१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
इयान बुरुमा
२o८१ बैशाख २२ शनिबार o८:५४:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

इतिहास अपव्याख्याको पासो

रुसी आक्रमणविरुद्ध देशको रक्षाका खातिर युद्धमैदानमा खडा हुन जेलेन्स्की र उनका सहजात युक्रेनीहरूलाई अभिप्रेरित गरेको विचारधारालाई पुटिन नाजी विचारधारा भन्दै छन्

Read Time : > 3 मिनेट
इयान बुरुमा
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:५४:oo

यसअघि स्टालिनग्राड भनेर चिनिने भोल्गोग्राडमा हालैमा बोल्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथिको आक्रमणको औचित्य पुष्टि गर्न द्वितीय विश्वयुद्धको त्रासदीलाई उच्चारण गरे । र, द्वितीय विश्वयुद्धमा बेलायत र अमेरिका सोभियत संघका सहयोगी रहेको कुरा उल्लेखै नगरी उनले हाकाहाकी भने, ‘हामीले पश्चिमाको सामूहिक हमलालाई बारम्बार प्रतिकार गर्नुपर्छ ।’ उनले थपे, ‘रुसलाई जर्मन ट्यांकहरूद्वारा धम्काइँदै छ । आधुनिक स्वरूपको नाजीवादी विचारधाराविरुद्ध उभिन हामीलाई बाध्य पारिँदै छ ।’

अवश्य पनि यो इतिहासको विकृत एवं दुर्नियतपूर्ण अपव्याख्या हो । यो निन्दनीय अपव्याख्या उनले त्यो स्थानमा उभिएर दिए, जुन स्थानमा दोस्रो विश्वयुद्धको सबैभन्दा घातक लडाइँमा सोभियत संघ र जर्मनीका एक लाखभन्दा बढी सैनिक मारिएका थिए । अहिले रुसले आफ्नो रक्षा गरिरहेको छैन, उसले अर्काे एक सार्वभौम देशमाथि आक्रमण गरेको छ, जहाँका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की आमसंहारको समयमा आफन्त गुमाएका एक यहुदीका सन्तान हुन् । रुसी आक्रमणविरुद्ध देशको रक्षाका खातिर युद्ध मैदानमा खडा हुन जेलेन्स्की र उनका सहजात युक्रेनीहरूलाई अभिप्रेरित गर्ने विचारधारालाई पुटिन नाजी विचारधारा भन्दै छन् र उनकोे यो मापदण्डअनुसार स्वाधीनता रक्षाको मान्यता पनि निन्दनीय छ ।

जर्मन ट्यांकहरूबाट रुसमाथि कथित खतरा उत्पन्न भएको भन्ने सम्बन्धमा, जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेनमा १४ लियोपार्ड दुई ट्यांकहरू पठाउने निर्णय गर्न निकै लामो समयसम्म हिचकिचाए । किनभने स्कोल्ज आफ्नो देशलाई सैन्य नेताको रूपमा हेर्न चाहँदैनथे । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई एम १ अब्राहम्स ट्यांकहरू उपलब्ध गराउन अनिच्छुकतापूर्वक सहमत भएपछि मात्रै स्कोल्ज यो निर्णयमा पुगेका थिए । 

पुटिनले जस्तै जर्मन नेताहरूले पनि अक्सर द्वितीय विश्वयुद्धको कुरा उठाउने गर्छन् । कहिलेकाहीँ त उनीहरूका कुरा सुन्दा वाक्क नै पनि लाग्छ । तर, उनीहरूले त्यस युद्धबारे निकाल्ने निष्कर्ष पुटिनको अन्धो सैन्यवादविपरीत हुने गर्छ । भोल्गोग्राडमा पुटिनले भाषण दिनु एक साताअघि स्कोल्जले जर्मनीको संसद्मा बर्सेनि आयोजना हुने आमसंहारको सम्झना कार्यक्रमको मञ्चलाई लाखौँ यहुदीको हत्याप्रति जर्मनीको ऐतिहासिक जिम्मेवारीमाथि जोड दिने अवसरको रूपमा उपयोग गरेका थिए ।

