१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार २१:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अख्तियारको बयान छल्न प्रधानाध्यापकले गरे बिरामीको अभिनय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:४१:oo

शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भीमोदय नमुना माविका प्रधानाध्यापक हरिप्रसाद कँडेललाई चार महिनाअघि बयानमा बोलायो । भ्रष्टाचार मुद्दाको तनावमा परेका कँडेल बेहोस भएर आयोगभित्रै ढले । उनलाई तत्कालै एम्बुलेन्समा अस्पताल लगियो । अस्पतालबाट ठीक भएर उनी घर फर्किए । तर, आयोगमा बयानमा भने फर्किएनन्। 

उनले आफू गम्भीर बिरामी भएको भन्दै चितवनको भरतपुर अस्पतालबाट एउटा मेडिकल रिपोर्ट बनाउन लगाए । मुटुको रोग रहेको र हाइपरटेन्सनको समस्या भएकाले तीन महिना पूर्ण रूपमा आराम गर्नुपर्ने पत्रमा लेखिएको थियो । त्यही पत्र देखाएर उनले आयोगलाई टार्ने प्रयास गरे । तर, आयोगले बुझ्दा उनी विभिन्न कार्यक्रममा गइरहेका हुन्थे । 

यो थाहा पाएपछि आयोगले उनलाई बयानका लागि उपस्थित हुन भन्दै ३ पुसमा प्रहरीमार्फत म्याद तामेल गर्यो । तैपनि उनी आएनन् । १३ र १४ पुसमा गोरखापत्रमा सूचना निकाल्यो । त्यति गर्दा पनि उनी उपस्थित भएनन् । 

त्यसपछि आयोगले उनी गम्भीर बिरामी रहेको भन्दै पत्र लेख्ने भरतपुर अस्पतालसँग बुझ्यो । त्यसक्रममा तीन महिना स्कुलबाट बिदा चाहिने भएकाले व्यक्तिगत चिनजानका आधारमा त्यस्तो पत्र बनाइदिन आग्रह गरेको खुल्यो । 

त्यसपछि आयोगले अस्पताललाई पत्र नै पठाएर स्पष्टीकरण माग्यो । जसमा अस्पतालका मेडिकल सुपरिटेन्डटेन्डले जवाफ लेखे, ‘थप उपचार गर्न तीन महिना बिदा पाए सजिलो हुन्थ्यो भन्ने निजको आग्रहसमेत विचार गरी तीन महिना आराम गर्न सिफारिस गरेको हुँ ।’

अस्पतालबाट झुटो विवरणको रिपोर्ट बनाएको आयोगले पत्ता लगाएपछि बल्ल उनी बयानमा उपस्थित भए । उनै कँडेलविरुद्ध बुधबार आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

२५ भदौ ०६३ मा. तृतीय तहको शिक्षकबाट जागिर सुरु गरेका कँडेलको प्रवीणता प्रमाणपत्र तथा स्नातक तहको शैक्षिक प्रमाणपत्र नक्कली भएको आयोगको दाबी छ । उनले भारतको मगध विश्वविद्यालय, बिहार बोधगयाबाट स्नातक तथा महाराष्ट्र स्टेट बोर्ड अफ पुनेबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भनेर प्रमाणपत्र पेस गरी शिक्षकको स्थायी जागिर खाएका थिए । 

१७ मे २००० मा उनले स्नातक उत्तीर्णको समकक्षता पेस गरेका थिए । सो समकक्षता नै जारी नभएको भनेर त्रिभुवन विश्वविद्यालयको, पाठ्यक्रम विकास केन्द्रले आयोगलाई जानकारी गराएको छ । 

त्यस्तै, चितवनको वीरेन्द्र क्याम्पसबाट आइएस्सी उत्तीर्ण गरेको उनको दाबी थियो । तर, भर्ना भए पनि उनी फेल भएको जवाफ कलेजले आयोगलाई गरायो । दुईवटा शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दायर भएको हो ।  

बयानको क्रममा कँडेलले प्रमाणपत्र तहको विवरण भर्दा आफूले गल्ती गरेको र भारतबाट उत्तीर्ण गरेको दाबी गरेका छन् । स्नातकको समकक्षता भने सक्कली नै भएको बयानमा दाबी गरेका छन् । 

उनी कांग्रेसनिकट शिक्षक संघको राजनीतिमा पनि सक्रिय रहँदै आएका छन् । कँडेलले आफूले सिंघानिया विश्वविद्यालयबाट पिएचडीसमेत गरेको दाबी गर्दै आएका छन् ।

ad
ad