१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २५ मंगलबार १४:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुक्खा बन्दरगाह त्रिदेशीय साझेदारी रणनीतिमै निर्माण हुन्छ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १४:४६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा प्रस्तावित सुक्खा बन्दरगाह त्रिदेशीय रणनीतिअनुसार निर्माण हुने बताएका छन्। 

सोमबार कञ्चनपुर पुगेका प्रधानमन्त्री प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए।  

‘सुक्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ,’ उनले भने, ‘हामी भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौँ, यो रणनीति अघि बढाउन बन्दरगाहले सहयोग पुर्‍याउने विश्वास छ।’

उनले सुक्खा बन्दरगाहले नेपाल, भारत र चीन तीनवटै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे।  प्रधानमन्त्रीले बन्दरगाह निर्माणलाई उच्च प्राथमिकता दिएकोसमेत बताए। हालै यसको वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को काम सकिएकाले समयमै निर्माण पूरा हुनेमा विश्वास व्यक्त गर्दै उनले भने, एमओयूमै भारत सरकारले तीन वर्षमा बन्दरगाह निर्माण गर्ने भनिसकेकाले मलाई निकै खुसी लागेको छ। यसबाट सुदूरपश्चिमका साथै मुलुकको विकासमा ठूलो योगदान पुग्नेछ।’
    
दोधारा–चाँदनी नगरपालिका वडा नम्बर १, २ र ३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रको जग्गा प्रयोग गर्ने गरी नेपाल इन्टरमोडल यातायात विकास समितिले सुक्खा बन्दरगाहको इआइएमा सुझाव माग गरेको छ। 

प्रस्तावित आयोजनाले वन क्षेत्रको एक सय ८९ हेक्टर जग्गा भूउपयोग परिवर्तन हुने भनी प्रस्ताव गरेको छ । सुक्खा बन्दरगाहमा  सडक, रेल्वे प्लेटफर्म, गोदाम, पार्किङ क्षेत्र, भन्सार, तौल पुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, पशुपन्छी–खाद्य जाँच केन्द्र प्रयोगशाला, बैंक, प्रहरी केन्द्र तथा प्रशासनिक भवन निर्माण हुनेछन्। 

जसमा गोदामको क्षेत्रफल आयाततर्फ सात हजार वर्गमिटर, निर्यातका लागि दुई हजार पाँच सय वर्गमिटर, रेल्वे वेयर हाउस १७ हजार पाँच सय वर्गमिटर र १० हजार वर्गमिटर क्षेत्रफलको कन्टेनर स्ट्याकिङ यार्ड निर्माण हुनेछ। उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको समेत निरीक्षण गरेका थिए। 

ad
ad