प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कसैलाई कुनै पार्टी खारेज गरिपाऊँ भनेर निवेदन दिने अधिकार नहुने बताएका छन् । शुक्रबार निर्वाचनबारे छलफल कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि परेकाे निवेदनप्रति इंगित गर्दै उनले आयोगलाई त्यसकै आधारमा कुनै पार्टी खारेज गर्न सक्ने अधिकार नहुने बताए ।
‘कुनै राजनीतिक दलको दर्ता खारेजी गर्ने विषय छ, यसलाई कानुनबमोजिम टुंग्याउनुपर्छ । राजनीतिक दल दर्तासम्बन्धी कानुन अध्ययन गर्दा हुन्छ, यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाऊँ भनेर निवेदन दिने अधिकार दिँदैन,’ उनले भने ।
उम्मेदवारी दिँदा नै नेपाली नागरिक हो–होइन र नागरिकताअनुसार उमेरले उम्मेदवार बन्न योग्य छ–छैन भन्ने विषय मात्रै हेर्ने अधिकार आयोगलाई रहेको आयुक्त थपलियाले प्रस्ट पारे ।
‘प्रतिनिधिले उम्मेदवारी दिइसकेपछि हामीले एउटा स्वघोषणा गराउँछौँ र आफैँलाई दस्तखत गराउँछौँ,’ थपलियाले भने, ‘देश हाँक्न आउने व्यक्ति गलत नागरिकतालाई सही हो भनेर आउँदैन भन्ने आयोगको विश्वास हो । प्रश्न उठेपछि त्यसको छिनोफानोका लागि सम्बन्धित निकायलाई सोध्ने हो ।’