आमसंहारको जिम्मेवारी स्वीकार गर्दै स्कोल्जले यस्तो अपराध कहिल्यै नदोहोरिने सुनिश्चितता गर्न आवश्यक भएको टिप्पणी गरेका थिए । बुन्डेसट्याग (जर्मनीको संघीय राष्ट्रिय संसद्)का अध्यक्ष बार्बेल बासले उक्त स्मरण सत्रको उद्घाटन गर्दै छलफलको सुरुवात गरे र जर्मनीमा पछिल्लो समय यहुदीविरोधी भावनामा वृद्धि भइरहेको कुरा प्रकाश पार्दै आमसंहारको गम्भीरतालाई हल्कारूपमा लिनेहरूलाई ‘देशको धब्बा’ भने ।

इतिहासबाट गलत पाठ सिकेको तर्क गर्दै केहीले युक्रेनलाई सहयोग गर्नेतर्फ पर्याप्त सक्रिय भूमिका खेल्न अनिच्छुकता देखाएकामा स्कोल्जको आलोचना गर्छन् । उनीहरूका अनुसार सैन्य आक्रामकताप्रति उनको वितृष्णाले उनको पुस्ताका जर्मन नेताहरूलाई आकार दिएको युद्धपछिको शान्तिवादलाई प्रतिबिम्बित गर्छ । यसैगरी, रुसी ग्यासमा निर्भर हुने जर्मनीको दशकौँ पुरानो निर्णयलाई पनि युुद्धविरुद्ध व्यापार र आपसी निर्भरतालाई ढालका रूपमा प्रयोग गर्ने प्रयासका रूपमा हेर्न सकिन्छ । तर, रुसले युक्रेनमा आक्रमण गरेयता जर्मनीलाई उसका सहयोगी मुलुकले आफ्नो शान्तिवादी विदेश नीतिमा पुनर्विचार गर्न, नेतृत्वदायी सैन्य भूमिका निभाउन र विगतमा आफूले क्रूर व्यवहार गरेको देश युक्रेनको रक्षार्था सहयोगमा अग्रसर हुन दबाब दिएका छन् । 

भ्लादिमिर पुटिन युक्रेनमाथिको रुसी हमलालाई जायज ठहर्‍याउन नाजी जर्मनीको त्रासदीको कुरा गरेर इतिहासको कुत्सित अपव्याख्या गर्छन् । तर, आक्रमणकारी रुसका विरोधीहरूले पुटिनलाई हिटलरसँग तुलना गर्नेजस्ता अलमल्याउने खालका अनुचित तुलनाको पासोमा फस्नुहुँदैन ।  

हिंसालाई अक्सर ऐतिहासिक गल्तीहरूको सम्झनाले मलजल गराउँछ । र, आमसंहार ऐतिहासिक अपराध हो । उदाहरणका लागि, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा इजरायलका दक्षिणपन्थी राजनीतिज्ञहरूले कब्जा गरिएका क्षेत्रका र सन् १९६७ अघिको सीमाभित्रका प्यालेस्टिनीहरूमाथिको हिंसात्मक दमनलाई जायज ठह¥याउन यहुदी आमसंहारको आघातलाई निरन्तर उद्धृत गर्ने गर्छन् ।

त्यसो भए के यसको अर्थ आमसंहार (होलोकास्ट) र अन्य ऐतिहासिक त्रासदीका सम्झनाहरू राजनीतिक लाभ र अवसरका लागि तोडमरोड र उपयोग भइरहनु हुन्छ भन्ने हो अनि तिनको वास्तविक महŒव र अर्थलाई अब पनि झुटा उपमाहरूबाट दिग्भ्रमित हुन दिइरहने हो ? के जर्ज सान्तायानाको प्रसिद्ध भनाइ ‘जसले इतिहासलाई याद राख्न सक्दैनन्, उनीहरू नै इतिहासको पुनरावृत्तिका लागि दोषी छन्’ सही सावित भएको हो ?

