१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लघु, घरेलु तथा साना उद्योग नै देशको अर्थतन्त्रको मेरुदण्ड : प्रधानमन्त्री

औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:१३:oo

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै देशको अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यस्ता उद्योगहरूको संरक्षण र प्रवद्र्घनमा सरकार प्राथमिकताका साथ लाग्ने बताएका छन् । प्रधानमन्त्रीले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले मंगलबारदेखि आयोजना गरेको नेपाल १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्रांगारिक कृषि मेला– २०७९ को उद्घाटन गर्दै उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । 

लघु, घरेलु तथा साना उद्योगीले उपभोग गरेको कर्जालाई नवीकरण गरी थप पुनर्कर्जा प्राप्त गर्ने वातावरण बनाइने आश्वासन पनि उनले दिए । उत्पादनमूलक लघु, घरेलु तथा साना उद्योगका लागि प्रदान गरिने सहुलियतपूर्ण कर्जालाई पुनः परिभाषित गर्दै सम्भावनायुक्त उद्योगहरूको प्रोत्साहनका लागि विशेष कार्यक्रम ल्याइने उनको भनाइ थियो ।

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु, घरेलु तथा साना उद्योगमा परेको पुँजी अभावलगायत समस्यालाई पनि सरकारले सम्बोधन गर्ने उनले बताए । आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न कृषिजन्य उद्योग, घरेलु तथा साना उद्योगको संरक्षणविना असम्भव भएको भन्दै उनले आफू सधैँ उद्योग–व्यवसाय क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सरकारले सदैव निजी क्षेत्रसँगको सहकार्यबाट अगाडि बढ्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । 

महिला तथा बालबालिकामन्त्री भगवती चौधरीले समृद्ध अर्थतन्त्रको निर्माण र देश विकासमा जोडिएका लघु, घरेलु तथा साना उद्योगहरू स्थानीय बजारका साथै निर्यातमा पनि लैजान सुझाव दिइन् । बागमती प्रदेशका उद्योग, पर्यटन तथा सहकारीमन्त्री डम्बर तामाङले यस्ता उद्योगका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा समेत लैजान सुझाव दिँदै यस्ता उद्योगको विकासका लागि बागमती प्रदेश सघाउन तयार रहेको बताए । 

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले लामो समयदेखिको अस्थिरता तथा महामारीका कारणले गर्दा बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु, घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पुँजीको अभावले उद्यमीहरू टाट पल्टिन लागेको बताए । 

शनिबारसम्म चल्ने प्रदर्शनीमा देशभरका झन्डै ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रतिबिम्बित गरिएको आयोजकको भनाइ छ । विगत केही वर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाका रूपमा आयोजना गर्न सुरु गरेको मेला संयोजक शोभा गुरुङले बताइन् । 

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क देश तथा चीनको सहभागिता रहेको जनाइएको छ । दुई सय स्टल रहेको प्रदर्शनी अवलोकन गर्न दुई लाखभन्दा बढी आउने र सात करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले बताए । 

ad
ad