
भित्तामा सुन्दर रङ लगाउने
भित्ताको रङले घरको सुन्दरता बढाउँछ । यदि तपाईंले सही रङ छनोट गर्नुभयो भने तपाईंको सानो घर पनि आकर्षक र चिटिक्क देखिन्छ । कोठाहरू पनि फराकिलो देखिन्छन् । ठूलो इन्टेरियर डिजाइन भएको घरभन्दा कम देखिँदैन । तपाईंसँग रङ लगाउने बजेट छैन भने वालपेपर टाँस्न सक्नुहुन्छ । अहिले बजारमा विभिन्न डिजाइन र रङका भित्तामा टाँस्ने कम मूल्यका वालपेपरहरू पाइन्छन् । वालपेपरले तपाईंको घरलाई फरक लुक्स दिन सक्छ ।
बेडरुममा र्याक
तपाईंको सुत्ने कोठा सानो छ भने ठाउँअनुसार भित्तामा सानो र्याक राख्न सक्नुहुन्छ । यसले तपाईंको कोठालाई अझ राम्रो र व्यवस्थित बनाउन सहयोग पुग्छ । तपाईंले यसमा पुस्तक, मेकअपका सामानलगायतका महत्वपूर्ण सामग्री राख्न सक्नुहुन्छ । बेडरुमलाई अझ व्यवस्थित बनाउन सहयोग गर्छ ।
इन्डोर प्लान्ट
इन्डोर प्लान्ट घर सजावटका लागि मात्रै नभएर तपाईंको स्वास्थ्यका लागि पनि लाभदायक छ । डाइनिङ रुम, लिभिङ रुम वा बेडरुमको टेबलमा इन्डोर प्लान्ट राख्दा घरमा स्वच्छ हावाको प्रवाह हुन्छ ।
फेन्सी लाइट
तपाईंले घरमा लाइटको छनोटमा ध्यान पुर्याउनुपर्छ । बजारमा विभिन्न किसिमका बत्ती पाइन्छन् । घरको बैठक कोठामा स्ट्रिङ लाइट प्रयोग गर्न सक्नुहुन्छ । यसबाहेक बेडरुममा पनि प्रयोग गर्न सक्नुहुन्छ । भित्तामा राख्नका लागि कम बजेटमा फेन्सी लाइटहरू किन्न सक्नुहुन्छ । यस्ता बत्ती जडान गर्दा घरको वातावरण पनि राम्रो देखिन्छ ।
पुरानो फर्निचर पुनः प्रयोग
यदि तपाईंको घरमा प्रयोग भएका फर्निचर पुरानो भएको महसुस भयो भने त्यसलाई फ्याँक्ने काम नगर्नुहोस् । पुरानो टेबल, कुर्सी, सोफालगायतलाई मर्मत गरेर फेरि आकर्षक डिजाइन र लुक्स दिन सकिन्छ । सोफाको कपडा परिवर्तन गर्न सकिन्छ, जसले सुन्दरता बढाउँछ । पुरानो बेडको सोफालाई नयाँ बनाउन सकिन्छ । पुरानो कुर्सीलाई रङ लगाएर नयाँ देखाउन सकिन्छ । सिर्जनात्मक रूपमा घरलाई सजावट गर्न सकिन्छ ।
पुराना बक्सलाई टेबलमा रूपान्तरण
प्रायः घरमा ठूला कार्टुन वा बक्सहरू हुन्छन् । यदि तपाईंको घरमा ठूला बक्स छन् र त्यसको प्रयोग भइरहेका छैनन् भने ती बक्सलाई रङ लगाएर पुनः प्रयोग गर्न सकिन्छ । राम्रो कपडा वा तन्नालाई राम्रो डिजाइन गरेर टेबलको रूपमा प्रयोग गर्न सकिन्छ । त्यसमा बक्समा केही फुलदानी राख्न सक्नुहुन्छ, जसले कोठाको सौन्दर्य अझ बढाउँछ ।