१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २३ सोमबार
  • Friday, 05 July, 2024
२o७९ माघ २३ सोमबार ११:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

हिउँदे वर्षा नहुँदा साढे ६ हजार हेक्टर क्षेत्रफलको बाली प्रभावित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २३ सोमबार ११:४६:oo

लामो सयमसम्म हिउँदे वर्षा नहुँदा उब्जनी प्रभावित हुने भएपछि किसान चिन्तामा परेका छन् । पुस र माघ महिना जाडोले कठ्यांग्रिने वेला भए पनि गर्मी बढ्न थालिसकेको छ । न हिमालमा हिउँ छ, न वर्षा भएको छ ।

समयमा हिउँदे वर्षा नहुँदा पानीका मुहान सुक्ने र खडेरीका कारण आगलागीका घटना बढ्ने त्राससँगै बालिनाली हुर्कन सकेको छैन । दसैँपछि एक झर पानी नपर्दा बालीनाली सुक्न थालेका गुल्मीकाे रेसुंगा नगरपालिका– ५ का युवराज केसीले बताए । ‘भर्खरै हुर्कँदै गरेका वैशाखी लहरे तरकारी, केराउ, आलु, तोरी र अन्नबालीमा गहुँ तथा आँपसहितका फलका रूख हिउँदे वर्षा आवश्यक पर्छ,’ उनले भने । तर, यसपालि वर्षा नै नभई हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने उनको चिन्ता छ ।

गुल्मीमा करोडौँ लागतका लिफ्ट खानेपानी योजना भए पनि पानीका मुहान सुक्ने अवस्था रहेकाले वर्षा लम्बिए खानेपानीको समेत ठूलो हाहाकार मच्चिने मुसिकोट नगरपालिका– ३ का तेजबहादुर जिसीले बताए । ‘मंसिरबाटै खोल्साखाल्सी सुके । बारी र खेतमा केही छैनन्, खानेपानीसमेत नपाइने अवस्था नजिक छ,’ उनले भने, ‘अहिले आगलागीको पनि डर हुने भयो ।’

कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार गहुँ र जौजस्ता अनिवार्य तीनपटक पानी चाहिने बाली धेरै प्रभावित भएका छन् । त्यस्तै, कोसा र दाना लाग्ने वेलाको तोरी र केराउ पनि वर्षा नहुँदा प्रभावित भएको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले बताए । अहिले सुन्तला, कागती र किबीको हार्बेस्टिङ गर्ने वेला भएकाले यसलाई पनि सिँचाइ वा वर्षा अनिवार्य आवश्यक छ ।

यो सिजनमा पानी नपरे आँप र लिचीको पनि उत्पादन घट्ने भण्डारीले बताए । जिल्लामा खेतीयोग्य जमिन ६४ हजार पाँच सय पाँच हेक्टर छ । जसमा ३४ हजार ४० हेक्टर जमिनमा खेती गरिएको छ । त्योमध्ये कुल  सिञ्चित क्षेत्रफल १० हजार २४ हेक्टर, बाह्रै महिना सिञ्चित क्षेत्रफल तीन हजार ६ सय २६ हेक्टर तथा आंशिक सिञ्चित ६ हजार तीन सय ९६ हेक्टर रहेको छ ।

अहिले वर्षा नहुँदा ६ हजार तीन सय ९६ हेक्टर क्षेत्रफलमा लगाएको बालीमा असर परेको ज्ञान केन्द्रका प्रमुख भण्डारीले बताए । हिउँदे वर्षा कम भए वर्षभरिकै कृषि उत्पादन घट्ने उनको भनाइ छ ।

ad
ad
ad
ad