
संकटा क्लब भद्रपुर–झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । संकटाले आयोजक भद्रपुर ब्लेजर्समाथि १–० को कठिन जित निकाली अन्तिम चारको स्थान पक्का गरेको हो । संकटाको जितमा एक मात्र गोल मनीष डाँगीले गरेका थिए ।
यसै सिजन संकटामा अनुबन्धित भएका मनीषले खेलको पाँचौँ मिनेटमै संकटाका लागि गोल गरे । निशान खड्काको क्रसमा मनीषले डिबक्सभित्र वान टचमै गोल गर्दै संकटालाई अन्तिम चारमा पुर्याएका हुन् ।
खेलमा सम्हालिन नपाउँदै गोल व्यहोरेको भद्रपुरले बाँकी समयमा बल आफ्नो नियन्त्रणमा राखेको थियो । तर, भद्रपुरको फिनिसिङ कमजोर हुँदा गोल भएन । घरेलु दर्शकको साथ पाएको भद्रपुर ब्लेजर्सले उत्कृष्ट प्रदर्शन गरेको थियो । संकटाले सुरुदेखि भद्रपुरका विदेशी स्ट्राइकर स्टेफन बिनोङ र मेसुके ओलोमोउलाई मार्किङमा राखेको थियो । यी दुई मुख्य खेलाडी मैदानमा चल्न नसक्दा भद्रपुरले हारको सामना गरेको हो ।
यसै सिजनमा भएको आहारारा गोल्डकपमा स्टेफन र मेसुकेले संकटाबाट खेलेका थिए । संकटाका प्रशिक्षक सल्यान खड्गी यी दुवै खेलाडीबारे राम्रो जानकार थिए । खड्गीले स्टेफन र मेसुकेलाई चल्न नदिने रणनीति बनाए । प्रशिक्षक खड्गीको रणनीति सफल भएको देखिन्छ । स्टेफन र मेसुके ए डिभिजन लिगअन्तर्गत खुमलटार फुटबल क्लबमा आबद्ध छन् ।
भद्रपुरले अधिकांश खुमलटारकै खेलाडी अनुबन्ध गरी प्रतिस्पर्धा गरेको हो । भद्रपुरले खेलमा धेरै गोल अवसर चुकायो । खेलको २३औँ मिनेटमा भद्रपुरका एन्जेल गुरुङले डिबक्सभित्र मनीष थापालाई पास दिएका थिए । थापाको प्रहारलाई संकटाका गोलरक्षक टिकेन्द्रसिंह थापाले बचाए ।
रणनीतिले काम गर्यो
सल्यान खड्गी, प्रशिक्षक, संकटा
हामीले आयोजक टोलीविरुद्ध अपनाएको रणनीतिले काम गर्यो । यही रणनीतिमै जित निकाल्यौँ । खेलमा जित भनेको जित नै हो । विपक्षी पोस्टमा १० गोल वा एक गोल गरे पनि जित आखिर जित नै हो ।
अवसर सदुपयोग भएन
हरि खड्का, प्रशिक्षक, भद्रपुर ब्लेजर्स
खेलमा जबसम्म स्कोर गर्न सकिँदैन, त्यस वेलासम्म नतिजा आफ्नो पक्षमा पार्न सकिँदैन । फेरि प्रशिक्षकले दिएको ट्याक्टिकल ड्युटिजमा अलिकति ल्याक हुँदा नतिजा अर्कोतिर जान्छ । प्राप्त अवसरलाई सदुपयोग गर्न सकेनौँ । रणनीतिअनुसार नै खेलाडीले खेलेका थिए ।