मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १२ बिहीबार ०९:०६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मागेजति विद्युत् नपाएपछि भारतसँग आकस्मिक बैठक गर्दै प्राधिकरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १२ बिहीबार ०९:०६:००

पर्याप्त विद्युत् नपाएपछि नेपाल विद्युत् प्राधिकरणले भारतीय सरोकारवालाई द्विपक्षीय बैठकका लागि प्रस्ताव पठाएको छ । प्राधिकरणले भारतको केन्द्रीय विद्युत् प्राधिकरण, नेपाल–भारत पावर एक्सजेन्ज कमिटीका सदस्यलगायतका सरोकारवालालाई शुक्रबारदेखि आइतबारभित्र भर्चुअल बैठक बस्ने प्रस्ताव पठाएको हो ।

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बैठकका लागि भारतीय सरोकारवालालाई प्रस्ताव पठाएको बताए । ‘पछिल्लो समय भारतबाट मागेजति विद्युत् पाउन सकिएको छैन । फलस्वरूप स्वदेशी माग धान्न सकिएको छैन र औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्नुपरेको छ,’ उनले भने, ‘तसर्थ, भारतबाट हुने विद्युत् आयातमा आवश्यक सहजीकरण गरिदिने एजेन्डासहित शुक्रबारदेखि आइतबारभित्र बैठक बस्न प्रस्ताव गरेका छौँ । सोही बैठकमार्फत विद्युत् आपूर्तिमा सहयोग तथा सहजीकरण गर्न पहल गर्नेछौँ ।’ भारतीय पक्षले मिति तोकेपछि भर्चुअल बैठकमार्फत यसबारे छलफल गर्ने प्राधिकरणको तयारी छ । 

भारतको बिहार प्रदेशबाट प्रतियुनिट ६.१८ भारुमा विद्युत् खरिद–बिक्री गर्ने द्विपक्षीय सम्झौता भइसकेको छ । साथै, भारतीय खुलाबजार अर्थात् इन्डियन इनर्जी एक्सजेन्जमा पनि प्राधिकरणलाई विद्युत् खरिद–बिक्री गर्न अनुमति छ । तर, पछिल्लो समय प्राधिकरणले भारतबाट माग गरेअनुसार विद्युत् पाउन सकेको छैन । फलस्वरूप, नेपालको औद्योगिक क्षेत्रमा बिहान र साँझको पिक आवरमा तीन–तीन घन्टा गरेर दैनिक ६ घन्टा विद्युत् कटौती गरिँदै आइएको छ । विद्युत् कटौती नै गर्नुपर्ने अवस्था आएपछि प्राधिकरणले भारतीय पक्षसँग बैठक बस्ने प्रस्ताव अघि बढाएको हो ।