१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:३७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार

गोंगबु घटनाबारे छानबिन समितिको निष्कर्ष : प्रहरी कमान्डमा चुक्दा अप्रिय घटना भयो

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:३७:oo

प्रहरीले प्रभावकारी कमान्ड गर्न नसक्दा यातायात मजदुरको प्रदर्शन आगजनीमा बदलिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट गठित उच्चस्तरीय छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले प्रहरी वृत्त बालाजु र सोह्रखुट्टेका डिएसपीलाई कारबाहीको समेत सिफारिस गरेको छ । 

मजदुरले गरेको आन्दोलनका दिन प्रहरी वृत्त बालाजुको कमान्डर डिएसपी रविन विष्ट थिए । कमान्डमा खोट देखाउँदै उनलाई भोलिपल्टै उपत्यका प्रहरी कार्यालय तानिएको थियो । उनको ठाउँमा डिएसपी मनजित कुँवर पठाइएको छ । त्यस्तै, प्रहरी वृत्त सोह्रखुट्टेमा आन्दोलनका दिन डिएसपी गणेश बम थिए । उनलाई भने हालसम्म वृत्त प्रमुखबाट हटाइएको छैन ।

 उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी हिमालय श्रेष्ठले कमजोर कमान्ड गरेको देखिएपछि दुई डिएसपीलाई कारबाही सिफारिस भएको बताए । ‘बालाजुमा भएको तोडफोड तथा आगजनीको विषयलाई अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको थियो । यसक्रममा समितिले आन्दोलनका दिन गरिएका कमान्ड र भएका ‘ल्याप्सेस’लाई अध्ययन ग¥यो । यसक्रममा वृत्त प्रमुखले प्रभावकारी कमान्ड गर्न नसकेको देखियो । उनीहरूलाई समितिले कारबाही गर्न सिफारिस गरेको छ,’ उनले भने ।

आगजनी तथा तोडफोडको विषयलाई लिएर उपत्यका प्रहरी कार्यालयले डिआइजी मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिमा कार्यालयका प्रवक्ता एसएसपी हिमालय श्रेष्ठसहित एसपी सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजाल र कार्यालयका डिएसपी खुमलाल भुसाल थिए । पाँच दिनको छानबिनपछि समितिले शनिबार नै प्रतिवेदन कार्यालय प्रमुख एआइजी दिवेश लोहनीलाई बुझाएको थियो । 

‘घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन तयार भएको छ । शनिबार प्रतिवेदन कार्यालय प्रमुखलाई बुझाइसकेका छौँ । प्रतिवेदनमा प्रहरीको कमजोरी मात्र नभई आन्दोलन नियन्त्रण गर्ने क्रममा भएका राम्रा प्रयास पनि उल्लेख भएका छन् । आगामी दिन प्रहरीले सुधार गर्नुपर्ने पाटोसहित केही सुझाव पनि प्रतिवेदनमा समेटिएका छन्,’ श्रेष्ठले भने ।

गत १ फागुनमा भएको आन्दोलनका क्रममा आन्दोलनकारीले प्रहरीको बा.२झ १४४ नम्बरको स्कारपियो र बा.१झ ७२२४ नम्बरको माज्दा गाडी तोडफोड गर्नुका साथै आगजनी गरेका थिए । उनीहरूले माछापोखरीस्थित प्रहरी बिटमा पनि ढुंगामुढा तथा आगजनी गरेका थिए ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी हिमालय श्रेष्ठ भन्छन् –बालाजुमा भएको तोडफोड तथा आगजनीको विषयलाई अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको थियो । यसक्रममा समितिले आन्दोलनका दिन गरिएका कमान्ड र भएका ‘ल्याप्सेस’ लाई अध्ययन गर्‍यो । यसक्रममा वृत्त प्रमुखले प्रभावकारी कमान्ड गर्न नसकेको देखियो । उनीहरूलाई समितिले कारबाही गर्न सिफारिस गरेको छ ।

बिट तथा गाडीमा राखिएका मोटोरोला बेस सेट, फायर स्ट्रिंगुइजर, मेगा फोन, हाइटेरा बेस सेट, ब्याट्री जलेर पूर्ण रूपमा नष्ट भएका थिए । त्यस्तै, आन्दोलनकारीले ट्राफिक आइल्यान्डमा समेत तोडफोड तथा आगजनी गरेका थिए । आइल्यान्डमा राखिएका नेपाल टेलिकमको ट्रेलर मेसिन र कोरफाइबर केबल जलेर नष्ट गरिएका थिए । सोही दिन नयाँ बसपार्कस्थित ल्होत्से मलमा आन्दोलनकारी प्रवेश गरी आठ करोड रुपैयाँ मूल्यबराबरको मोबाइल लुटपाट गरेका थिए । प्रहरीबाट गठित छानबिन समितिले तोडफोड, आगजनी तथा मोबाइल लुटपाटसँग सम्बन्धित आर्थिक पक्षको अनुसन्धान गरेको छैन । 

