गण्डकी प्रदेशको मुख्य धार्मिक पर्यटकीय गन्तव्यको रूपमा रहेको यस बागलुङ कालिका भगवती मन्दिर जीर्णोद्धार कार्य जारी छ । मन्दिरको जीर्ण भएको तामाको छाना मर्मत गर्नुका साथै कलात्मक इँटाको प्रयोग गरेर कालिका मन्दिरलाई थप आकर्षक बनाइँदै छ ।
मन्दिरका संरचना कंक्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सुन्दरतामा समस्या ल्याएको भन्दै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई कलात्मक ढंगले आफ्ना संरचना रूपान्तरण गर्ने रणनीतिक योजनाअनुसार जीर्णोद्धार गरेको हो ।
मुख्य मन्दिरको जीर्णोद्धार अन्तिम चरणमा पुगेको छ । मन्दिरका अन्य सहायक संरचना सत्तल, हवन कुण्डलगायतका संरचना भने निर्माणाधीन अवस्थामा रहेकाे कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
झन्डै दुई महिना लगाएर मन्दिरको भित्री संरचनाको मर्मत गरिएको उनले बताए । कालिका मन्दिर सुधारको पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रमअन्तर्गत यसको स्वरूपलाई कलात्मक बनाइएको र आगामी दिनमा मन्दिरसँग जोडिएर निर्माण हुने संरचनाहरू पुरातात्विक शैलीमै निर्माण गरिने अध्यक्ष खड्काको भनाइ छ ।
अहिले मन्दिरको पूर्वपट्टि सत्तल र हवन अग्नि कुण्ठ निर्माण भइरहेको छ । सिमेन्टले र ढुंगाले बनेका संरचनालाई बिस्तारै हटाउँदै कलात्मक काठ तथा धातुको प्रयोग गरेर संरचना बनाउने मन्दिरको योजना छ । २६ लाख रुपैयाँको लागतमा मन्दिरको जीर्णोद्धार गरिएको छ भने सत्तल निर्माणमा ७० लाख रुपैयाँ र हवन कुण्ड निर्माण गर्न १३ लाख रुपैयाँ खर्च लाग्ने गुठी व्यवस्थापन समितिले जनाएको छ ।