१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १६:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पौदीअमराई स्वास्थ्यचौकी २८ वर्षपछि आधुनिक भवनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:३८:oo

गुल्मीको मुसिकोट नगरपालिका– १ को पौदीअमराई स्वास्थ्यचौकीले २८ वर्षपछि आधुनिक भवनबाट सेवाप्रवाह सुरु गरेको छ। भवनको पूर्वमन्त्री तथा गुल्मी २ का सांसद गोकर्ण विष्टले उद्घाटन गरे। 

भवन उद्घाटन गर्दै पूर्वमन्त्री विष्टले विकासलाई खुसीसँग जोड्नुपर्ने बताए। गाउँगाउँमा विकासका पूर्वाधार निर्माण हुँदा पनि नागरिकले घर छोड्ने र दुःखी बन्ने अवस्था रहेकाले राजनीतिलाई दलगत दाउपेच र स्वार्थसँग नभएर जनताको समृद्धिसँग जोड्नुपर्ने बिष्टले बताए।

विष्टले पदभन्दा जनताका शिक्षा, स्वास्थ्य, सडक, विद्युत्, खानेपानीलगायतका आधारभूत आवश्यकताका विषय संसदमा उठ्नुको सट्टा संसद् दल–दलबीच आरोप–प्रत्यारोप गर्ने थलो बनिरहेको बताए।  

०५१ सालमा स्थापना भएको स्वास्थ्यचौकी दुईकोठे कच्ची भवनबाट सञ्चालन गरिएको थियो । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ रुपन्देहीमार्फत बाँसुरी डी एन्ड डि-पुष्पाञ्जली जेभीले भवनको निर्माण गरेको वडाध्यक्ष मोहन घिमिरेले जानकारी दिए। 

एक करोड ५१ लख ६८ हजार तीन सय ४६ रुपैयाँको लागतमा इलेक्ट्रिकल तथा सेनेटरी सुविधासहितको दुईतले १८ कोठे आरसिसी स्वास्थ्यचौकी भवन र शौचालय निर्माण गरिएको घिमिरेले बताए। 

स्वास्थ्यचौकी भवन नहुँदा सेवाप्रवाहसहितको व्यवस्थापनमा निकै चुनौती रहेको थियो । ‘ख’ वर्गको स्वास्थ्यचौकी भवन निर्माण भएपछि बर्थिङ सेन्टरसहितको सेवा व्यवस्थित गर्न सकिएको स्वास्थ्यचौकी इन्चार्ज प्रतिमा श्रेष्ठले जानकारी दिइन्। स्वास्थ्यचौकीबाट दैनिक २०-२५ जनाले सेवा लिने गरेका छन्। 

मुसिकोट नगरपालिकामा धमाधम स्वास्थ्यचौकीका भवन निर्माण भइरहेका छन्। वडा नम्बर १, ३, ५ र ६ मा आधुनिक स्वास्थ्यचौकी भवन निर्माण भएका छन्। वडा नम्बर ४ र ८ मा स्वास्थ्यचौकी निर्माणाधीन अवस्था रहेका छन्। त्यस्तै वडा नम्बर २ र ९ मा चौकीका लागि प्रस्ताव पेस गरिएको छ।

भने वडा नम्बर ७ मा १५ शय्याकाे आधुनिक अस्पताल भवन निर्माणको काम भइरहेको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिए। 

उनका अनुसार नगरमा सातवटा स्वास्थ्यचौकी, दुई आधारभूत स्वास्थ्य केन्द्र, तीन सहरी स्वास्थ्य केन्द्र, दुई सामुदायिक स्वास्थ्य इकाइ छन्। पालिकाभित्र सात बर्थिङ सेन्टर र चार एम्बुलेन्स छन्।

मुसिकोट नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा विभिन्न रचनात्मक काम गरिरहेको छ। गर्भवती तथा सुत्केरीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा, गर्भवतीसँग उपप्रमुख कार्यक्रमअन्त्रगत पोषिलो झोला वितरण तथा पोषणमैत्री र जिरो होम डेलिभरी पालिका घोषणाउन्मुख काम भइरहेको मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले बताए। 

उनले पालिकाभित्र थुप्रै भौतिक संरचनाका काम भएकाले अब सेवा प्रवाहलाई गुणस्तरीय बनाउन जरुरी रहेको बताए।  

ad
ad