मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
एजेन्सी पेरिस
२०७९ माघ १७ मंगलबार ०६:४०:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पिएसजी र रियल खराब लयमा

Read Time : > 1 मिनेट
एजेन्सी, पेरिस
२०७९ माघ १७ मंगलबार ०६:४०:००

युरोपियन फुटबलकै बलियो क्लब मानिने पेरिस सेन्ट जर्मेन (पिएसजी) र रियल म्याड्रिड पछिल्लो समय खराब लयमा छन् । विश्व फुटबलकै धनी क्लब दर्जा पाएका पिएसजी र रियलले आ–आफनो घरेलु लिगमा आफूअनुकूल नतिजा निकाल्न सकेका छैनन् । फ्रेन्च लिग १ मा स्टार खेलाडीले भरिएको पिएसजी रिम्ससँग १–१ को बराबरीमा रोकिएको छ । 

पिएसजीले सुरुवाती अग्रता रक्षा गर्न नसक्दा रिम्ससँग अंक बाँडेको हो । पिएसजी र रिम्सले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । दुवै टोलीले दोस्रो हाफमा गोल गरे । मध्यान्तरपछि पिएसजीले खेलमा सुधार ल्याउने संकेत गरेको थियो । खेलको ५१औँ मिनेटमा नेमारले पिएसजीलाई १–० को अग्रता दिलाए । 

खेलको ५९औँ मिनेटमा मार्को भेराट्टीले रिम्सका खेलाडीलाई खराब ट्याकल गरेपछि रातो कार्ड पाए । त्यसपछिको बाँकी समयमा पिएसजीले १० खेलाडीमा रहँदै रिम्सविरुद्ध प्रतिस्पर्धा गर्‍यो । खेलको अन्तिम मिनेटमा पोलारिन बालोगुनले रिम्सलाई १–१ को बराबरीमा पुर्‍याए । 

विश्वकपपछि उत्कृष्ट प्रदर्शन गर्न नसकेको पिएसजीले पछिल्ला पाँच खेलमा ८ अंक गुमाएको छ । यसअघि दुई खेलमा पिएसजी पराजित भएको थियो । बराबरी नजितासँगै पिएसजीले शीर्ष स्थानमा लेन्ससँग तीन अंकको मात्र दूरी राखेको छ । 

रियल पाँच अंकले पछाडि
स्पेनिस ला लिगाको साबिक विजेता रियल म्याड्रिडले पनि घरेलु प्रतियोगितामा खराब प्रदर्शन गरिरहेको छ । ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल सोसिडाडसँग रियल बराबरीमा रोकियो । यस बराबरी नजितासँगै रियललाई उपाधि रक्षा गर्ने अभियानमा गम्भीर धक्का लागेको छ । बराबरीसँगै रियल शीर्ष स्थानमा रहेको बार्सिलोनासँग पाँच अंकले पछि परेको छ । बार्सिलोनाले शनिबार राति जिरोनलाई पराजित गर्दै १८ खेलबाट ४७ अंक जोडेको थियो । समान खेलबाट रियल म्याड्रिडले ४२ अंक बटुलेको छ । 

तेस्रो स्थानको रियल सोसिडाडको ३९ अंक छ । प्रतिस्पर्धामा ब्राजिलका विंगर भिनिसियस जुनियरले रियल सोसिडाडविरुद्ध राम्रा गोल अवसर खेर फालेका थिए । यद्यपि, रियलको उत्कृष्ट फिनिसिङलाई सोसिडाडका गोलरक्षक एलेक्स रोमियोले विफल पारे । यसैगरी, अर्को खेलमा एथलेटिको म्याड्रिडले सेल्टाभिगोलाई १–० ले हराएको छ ।

म्याड्रिडको जितमा साउल निग्वेजले निर्णायक गोल गरेका थिए । जितसँगै म्याड्रिड चौथो स्थानमा रह्यो । सेल्टा भिगोले एथलेटिको बिल्वाओलाई १–० ले हरायो । त्यस्तै, रियल भल्लाडोलिडले भ्यालेन्सियामाथि १–० को जित निकाल्यो ।