
स्ववियु निर्वाचनमा नेविसंघले सुरुवातमै जित निकालेको छ। पहिलो स्ववियु निर्वाचनमा पोखरा इन्जिनियिङ कलेज स्ववियु परिषद् निर्वाचनमा नेविसंघको पूरै प्यानल विजयी भएको हो।
नेविसंघका अनुसार शुक्रबार निर्वाचनबाट २४ वर्षपछि परिषद्को निर्वाचनमा विराट सिग्देल नेतृत्वको नेविसंघको सिंगो कार्यसमिति नै निर्वाचित भएको हो।
निर्वाचनबाट सचिवमा मिलन डुम्रे, कोषाध्यक्षमा कृति वाग्ले, सदस्यमा सुवासचन्द्र पण्डित, अनिश गिरी, सोवित कार्की, भूमिका छुमी, सिस पाण्डे, सुजन पोखरेल, गौरव कार्की र सुमिता पौडेल निर्वाचित भएका छन्। नेविसंघसँग प्रतिस्पर्धामा अनेरास्ववियुका वीरेन्द्र जिसीको प्यानल प्रतिस्पर्धामा थियो।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले पोखरा इन्जिनियरिङ कलेजबाट स्ववियु निर्वाचनमा ऐतिहासिक रूपमा जितको खाता खोलेको बताए।
अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको सुरुवातमा नेविसंघको जितले उत्साहित बनाएको प्रतिक्रिया दिए। ‘पछिल्लो समय निराशा छाएको कांग्रेसमा स्ववियु निर्वाचनमा नेविसंघको ऐतिहासिक जितले उत्साह थपेको छ,’ उनले भने, ‘यो सुरुवात हो हामी तीव्र रूपमा तयारी गरिरहेका छौँ।’