मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २ मंगलबार
  • Friday, 14 March, 2025
श्रवण थापा सर्लाही
२o७९ फाल्गुण २ मंगलबार १४:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कमाउने दुई छाेरा बिरामी, उपचारमा सहयोग गर्न माझी परिवारको हारगुहार

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७९ फाल्गुण २ मंगलबार १४:o४:oo

उपचार अभावमा दुई छोराको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि माझी परिवारले उपचारका लागि सहयोग गरिदिन आग्रह गरेकाे छ। 

सर्लाहीको ईश्वरपुर नगरपालिका– ७, धनपट्टि डाँडाको खोकना बस्ने बिन्देश्वर माझीका दुई छोराको आर्थिक अभावमा उपचारमा समस्या भइरहेको छ। 

अत्यन्त विपन्न माझी परिवारमा कमाउने दुवै छोरा बिमारी भएपछि घरमा आर्थिक संकटसमेत निम्तिएको छ।

बिन्देश्वरका जेठा छोरा अर्जुन माझी अहिले २० वर्षका भए। उनी कामको खोजीमा दुई वर्ष पहिला भारतको राजस्थान पुगेका थिए। उनले त्यहाँ दाल मिलमा भारी बोक्ने, दाल ग्रेडिङ गर्ने काम गरे। 

त्यसबाट महिनाको नाै हजार भारु पाउँदै आएको उनले बताए। काम गर्न सुरु गरेको केही समयपछि उनको दायाँ हातको बुढी औँलाको कापमा घाउ आयो।  घाउ बढ्दै गएर काम गर्न समस्या भएपछि उनी घर फर्किए। 

उनी अहिले गाउँतिर एक हातले मजदुरी गरिरहेका छन्। दैनिक एक हातको भरमा खोलामा ट्रयाक्टरमा बालुवा भर्ने काम गर्ने गरेको उनले सुनाए। ‘के गर्नु गर्नैपर्छ,’ उन्ले भने, ‘काम नगरे चुलो बल्दैन। एउटा हातले काम गर्न सक्दैन भनेर गाउँमा काम दिन छाडेपछि ट्रयाकटरमा बालुवा भर्ने काम सुरु गरेको हुँ।’

उनले उपचारका लागि पैसाले भ्याएसम्मका अस्पताल धाएको बताए। तर, घाउले निको हुने नामै लिएन। पटक–पटकको उपचारपश्चात् केही चिकित्सकले बाहिर राम्रो अस्पताल लैजानु भनेपछि अर्जुन अहिले घरमै बसिरहेका छन्। उपचार गर्न पैसा नभएको उनले दुःखेसो गरे। अर्जुन घर फर्किएपछि १७ वर्षका उनका भाइ अरुण पनि काम गर्न सोही ठाउँ पुगे। 

दाजुले जस्तै महिनाको नौ हजार तलबमा दाल ग्रेडिङ गर्ने तथा भारी बोक्ने काम पाए। केही समयपछि उनलाई पनि स्वास्थ्यमा समस्या देखियो। उनको कानबाट पिप बग्न थाल्यो। समस्या बढ्दै गएपछि उनी पनि घर आए। 

सात महिनाअघिदेखि दायाँ कानको पछाडि प्वाल परेर पिप बग्न थालेको छ। उपचारका लागि आमा सैनदेवीले जिल्ला तथा बाहिरका विभिन्न अस्पताल पनि पुर्‍याएको बताइन्। निको नभएपछि डाक्टरहरूले भरतपुर लैजान सुझाव दिएका छन्। आफूसँग भरतपुर लगेर उपचार गर्ने खर्च नभएपछि छोराहरूको उपचार गर्न नपाएको सैलदेवीले गुनासो गरिन्।

सम्पतिका नाममा ऐलानी जग्गामा बनेको फुसको छाप्रोबाहेक उनीहरूसँग केही छैन। छोराहरू बिमारी भएपछि घरपरिवारको दैनिक छाक टार्न बिन्देश्वर माझी आफैँ मजदुरी गर्न नारायणघाट पुगेको नयाँ पत्रिकाकर्मीसँग टेलिफोनमा बताए।

‘छोराहरू बिमारी भएर काम गर्न नसक्ने भएपछि म नारायणघाटमा सोलर मिलमा काम गर्न आएको छु,’ उनले भने, ‘यसबाट परिवारको छाक टार्नु कि छोराहरूको उपचार गर्नु?’

वडाबाट हुने कामका लागि पहल गर्छु : वडाध्यक्ष चौधरी

आफ्नो वडाका विपन्न बासिन्दाका लागि सिफारिस गर्ने गरेको वडाध्यक्ष नथुराम चौधरीले बताए। वडाको सिफरिसमा विभिन्न गम्भीर प्रकृतिका बिमारीको उपचारसमेत भएको उनले सुनाए।

उनीहरू पनि अति विपन्न भएको र दुईजना उपचार अभावमा रहेको आफूले अरूमार्फत जानकारी पाएको उनले बताए। ‘मैले पनि अरूबाट यस विषयमा जानकारी पाएको थिएँ। यहाँबाट हुने काम म गर्छु। एक लाखसम्म छुट हुने गरी सिफरिस गर्ने गरेका छौँ। उनीहरू भन्न आएका छैनन्। आएपछि वडाले गर्न सक्ने सहयोग गर्छु,’ उनले भने।