दाङको राप्ती गाउँपालिका- ५ पहरुवास्थित बालकल्याण आधारभूत विद्यालयको कक्षा ७ को बाेर्ड फुटेको तीन वर्ष भयो।
त्यो बोर्डको बीचमा प्वाल परेको छ भने जताततै चिरासमेत परेकाे छ। १२ वर्षअघि खरिद गरेको साे बोर्ड फुटेको तीन वर्ष हुँदा पनि पुरानै बोर्डमा कक्षा सञ्चालन भइरहेको छ।
प्वाल परेको बोर्डमा पढाउदा निकै समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक कालुसिंह थापाले बताए। ‘यो निकै पुरानो बार्ड हो। १२ वर्षअघि खरिद गरिएको हो,’ उनले भने, ‘तीन वर्ष भयो यो बार्ड फुटेको। नयाँ ल्याउन सकिएको छैन।’
प्रत्येक वर्ष प्राथमिक विद्यालयको भैपरी आउने खर्चका लागि ६५ हजार रुपैयाँ पालिकाले दिँदै आएको छ। बोर्ड, मार्करलगायत अन्य सामग्री खरिदका लागि उक्त रकम छुट्याइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विकले जानकारी दिए। उनका अनुसार आधारभूतलाई एक लाख ५० हजार र माविलाई दुई लाख ५० हजार छुट्याइएको छ।
सोही विद्यालयमा हाल एक सय ५५ जना विद्यार्थी भर्ना भएका छन्। जहाँ शिशु, नर्सरीदेखि कक्षादेखि आठसम्म सञ्चालनमा छ। यो विद्यार्थी संख्या अझै बढ्ने अनुमान गरिएको छ।
अझै पनि भर्ना हुने विद्यार्थी आउने क्रम जारी रहेको प्रधानाध्यापक थापाले बताए। सोही विद्यालयमा हाल ११ जना शिक्षक–शिक्षिका छन्। ती शिक्षकले अहिले दैनिक ६–६ पिरियड पढाइरहेका छन्।
एक शिक्षक थपिएमा थप सहज हुने प्रअ थापाले बताए। ‘हामीले दैनिक सात पिरियड लिनुपर्ने, सबै शिक्षकले ६–६ पिरियड लिइरहेका छौँ,’ उनले भने, ‘अब एकजना शिक्षक थपिएमा सबै पिरियड पुग्थ्यो।’
विद्यालयले अब एकजना शिक्षक ९ बजे नै आउने नियम बनाउन लागेको छ। विद्यार्थीहरू ९ बजे नै आइपुग्ने भएकाले उनीहरूको हेरचाहका लागि पालैपालो एकजना शिक्षक ९ बजे नै पुग्ने व्यवस्था मिलाउने तयारी रहेको प्रअ थापाले बताए।
जहाँ प्रगन्न, बड्कापथ सिँचाइ कुलानजिकै रहेकाले विद्यार्थीको सुरक्षाको दृष्टिले समस्या रहेको उनले बताए। विद्यालयको प्रांगणबाटै कुलाे बग्ने भएकाले जोखिम छ।
पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार सामुदायिक विद्यालयको शैक्षिक सुधारमा लागेकाले पालिकाका विद्यालयमा देखिएका समस्या पहिचान गरी समाधान गर्ने बताए।
सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने आफ्नो अभियान रहेको बताउँदै अहिले जस्तो अवस्थामा रहे पनि आफ्नो कार्यकालमा सुधार गरेर लैजाने अध्यक्ष विष्टले बताए।