लमजुङको सुन्दरबजारस्थित एचडिसिएस नमुना सामुदायिक अस्पतालको आयोजना तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठानको प्राविधिक सहयोगमा निःशुल्क मुटुरोग परीक्षण शिविर आयोजना गरिएको छ।
दुई दिन सञ्चालन गरिएको निःशुल्क मुटुरोग परीक्षण शिविरमा एक हजार तीन सय बढीले सेवा लिएका छन्। मुटुरोगसम्बन्धी नि:शुल्क शिविरबाट लमजुङ र तनहुँका गरी एक हजार बालबालिकाको मुटु परीक्षण गरिएको नमुना सामुदायिक अस्पताल विकास समितिका अध्यक्ष परमेश्वर अधिकारीले बताए।
विशेष विद्यार्थीलाई लक्षित गरी विशेषज्ञ डाक्टरसहित आयोजना गरिएको मुटुरोगसम्बन्धी दुईदिने नि:शुल्क स्वास्थ्य शिविरबाट तनहुँको भानु नगरपालिका वडा नं ११ क्षेत्रका विद्यार्थीसँगै अभिभावक पनि लाभान्वित भएका छन्।
शिविरमा लमजुङको सुन्दरबजार र तनहुँको भानु ११ का ९ सय ५० जना विद्यार्थी र अस्पताल आसपासका ३ सय ५५ जनाभन्दा बढी सर्वसाधारणले निःशुल्क सेवा लिएको नमुना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए।
परीक्षणका क्रममा ३ जना बालबालिकामा मुटुरोग भएको फेला परेको छ, जसमा २ जनाको बाथ मुटुरोग र एकजनालाई जन्मजात मुटुरोग भएको पत्ता लागेको मुटुरोग विशेषज्ञ डा प्रकाश रेग्मीले जानकारी दिए।
त्यस्तै, परीक्षण गरिएको अधिकांश मधुमेह, उच्च रक्तचाप भएका बिरामी भेटिएको रेग्मीले बताए। दमलगायतका समस्या पनि अत्याधिक देखिएको छ।
मुटुरोगसम्बन्धी बिरामीमध्ये दुईजना जन्मजात मुटुरोगी भएकाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएकाले काठमाडौंस्थित नेपाल हार्ट फाउन्डेसनको तर्फबाट निःशुल्क शल्यक्रिया गरिदिने भएको छ।
त्यस्तै, करिब सयजना बिरामीले नियमित औषधि सेवन गर्नुपर्ने अवस्था देखिएको छ।
नमुना सामुदायिक अस्पतालले गुणस्तरीय व्यवस्थापनका साथै गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले एचडिसिएससँग सम्झौता गरी ३० वर्षसम्म अस्पतालको व्यवस्थापन र सञ्चालनको सम्पूर्ण जिम्मेवारी मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)लाई प्रदान गरेको छ।
एचडिसिएसले गत महिनादेखि अस्पतालमा औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको हो। अस्पतालबाट लमजुङ, तनहुँ र गोरखालगायतका जिल्लाका बिरामीहरूले सेवा लिइरहेका छन्।