रक्षामन्त्री हरिप्रसाद उप्रेती १ देखि ५ फागुनसम्म भारतको कर्नाटक राज्यस्थित बैंग्लोर भ्रमणमा जाने भएका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहद्वारा २ फागुनमा आयोजित रक्षामन्त्रीहरूको सम्मेलनसहित कार्यक्रममा सहभागी हुन रक्षामन्त्री उप्रेती भारत जान लागेका हुन् । मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको छ ।
रक्षामन्त्रीको टोलीमा नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी सहभागी हुनेछन् । ‘भारतका रक्षामन्त्रीको निमन्त्रणामा फागुन १ देखि ५ सम्म उहाँ बैंग्लोर जान लाग्नुभएको हो । कार्यक्रमको विस्तृत विवरणबारे जानकारी छैन,’ रक्षा मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले नयाँ पत्रिकासँग भने ।
‘एरो इन्डिया’ नाम दिइएको रक्षा प्रदर्शनीको बीचमा रक्षामन्त्री सिंहले सम्मेलन आयोजना गरेको भारतको प्रेस इन्फर्मेसन ब्युरोले जनाएको छ । यसपालि ‘एरो इन्डिया’को १४औँ संस्करण आयोजना हुन लागेको हो, जुन करिब ३५ हजार वर्गमिटर क्षेत्रमा आयोजना हुनेछ । १ देखि ५ फागुनसम्म हुने प्रदर्शनीका लागि हालसम्म सात सय ३१ भन्दा बढी स्टल दर्ता भएका छन् ।
‘एरो इन्डिया’ प्रदर्शनीमा भारतको रक्षा र एयरोस्पेस क्षेत्रमा बढ्दो प्रगति तथा बलियो र आत्मनिर्भर नयाँ भारतको उदयको झल्को दिने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रक्षामन्त्रीहरूको सम्मेलनको नाम ‘सेयडई प्रोस्पेरिटी टु इन्हान्स्ड इन्गेजमेन्ट इन डिफेन्स’ (स्पिड) दिइएको छ । भारतीय रक्षामन्त्री सिंहले ‘एरो इन्डिया’ व्यापारिक कार्यक्रम भएको र यसले अन्य मुलुकसँग भारतको रक्षा सम्बन्ध सुदृढ गर्ने लक्ष्य राखेको बताएका छन् ।