उचित मूल्य नपाएपछि तरकारी राजमार्गमा फालेर किसानले विरोध प्रदर्शन गरेका छन् । नेपाली बजारमा भारतीय तरकारी छ्यापछ्याप्ती पाइएपछि यहाँका किसानको तरकारी बिकेको छैन ।
‘दुःख गरेर फलाएका तरकारीले मूल्य पाएनन्, । मुनाफा, उत्पादन लागत त परै जाओस् टिपेको ज्यालासमेत नउठ्ने अवस्था आएपछि राजमार्गमै फाल्न बाध्य भयौँ ।’ – भरतपुर महानगरपालिका– १६ स्थित रेसुंगा कृषि फार्मकी सञ्चालक धनु अधिकारीका यी भनाइले चितवनका किसानले भोगिरहेको पीडा बोल्छ ।
धनुजस्ता धेरै किसानले शुक्रबार सात ट्र्याक्टर तरकारी पूर्व–पश्चिम राजमार्गमै फालेर आफूले भोग्दै आएका पीडातर्फ राज्यको ध्यान खिच्न खोजे ।
घरभान्छा हुँदै थालथालमा सजिने टमाटर, फर्सी, बन्दा, काउली, घिउसिमी लगायतका तरकारी सडकमा फ्यालिएको दृष्य निकै टिठ लाग्दो थियो ।
‘बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन’ लेखिएका प्लेकार्ड बोकेर उभिएका किसानले लाखौँ किसानलाई प्रतिनिधित्व गरिरहेका थिए ।
सामाजिक सञ्जाल र संचारमाध्यममार्फत भाइरल ती दृष्यले शुक्रबार दिनभर लाखौँको ध्यान खिच्यो । सरकारको ध्यान खिच्यो खिचेन, त्यो हेर्न बाँकी छ ।
किसानका खेतबारीमा पुग्ने व्यापारीले टमाटर ६ रुपैयाँ, काउली १० रुपैयाँ, फर्सी पाँच रुपैयाँ, गाँजर पाँच रुपैयाँ र घिउसिमी ६ रुपैयाँ प्रतिकेजी भाउ लगाएपछि बिक्री गर्नुभन्दा फाल्नै उचित ठानेको किसानहरूको भनाइ छ ।
‘खेताला लगाएर बजारसम्म पठाउने पैसा पनि आउँदैन,’ धनुले भनिन्, ‘मेरो बारीमा एकपटक टिप्दा पाँच हजार केजी टमाटर संकलन हुन्छ । समयमा नटिपे बोटमै बिग्रन्छ, टिपे बजार छैन, व्यापारी आए पनि उनीहरूकै मूल्य छ, हाम्रो मूल्य छैन ।’
बिक्रीका लागि तयार भएको तरकारी स्टोर गर्न सक्ने क्षमता पनि किसानसँग छैन । अधिकांश किसानले कालोबजारीको मल सहकारीमा पाइनेभन्दा तेब्बर मूल्य तिरे । उत्पादन भएपछि मूल्य पाइएला, लगानीसहित केही मुनाफा आउला भन्ने उनीहरूको सपना चकनाचुर भएको छ ।
बिक्री गर्ने अवस्थामा रहेका तरकारी बिक्री नहुँदा र लागत पनि नउठ्ने चलनचल्ती मूल्यले यहाँका सबै किसान अहिले तनावमा छन् ।
टमाटर ६, काउली १०, फर्सी पाँच, गाँजर पाँच र घिउसिमी ६ रुपैयाँ प्रतिकिलोमा बेच्न बाध्य हुनु परेपछि शुक्रबार चितवनका किसानले सडकमै तरकारी फालेका छन् । विदेशी तरकारीको निर्वाध आयातले स्वदेशी उत्पादन नबिकेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
भानीश्वर पोखरेल डेनमार्कको चर्चित कृषि कम्पनीमा अनुसन्धान निर्देशक थिए । स्वदेशमै केही गर्ने अठोट बोकी मासिक आठ लाख रुपैयाँ तलब छाडेर उनी स्वदेश फर्किए । चितवनको माडीमा प्रांगारिक कृषि फर्म तथा अनुसन्धान केन्द्र स्थापना गरेर व्यावसायिक तरकारी खेतीमा लागे । तर, यतिवेला पोखरेल खुसी छैनन् ।
‘भारतीय तरकारीले बजार कब्जा गरेपछि हाम्रो उत्पादनले बजार पाएको छैन,’ उनले भने, ‘उत्पादन किसानले गर्ने हो । यसको बजारको ग्यारेन्टी त लागत मूल्यअनुसार राज्यले गर्दिनुप¥यो नि ! हामी खेतबारीमै रमाउन चाहन्छौँ । अधिकार खोज्दै हिँड्नु नपरोस् भन्ने चाहन्छौँ । तर, राज्य कमजोर हुँदा आफूले दुःख गरेर उत्पादन गरेका तरकारी सडकमा फाल्न बाध्य भएका छौँ ।’
यतिवेला किसानहरू खेतबारीमा हुनुपर्ने हो । करेला, काँक्रो, भेन्टा, खुर्सानी रोप्ने सिजन भएकाले त्यसै व्यस्त हुनुपर्ने किसान न्याय खोज्दै सडक धाउनुपरेको छ । पोखरेलको भनाइमा यो अवस्थाले किसानलाई निराश मात्र बनाउँदैन, पेसाबाटै विस्थापित बनाउन सक्छ ।
सातवटा ट्याक्टरमा टमाटर, फर्सी, बन्दा, काउली, घिउसिमीलगायतका तरकारी राजमार्गमा फालेका उनीहरूले किसानका माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
स्थानीय उत्पादन नै पर्याप्त भइरहेको समयमा भारतबाट आयात बढेको भन्दै किसानहरू आक्रोशित छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन भरतपुरका सञ्चालक समिति अध्यक्ष एवं किसान संघर्ष समितिका संयोजक लेखनाथ भुसालले भारतबाट आयात गरिएको तरकारीका कारण स्थानीय किसानले गरेको उत्पादन बिक्री हुन छाडेको बताए ।
‘यहाँ १५ सय हेक्टर जमिनमा तरकारी खेती हुँदै आएको छ । देशमा उत्पादित तरकारीले बजार पाएन, आयात रोकिदिनुप¥यो भनेर सरकारी निकायमा सहयोग माग्दा बेवास्ता गरिएपछि किसानहरू सडकमै पुग्नुपरेको छ,’ उनले भने ।
लागतअनुसार तरकारीको मूल्य सरकारले तोक्नुपर्ने र भारतीय तरकारी आयात रोक्नुपर्ने उनीहरूको माग छ । माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने किसानहरूले चेतावनी दिएका छन् ।