मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ८ आइतबार ०६:०८:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

न्यानो बनाउन आगो बाल्दा ललितपुरमा एकको मृत्यु

कोटेश्वरमा कोठामा माकल बाल्दा निसास्सिएर चारजना घाइते, अस्पतालमा उपचार हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ८ आइतबार ०६:०८:००

 ललितपुर महानगरपालिका– २५ भैँसेपाटी फूलबारी मार्ग बस्दै आएकी धनकुटाकी ३९ वर्षीया नम्रता राईले जस्ताले छाएको टहरा न्यानो पार्न शनिबार राति आगो बालिन् । हावा नछिरोस् भनेर कोठाको चारैतिर बन्द गरिन्, तर भोलिपल्ट उनी ब्युँझन सकिनन् । टहरासँगै दन्किएको आगोमा जलेर उनको मृत्यु भयो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार व्यापार गर्ने उद्देश्यले उनले केही दिनअघि मात्रै स्थानीय दुर्गा श्रेष्ठसँग जग्गा भाडामा लिएकी थिइन् । जग्गामा जस्ताले बारेर टहरा बनाइन् । तीन दिनअघिबाट बस्न सुरु गरेकी थिइन् । चिसो बढेपछि उनले शनिबार बेलुका आगो बालिन् । तर, ननिभाई न्यानोका कारण मस्त निदाइन् । आगो सल्किएर टहराभित्र फैलियो । तर, निसास्सिएकी उनी बाहिर आउन सकिनन् । हेर्दाहेर्दै टहरा खरानी भयो । सँगै उनी पनि जलिन् । 

प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रवीण पोखरेलले आगो ताप्ने क्रममा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । ‘शनिबार राति भैँसेपाटीमा जस्ताको टहरामा आगलागी हुँदा एक महिलाको मृत्यु भयो । बिहान करिब ४ बजे आगो नियन्त्रणमा आयो । त्यसवेलासम्म टहरा जलेर नष्ट भइसकेको थियो । आगो ताप्ने क्रममा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ उनले भने ।

कोटेश्वरमा कोठा न्यानो पार्न खोज्दा चारजना बेहोस
काठमाडौं महानगरपालिका– ३२ कोटेश्वरमा ३५ दिनकी सुत्केरी सेकाउन शनिबार बेलुका ७० वर्षीया सिलमाया कटुवालले माकल बालिन् । चिसो नछिरोस् भनेर कोठाको झ्यालढोका बन्द गरिन् । कोठा तातियो ।

न्यानोसँगै कोठामा रहेकी सुत्केरी २४ वर्षीया प्रमीण खत्री, ३५ दिनको छोरा श्रीयाल खत्री, आगो बाल्ने सिलमाया र ९० वर्षीया छलमाया खत्री निदाए । कोठामा अक्सिजन सकियो । कार्बन–मनोअक्साइडले कोठा भरियो । निदाएका चारैजना अचेत भए । छिमेकीले ढकढक्याउँदा कोठा नखुलेपछि प्रहरीलाई खबर गरे । प्रहरी तत्काल घटनास्थल पुग्यो । अचेत भएका सबैलाई उपचारका लागि अस्पताल लगियो । 

९० वर्षीया छलमायाबाहेक सबैको अवस्था खतरामुक्त रहेको प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले बताए । ‘सुत्केरीलाई सेकाउन माकल बालेका रहेछन् । भेन्टिलेसन नभएपछि कोठामा अक्सिजन पुगेन । सबै बेहोस भए । प्रहरी चाँडै पुगेका कारण उनीहरूको उद्धार हुन सक्यो । ९० वर्षीया वृद्धाको अवस्था चिन्ताजनक छ,’ उनले भने ।