यसको जवाफ ‘हो’ र ‘होइन’ दुवै हो । विभिन्न समय र सन्दर्भमा भएका इतिहासका पुनरावृत्तिले बहुमूल्य व्यावहारिक पाठ र नयाँ दृष्टिकोण प्रदान गर्न सक्छ । साथै, समानताहरू औँल्याउन पनि प्रेरित गर्न वा हामीलाई गलत निष्कर्षमा पु¥याउन पनि सक्छ । 

यसका विचित्र उदाहरणमा पूर्वअमेरिकी कंग्रेसवुमन (सांसद) मिसेल बाचम्यानको यहुदी आमसंहारसँग करवृद्धिको तुलना, त्यसैगरी अमेरिकाकै रिपब्लिकन संसद मार्जोरी टेलर ग्रिनीको यहुदीमाथिको नाजी अत्याचारसँग जनस्वास्थ्यसम्बन्धी कोभिड–१९ विरुद्धका उपायहरूको तुलना आदिलाई समावेश गर्न सकिन्छ । यस्ता आपत्तिजनक विचारहरूको मूल कारण अज्ञानता नै हो । 

निन्दनीय वा विद्वेषपूर्ण नभए पनि अन्य केही कथित ऐतिहासिक तुलना पनि उत्तिकै बेकारका लाग्छन् । उदाहरणका लागि, अन्तर्राष्ट्रिय आसविट्स समितिको हालैको एउटा अभिव्यक्तिमा वर्तमान युक्रेनवासीको प्रताडनलाई नाजीहरूको हातबाट अत्याचार भोगेर आमसंहारबाट बाँचेका यहुदीहरूको पीडासँग तुलना गरिएको छ । युक्रेनमा रसियाको आपराधिक व्यवहार अस्वीकार्य हुँदाहुँदै पनि पुटिनको अत्याचार र आमसंहारबीच समानता रहेको सन्देश दिने तुलनाले यी दुवैको गाम्भीर्यलाई फिक्का बनाउन नै मद्दत गर्छ । पुटिन एकदमै खराब छन् । उनलाई हिटलरसँग तुलना गर्न आवश्यकै छैन ।

केवल समानताको चित्रण गर्नुभन्दा पनि इतिहासबाट सिक्नुपर्ने कुरा धेरै छन् । इतिहास अध्ययन गर्नु भनेको हामी को हौँ, केही घटना किन भए र तिनले हामीलाई अझै कसरी प्रभावित गरिरहेका छन् भन्ने बुझ्नु पनि हो । साथै, हामी इतिहास उसैगरी फेरि पनि नदोहोरियोस् भन्नेमा पनि सचेत हुनैपर्छ । 

समकालीन नीतिहरूलाई तिनको गुण र दोषको आधारमा मूल्यांकन गर्नुपर्छ केवल विगतसँग तिनको तुलनाका आधारमा होइन । आमसंहारका लागि मुलुकको जिम्मेवारी स्विकारेकै कारण अहिले जर्मनीका ट्यांकहरू युक्रेन पठाउनबाट हच्किनुको कुनै अर्थ छैन । यसैगरी, एक शताब्दीअघि नाजी जर्मनीको हातबाट सोभियत संघका जनताले भोग्नुपरेको भयानक त्रासदीले पनि आजको रुसी हमलाको औचित्य पुष्टि गर्न सक्दैन ।

‘विगत भनेको विदेशी मुलुक हो, तिनीहरू त्यहाँ फरक तरिकाले काम गर्छन्’ बेलायती उपन्यासकार एलपी हार्टलीले कतै लेखेथे । अफसोच ! यसको मतलब अहिले हामी चिजहरू त्यसभन्दा राम्रोसँग गर्छाैँ भन्ने होइन रहेछ । तर, त्यो पाठ बुझ्न हामीले सान्तायाना (स्पेनी मूलका अमेरिकी दार्शनिक)को सल्लाहको परिपालन र इतिहासको सावधानीपूर्वक अध्ययन गर्नुपर्छ ।
– प्रोजेक्ट सिन्डिकेटबाट (बुरुमा मर्डर ‘इन आम्र्सटर्डम : द डेथ अफ दियो भ्यान गोघ एन्ड द लिमिट्स अफ टोलरेन्स’, ‘इअर जेरो : ए हिस्ट्री अफ १९४५’, ‘ए टोकियो रोमान्स : ए मेमोइर’लगायत पुस्तकका लेखक हुन् । )
 

ad
ad