१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ फाल्गुण १२ शुक्रबार १४:४४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा चोरआतंक : दुई सहकारी र तीन मन्दिरमा चोरी

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण १२ शुक्रबार १४:४४:००

गुल्मीमा दुई सहकारी र मन्दिरहरूमा चोरी भएको छ। चन्द्रकोट गाउँपालिका–४ को चन्द्रकोट बचत तथा क्रृण सहकारी संस्थाको तीन लाख ५० हजार चोरी भएको छ। 

इलाका प्रहरी कार्यालय शान्तिपुरका अनुसार सहकारीको नगदसहित सिसिक्यामेरासमेत चोरी  भएकाे चौकीका प्रहरी सहायक निरीक्षक गिरबहादुर रोकाले जानकारी दिए।

राति चोरी भए पनि बिहान सहकारी खोल्ने वेलामा मात्रै थाहा भएकाले घटनाको मुचुल्का गरेर अनुसन्धान सुरु गरिएको रोकाले बताए। त्यस्तै चन्द्रकोट गाउँपालिका– ७ रूपाकोटको साना किसान कृषि सहकारी संस्थाको पाँच लाखभन्दा बढी चोरी भएको छ। 

बिहीबार राति च्यानल गेटको चाँपी तोडेर पाँच लाखभन्दा बढी नगद चोरी भएको मजुवा प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक राजु थापाले जानकारी दिए। घटनाको विषयमा अनुसन्धान अगाडि बढाएको सहायक निरीक्षक थापाले बताए।

तीन मन्दिर र व्यक्तिकोमा चोरी

गुल्मीको रेसुंगा नगरपालिका– ७ का विभिन्न मन्दिरमा चोरी भएको छ । फागुन पहिलो साता सिस्नेहार शिवालय मन्दिरमा काँसको घन्टी तीन केजी, तामाका कलश नौ थान, त्रिशूल एक थान, तामाको बगली नौ थान, त्रिगुडी एक थान, जलधारी एक थान, काँचको कचौरा एक थान, तामाको गाग्री एक थान, तामाको पाला दुई थान, काँसको आरती दानी एक थान, तामाको थुपौरो एक थान र शंख एक थानसहित पाँच सय रुपैयाँ भेटी चोरी भएको रेसुंगा नगरपालिका– ७ का वडाध्यक्ष राम्जी पन्थीले जानकारी दिए।

त्यस्तै, वडा नम्बर ७ कै सिस्नेहार कुलायन मन्दिरबाट घन्टी ६ थान, कैलेटी एक थान, तामाको बेला पाँच थान चोरी भएको छ । नेटाको राम मन्दिरबाट घन्टी सात थान, शंख एक थान, तामाको थाली चार, बेला पाँच, कैलेटी एक र दियो दुई थान चोरी भएको वडाध्यक्ष पन्थीले बताए। 

उनका अनुसार कुडापानीका पुनाराम पाण्डेयका गाग्री, ताउला र थाल चोरी भएका छन् । स्थानीय प्रकाश मरासिनी, देवीराम पन्थी र जीवन पन्थीका दाउरासमेत चोरी भएका छन् । रातिकाे समयमा चोरीसँगै गाउँका घरहरूमा ढोका र चेनगेट हान्ने गर्न थालेपछि स्थानीय आतंकित भएको रेसुंगा नगरपालिका– ७ का शालिकराम पन्थीले बताए। 

‘नागरिक रातभर जाग्राम बस्ने अवस्था भएको छ । मन्दिर र व्यक्तिका घरहरूसमेत चोरी भए,’ उनले भने, ‘प्रहरी प्रशासन सक्रिय नभए गाउँमा वृद्धाहरू मात्रै बस्ने भएकाले अरू ठूला घटना हुन सक्छन्।’

अनुसन्धानमा छौँ : एसपी

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले मन्दिर तथा सहकारीमा भएका चोरीका विषयमा अनुसन्धान भइरहेको बताए। उनले चन्द्रकोटका सहकारीको चोरीका विषयमा स्थानीय चौकी र जिल्लाबाट अनुसनधान अधिकृतलाई अनुसन्धानमा खटाइसकेको प्रधानले बताए। 

उनले सिसिटिभी रेकर्ड गर्ने उपकरण नै चोरी भएकाले नजिकैको क्यामेराको सहयोगले अनुसन्धान भइरहेको बताए।