मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शिल्पा कर्ण काठमाडौं
२०७९ माघ २४ मंगलबार ०८:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भन्सारका रेडियो अपरेटर गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७९ माघ २४ मंगलबार ०८:१९:००

३३ किलो सुन तस्करीमा समेत मुछिएका श्रेष्ठलाई एक वर्ष तीन महिना कैद सजाय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठ गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले मुद्दा दायर भएको चार वर्षपछि सोमबार उनलाई दोषी ठहर गरेको हो । 

यो मुद्दालाई चार दिनसम्म हेर्दाहेर्दैमा राखी सुनुवाइ गरेपछि यस्तो फैसला आएको हो । ‘प्रतिवादी श्यामकृष्ण च्वामु श्रेष्ठलाई एक वर्ष तीन महिना कैद र दुई करोड २८ लाख ७४ हजार रुपैयाँ जरिवाना हुने फैसला छ,’ विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले भने । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ माघ ०७५ मा मुद्दा दर्ता गराएको थियो । 

श्रेष्ठ ५ चैत ०५३ मा सरकारी सेवा प्रवेश गरेका थिए । उनले अनुसन्धान अवधिमा नौ करोड ६३ लाख रुपैयाँ वैध रूपमा आर्जन गरेको देखिएको थियो भने १९ करोड ७४ लाख ५५ हजार रुपैयाँभन्दा बढी रकम व्यय तथा सम्पत्ति आर्जन गरेको खुलेको थियो । श्रेष्ठले स्रोत नखुलेको सम्पत्ति र त्यसबाट बढे–बढाएको सम्पत्ति गरी १४ करोड ६१ लाख रुपैयाँभन्दा बढीको बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो । 

काठमाडौंस्थित त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट अवैध रूपमा ३३ किलो सुन तस्करी अभियोगको अनुसन्धानका क्रममा उनी निलम्बनमा थिए । २७ पुस ०७३ देखि निलम्बनमै रहेका वेला उनीमाथि अख्तियारले छानबिन थालेको थियो । सुन तस्करीमा उनले बारम्बार सघाएको खुलेपछि उनको सम्पत्तिमाथि छानबिन भएको थियो । श्यामकृष्णले आफूले अवैध रूपमा कमाएको सम्पत्ति जेठी श्रीमती तारादेवी, कान्छी श्रीमती रेखा, बुबा ज्ञानकृष्ण र आमा चन्द्रदेवी च्वामु श्रेष्ठका नाममा राखेको अख्तियारको दाबी थियो । साथै, भाइ रामकृष्ण श्रेष्ठ र बुहारी रविना प्रधानांगका नाममा लुकाएको भन्दै उनीहरूसमेतलाई जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो । 

सामाजिक सुरक्षा भत्ता हिनामिना गर्ने गाविस सचिवलाई डेढ वर्ष कैद 
विशेष अदालतले भ्रष्टाचार मुद्दामा दुईजनालाई कैद तथा जरिवानाको सजाय सुनाएको छ । विशेषले पूर्वगाविस सचिव विनोदकुमार सिंह र कार्यालय सहायक श्रीनारायण यादवउपर कसुर ठहर गर्दै सजाय सुनाएको हो । अख्तियारले अनुसन्धानपछि २६ चैत ०७७ मा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य शालिग्राम कोइरालाको इजलासले दुवैजनालाई दोषी ठहर गर्दै जनही डेढ–डेढ वर्ष सजाय सुनाएको विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए । ‘उहाँहरूलाई जनही ६ लाख २२ हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ,’ उनले भने । 

महोत्तरीको साबिक सिंग्याही गाविसका सचिव रहेका वेला सिंहसमेतले एकै व्यक्तिका नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको उजुरी अख्तियारमा परेको थियो । अनुसन्धानका क्रममा सिंह र यादवले भत्ता वितरणका क्रममा १२ लाख ४४ हजार रुपैयाँ हिनामिना गरेको भेटिएको थियो । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(च) बमोजिम सजायको मागदाबी लिई मुद्दा दायर गरेको थियो ।