 यसकारण भयो कमान्डमा कमजोरी 
यातायात मजदुरको आन्दोलनका कारण बालाजुस्थित माछापोखरी र गोंगबु क्षेत्र १ फागुनको बिहानैबाट तनावग्रस्त थियो । आन्दोलन नियन्त्रणका लागि प्रहरी वृत्त बालाजु र सोह्रखुट्टेको टोली माछापोखरी क्षेत्रमा खटिएका थिए । नयाँ बसपार्क र गोंगबु क्षेत्रमा भने महाराजगन्ज वृत्तका टोली थिए । 

आन्दोलनकारीले दिनभरजसो प्रहरीतर्फ ढुंगामुढा प्रहार गरे । प्रतिकारमा प्रहरीले लाठीचार्ज तथा अश्रुग्यास प्रहार गर्‍यो । दुई पक्षबीच झडप चलिरहेको थियो । यहीक्रममा साँझ ५ बजेपछि आन्दोलनकारी एकाएक उत्तेजित बने । ‘फिल्ड’मा सँगै खटिएका बालाजु र सोह्रखुट्टे वृत्तका दुई डिएसपी घटनाको विश्लेषण गर्न चुके जसलाई संगठनमा सबैभन्दा ठूलो गल्ती मानिन्छ । परिणामतः आन्दोनकारी प्रहरीमाथि हाबी भयो । मनोबल बढेका आन्दोलनकारी थप आक्रामक भए । कमान्ड मात्र नभई आफू चढेको गाडी र प्रहरी बिटसमेत छाडेर ‘फिल्ड’मा खटिएका प्रहरी एकाएक पछि हटे । यही मौकामा आन्दोलनकारीले प्रहरीको बिट मात्र नभई दुईवटा गाडीमा समेत आगो लगाए । 

 प्रहरी पैदलै खटिँदा  ल्होत्से मलमा लुटपाट  
उग्र बनेका आन्दोलनकारी गोंगबुस्थित पूजाकोटी पेट्रोल पम्पमा आगजनी गर्न अघि बढेको सूचना प्रहरीकहाँ पुग्यो । प्रहरी वृत्त महाराजगन्जको टोली पेट्रोल पम्प सुरक्षामा खटियो । जुनवेला वृत्त प्रमुख डिएसपी अंगुर जिसी ल्होत्से मलको व्यवस्थापन पक्ष र आन्दोलनकारीबीच भइरहेको वार्तामा सहभागी थिए । घटना नियन्त्रणभन्दा बाहिर जान सक्ने आकलन डिएसपी जिसीले गरिसकेका थिए । सहयोगका लागि उनले नयाँ बसपार्क क्षेत्र सुरक्षाका लागि थप टोली मगाए ।

काठमाडौं परिसरले घटनास्थलतर्फ सोह्रखुट्टे वृत्तका टोली पठाउन सोह्रखुट्टे वृत्तलाई निर्देशन दियो । वृत्त प्रमुख बमले मातहतका टोलीलाई पैदलै घटनास्थल जान निर्देशन दिए, जुन उनको अर्को गल्ती थियो । परिणामतः निर्धारित समयमा प्रहरी नयाँ बसपार्क क्षेत्रमा पुग्न सकेन । उग्र बनेका आन्दोलनकारी ल्होत्से मल पसेर मोबाइल पसल लुटे । 

 काठमाडौं परिसर प्रमुख जोगिए 
बालाजु र सोह्रखुट्टे वृत्त जिल्ला प्रहरी परिसर काठमाडौंको निर्देशनमा चल्छ । बालाजु घटनाका दिन परिसरका एसपी सीताराम रिजाल फिल्डमै खटिएका थिए । परिसर प्रमुख एसएसपी दानबहादुर कार्की पनि कमान्डमै थिए । तर, छानबिन समितिले दुवै वृत्तका कमान्डर एसएसपी कार्कीलाई कारबाहीको कुनै सिफारिस गरेको छैन । कमान्ड प्रभावकारी नभएको भन्दै समितिले सुधार गर्न सुझाव भने दिएको छ । छानबिन समितिमा संलग्न एक उच्च अधिकारीले भने, ‘दुवै वृत्तको कमान्डर स्वाभाविक रूपमा काठमाडौं परिसर प्रमुख हो । मातहतका वृत्तले गरेका कामको जस–अपजस परिसरलाई नजाने कुरै भएन । तर, यसपटक परिसरलाई सामान्य सुझावबाहेक कारबाहीको सिफारिस भएको छैन ।’ 
 

ad
ad