बेलायत र जापानका अनुसन्धाताले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का ६५ जना विज्ञलाई आगामी १० वर्षमा घरायसी काममा अटोमेसन (स्वचालन) को हिस्सेदारी कति हुन सक्छ भनेर सोधेका थिए । एआईविद्हरूले सबैभन्दा बढी अटोमेसन किराना किनमेलमा हुने र बालबालिका एवं वृद्धवृद्धा हेरचाहको क्षेत्र एआईबाट सबैभन्दा कम प्रभावित क्षेत्र हुने सम्भावना रहेको औँल्याएका छन् । यो अनुसन्धान ‘पिएलओएस वान’ जर्नलमा प्रकाशित छ ।
अक्सफोर्ड र जापानको ओचानोमिजु विश्वविद्यालयका अनुसन्धाताले भुक्तानी नहुने घरेलु काममा आउँदो दशकमा रोबोटले कस्तो प्रभाव पार्छ भनेर जान्न चाहेका थिए । ‘रोबोटले हाम्रो घरायसी धन्दा कति गरिदिन सक्छ,’ अनुसन्धाताले एआईविद्हरूलाई सोधेका थिए ।
अनुसन्धाताहरूका अनुसार विश्वमा भ्याकुम क्लिनर जस्ता घरायसी काम गरिदिने रोबोट अहिले सबैभन्दा व्यापक उत्पादन र बिक्री हुने रोबोट बनेका छन् । यो अध्ययन टोलीले बेलायतका २९ र जापानका ३६ एआईविद्लाई घरायसी रोबोटबारे भविष्यवाणी गर्न भनेको थियो । अनुसन्धाताहरूले के पाए भने घरेलु स्वचालनबारे बेलायतका पुरुष एआईविद् समकक्षी महिलाका तुलनामा बढी आशावादी सुनिए । तर, जापानमा भने स्थिति यसको उल्टो पाइयो । जापानी महिला एआईविद् पुरुषका तुलनामा बढी आशावादी थिए ।
अटोमेसनले गर्न सक्ने कार्यबारे विज्ञहरूको धारणा फरक–फरक छ । ‘बालबालिकालाई पढाउने, साथ दिने र परिवारका वृद्ध सदस्यको हेरचाह गर्नेजस्ता हेरचाहका काम केवल २८ प्रतिशत मात्र स्वचालित हुने आकलन छ,’ अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटका पोस्टडक्टोरल अनुसन्धाता डा. लुलु सीले भने । अर्काेतर्फ किनमेलमा खर्च हुने समयमा भने एआई (रोबोट) प्रविधिले ६० प्रतिशत बचत गर्ने अपेक्षा विज्ञहरूको छ ।
अनुसन्धाताहरूका अनुसार विश्वमा भ्याकुम क्लिनरजस्ता घरायसी काम गरिदिने रोबोट अहिले सबैभन्दा व्यापक उत्पादन र बिक्री हुने गरेका छन्
तर, अबको १० वर्षमा रोबोटले हामीलाई घरायसी धन्दाबाट मुक्त गर्नेछ भन्ने भविष्यवाणी पत्याउन इतिहासलाई हेर्नुपर्ने हुन्छ । सन् १८६६ मा टिभी सो टुमरोज वल्र्डले खाना पकाउन, कुकुरलाई घुमाउन, बच्चा हेर्न, किनमेल गर्न र कक्टेल बनाउनलगायत थुप्रै काम गर्न सक्ने घरेलु रोबोटबारे समाचार प्रसारण गरेको थियो । उसले यो रोबोटका निर्मातालाई १० लाख पाउन्ड दिने हो भने सन् १९७६ सम्ममा यस्ता रोबोट आइसक्ने समाचारमा उल्लेख गरेको थियो ।
अक्सफोर्ड युनिभर्सिटीका एआई एन्ड सोसाइटीका सहप्राध्यापक एवं अनुसन्धातामध्येका एक एकातेरिना हर्टाेग यो आशावादितालाई लामो समयदेखि चर्चामा रहेको स्वचालित कारको कहानीसँग तुलना गर्छिन् । ‘स्वचालित कार सडकमा आइहाल्ने र ट्याक्सीहरूलाई विस्थापित गर्ने कुरा दशकौँदेखि चलेको छ, तर अझैसम्म पनि त्यो साकार भइसकेको छैन । स्वचालित कारहरूले हाम्रा सडकको अप्रत्याशित वातावरणलाई नेभिगेट गर्न अझै सकेका छैनन् । यसर्थ, घरायसी धन्दा गरिदिने रोबोटको सन्दर्भ पनि यस्तै हो,’ उनले भनिन् ।
लन्डनस्थित किंग्स कलेजका एआई एन्ड सोसाइटीका सहप्राध्यापक डा. केट डेभलिनका अनुसार प्रविधिले मानिसको काम खोस्नेभन्दा पनि मानिसलाई सहयोग गर्ने सम्भावना बढी छ । ‘सामान्य र धेरै कामहरू गरिदिने रोबोट बनाउन गाह्रो र महँगो छ । बरु, हाम्रा घरेलु काम सबै गरिदिने भन्दा पनि ती काममा हामीलाई मद्दत गर्ने सहायक टेक्नोलोजी सिर्जना गर्नचाहिँ सजिलो र अधिक उपयोगी पनि हुन्छ,’ उनले भनिन् ।
बेलायतमा कामकाजी उमेरका पुरुषले घरका भुक्तानी नहुने अवैतनिक करिब ५० प्रतिशत काम गर्छन् भने जापानमा यो २० प्रतिशतभन्दा कम छ । घरायसी काममा असमान बोझले महिलाको कमाइ, बचत र पेन्सनमा नकारात्मक प्रभाव पर्ने प्राध्यापक हर्टाेगको तर्क छ । बढ्दो अटोमेसनले लैंगिक समानता बढाउन सक्ने अनुसन्धाताहरू बताउँछन् । कहिलेकाहीँ प्रविधि महँगो पनि हुन सक्छ । हार्टाेग यदि घरायसी काममा सहयोग गर्ने प्रणालीहरू समाजको एक समूहका लागि मात्र किफायती भए भने त्यसले ‘फुर्सदको असमानता’ वृद्धि गर्न सक्छ भन्छिन् ।