर २२ को खाल्टेमा करिब एक करोड रुपैयाँबराबरको सुन्तला बालीमा क्षति भएको छ । असिनाका कारण सुन्तलामा आश्रित परिवारलाई धेरै नोक्सानी परेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए ।