दुर्गा प्रसाईंकाे अभियानमा सक्रिय युवाद्वारा आत्मदाहको प्रयास

मंगलबार, ९ फागुन, २०७९
डिजिटल संस्करण

झापामा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। बिर्तामोडस्थित मुक्ति चोकमा बिर्तामोड–७ का ३४ वर्षीय विजय चौधरीले आत्मदाहको प्रयास गरेका हुन्। 

उनले मंगलबार शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

विजयको शरीरको पछाडिको भागमा जलेको कार्कीले बताए। उनको बिर्तामोडस्थित बिएन्डसी अस्पतालको एचडियू कक्षमा उपचार भइरहेको छ। ‘घरायसी र आर्थिक कारण भनेर उनले भनेका छन्,’ डिएसपी कार्की भन्छन्, ‘यसबारेमा घाइते चौधरी धेरै बोल्न मानेनन्।’

चौधरी बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा चालकको रूपमा काम गर्दै आएका थिए। उनी बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईंले बैंक र वित्तीय संस्थाविरुद्ध गरेको अभियानको प्रचारमा सक्रिय थिए। उनी प्रसाईंनिकट मानिन्छन्। शरीरमा प्रसाईंको ट्याटुसमेत खोपेको उनले सामाजिक सञ्जालमा पोस्ट गरेको फोटोमा देखिन्छ। 
 

सुझावित समाचार