भारतीयलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्नेदेखि स्थलगत वस्तुस्थिति (सर्जमिन)मा बसेका वडाध्यक्षसहित पाँचजनालाई पक्राउ गर्न आदेश जारी भएको छ । सप्तरी जिल्ला अदालतले नागरिकता सिफारिस गर्ने डाक्नेश्वरी नगरपालिका– ३ का वडाध्यक्ष भागेश्वर यादव र सर्जमिनमा बसेकाहरूलाई पक्राउ गर्न आदेश जारी गरेको हो ।
केही वर्षदेखि मामाघर डाक्नेश्वरी बस्दै आएका भारत बिहार राज्यको मधुवनी जिल्लास्थित फुलपरासनिवासी धीरज मुखियालाई नागरिकता बनाइदिन गत ८ पुसमा फुलियादेवी मुखियाले वडा कार्यालयको सिफारिस र सर्जमिनसहित इलाका प्रशासन कार्यालय बोदेबरसाइन पुगेकी थिइन् । नागरिकता प्रक्रिया अघि बढ्नै लाग्दा शंका लागेर सोधपुछ गरेपछि दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान गर्न गत पुस ११ गते जिल्ला अदालतले नागरिकतासम्बन्धी कसुरमा सात दिन म्याद थप गरेको थियो । अनुसन्धानकै क्रममा पक्राउ परेका दुवैलाई शुक्रबार पुर्पक्षका लागि कारागार पठाइएको छ भने वडाध्यक्ष यादवसहितलाई पक्राउ गर्न आदेश जारी भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिश्टर सिंहले जानकारी दिए ।
‘नागरिकतासम्बन्धी कसुर र लिखतसम्बन्धी सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा वडाध्यक्ष र सर्जमिनमा बसेकाहरूलाई पक्राउ गर्न पुस २४ गते अदालतबाट आदेश जारी भएको छ,’ उनले भने, ‘उनीहरूको खोजीकार्य भइरहेको छ ।’ स्रोतका अनुसार जनप्रतिनिधिले नै आर्थिक प्रलोभनमा परेर भारतीयलाई नागरिकता दिलाउन सिफारिसदेखि सर्जमिनसम्म उपलब्ध गराएका हुन् ।
‘डेढ लाख रुपैयाँमा डिल भएको रहेछ । त्यसमा जनप्रतिनिधि र प्रहरी चौकी पातोले बाँडफाँड गरेका छन्,’ स्रोतले भन्यो, ‘स्थानीय देवन राय, रामस्वरूप विश्वकर्मा, मंगल मुखिया, कपलेश्वर ठाकुर र रञ्जित मुखिया सर्जमिन मुचुल्काका साक्षी हुन् भने वडाध्यक्ष यादवकै रोहवरमै सर्जमिन उठाइएको छ ।’ वडाध्यक्ष र सर्जमिनमा बसेकाहरू हाल फरार छन् ।