Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : नगरपालिकाकाे वेबसाइटबाट
रासस तनहुँ
२०७९ माघ २० शुक्रबार १५:०१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

जग्गा बाँझो नराख्नेलाई अनुदान

Read Time : < 1 मिनेट
रासस, तनहुँ
२०७९ माघ २० शुक्रबार १५:०१:००

भिमाद नगरपालिकाले बाँझो जग्गामा उत्पादन गर्नेलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । गाउँका अधिकांश खेतबारी बाँझो राख्ने क्रम बढ्दै गएपछि कृषितर्फ प्रोत्साहन गराउन नगरपालिकाले कृषकलाई अनुदानको व्यवस्था गरेको हो ।

आफ्नो बारीमा खेती गर्नेलाई प्रतिरोपनी रु. दुई हजार र अरूको बारीबाट उत्पादन गर्ने कृषकलाई प्रतिरोपनी रु. तीन हजार अनुदानको व्यवस्था गरिएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए ।  ‘बाँझो जग्गा राख्न रोकी उत्पादन गरेर व्यापारका माध्यमबाट कृषकलाई आम्दानी दिने योजना बनाएका छौँ,’ उनले भने, ‘अनुदान पाउने भएपछि कृषक पनि उत्साहित भएका छन् ।’  

‘समृद्धिको आधार उत्पादनमा वृद्धि र व्यापार’ भन्ने मूल नाराका साथ नगरपालिका क्षेत्रमा उत्पादन बढाउने अभियान सुरु गरेको उनले बताए । कृषकलाई लागत मूल्य घटाउन ट्र्याक्टर तथा हाते ट्र्याक्टरलगायतका कृषि औजार अनुदानमा दिने व्यवस्था मिलाइएको सो नगरपालिका कार्यालयले जनाएकाे छ । बाँझो जग्गा उपयोग गर्ने कृषकलाई मल, बिउ र खनजोतका लागि प्रोत्साहनस्वरूप चालू आर्थिक वर्षदेखि अनुदानको व्यवस्था गरिएको छ ।   

बाँदरले अन्नबाली धेरै नोक्सान गर्ने स्थानमा अदुवा र बेसार खेती गर्न कृषकलाई प्रोत्साहन गरिएको छ । बाँझो जमिन सदुपयोग गर्दै कृषि उत्पादन क्षेत्रमा संलग्न हुन चाहने कृषकलाई निवेदन पेस गर्न नगरपालिकाले आग्रह गरेको उपप्रमुख शारदा खनालले बताइन् ।

कार्यक्रमले विशेषगरी जमिन बाँझो राखेर विदेश जाने युवालाई स्वदेशमै काम गर्न प्रोत्साहन मिल्ने र उत्पादन भएपछि खाद्यान्नमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिइएको छ ।  ‘भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात हुँदै आएको छ । आफ्ना जग्गा बाँझो राखेर गुणस्तरहीन वस्तु प्रयोग गर्दै आएका छौँ,’ उपप्रमुख खनालले भनिन्, ‘भारतले निर्यात रोकिदियो भने भोकमरीमा पर्न सकिन्छ, त्यसकारण खाद्यान्नमा आत्मनिर्भर हुन आवश्यक छ ।’