मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १० मंगलबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ माघ १० मंगलबार १८:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मध्यमाघमा बल्ल हिउँदे वर्षा तर काठमाडौंमा छैन तत्काल सम्भावना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ माघ १० मंगलबार १८:१५:oo

मध्यमाघमा आएर बल्ल पश्चिम नेपालमा हिउँदे वर्षा भएको छ। तर, मध्य र पूर्वी नेपालमा अझै वर्षा हुन सकेको छैन।

हिउँदका डेढ महिना सुक्खा रहेकामा मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा वर्षा भएको छ भने ती क्षेत्रका उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ। ६ माघमा हुम्लामा हिमपात भए पनि त्यसबाहेक यस क्षेत्रमा हिउँदभर हिमपात हुन सकेको थिएन।

तर, सोमबार प्रवेश गरेको पश्चिमी निम्नचापीय प्रणालीका कारण वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ‘हिउँदे वर्षा भएको छ, यो हिउँदमा ठूलो क्षेत्रमा वर्षा भएको पहिलोपटक हो,’ मौसम पूर्वानुमान महाशाखामा वरिष्ठ मौसमविद् राजु प्रधानांगले भने, ‘यसले कृषिबालीलाई फाइदा गरेको छ।’

महाशाखाका अनुसार मंगलबार सबैभन्दा बढी सुर्खेतको वीरेन्द्रनगरमा ११.७ मिलिमिटर वर्षा भएको छ। त्यसबाहेक डडेल्धुरामा ५.४, जुम्लामा ४.३, धनगढीमा ३.८ र दिपायलमा ३.३ मिलिमिटर वर्षा भएको छ। त्यसबाहेकको पूर्वी क्षेत्रमा भने वर्षा हुन सकेको छैन। 

बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रमा वर्षाको आकलन गरिएको छ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ।

काठमाडौंमा तत्काल वर्षा नहुने

मंगलबार पश्चिम नेपालमा वर्षा भइरहँदा काठमाडौंमा न्यानो घाम थियो। अधिकतम तापक्रम २२ र न्यूनतम तापक्रम ४.२ डिग्री मापन भएको छ। योपटक पनि काठमााडौंसहित मध्य नेपाल र पूर्वमा वर्षाको सम्भावना नरहेको मौसमविद् प्रधानांगले बताए। 

‘यो मौसमी प्रणालीले गण्डकीसम्म मात्र असर गर्ने देखिन्छ, त्यसदेखि पूर्वमा प्रभाव देखिँदैन,’ उनले भने, ‘काठमाडौंमा तत्काल वर्षाको सम्भावना छैन।’ सोमबार प्रवेश गरेको पश्चिमी निम्नचापीय प्रणाली पनि बुधबार रातिदेखि कमजोर भएर हराउने आकलन महाशाखाले गरेको छ। बिहीबारदेखि देशभरको मौसम सफा रहने आकलन गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँदको तीन महिना (१५ मंसिरदेखि १५ फागुन)सम्म औसत ६०.१ मिलिमिटर (वार्षिक वर्षाको तीन प्रतिशत) वर्षा हुनुपर्ने हो। तर, हिउँदका डेढ महिना ९१ माघ जम्मा ०.१ मिलिमिटर वर्षा मात्र भएको थियो।