हेटौँडा उपमहानगरपालिका– ४ की २४ वर्षीया सुस्मिता केसी हत्याका चार अभियुक्तलाई जन्मकैदको फैसला गरेको छ ।
हत्याको करिब साँढे २ वर्षपछि शुक्रबार जिल्ला अदालत मकवानपुरले हत्यामा संलग्न चार अभियुक्तलाई जन्मकैदको फैसला गरेको हो ।
अदालतले शुक्रबार सुस्मिताका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, ज्वाई अरुण कार्की र कान्छी नन्द सीता थापालाई कसुरदार ठहर गरी जनही २५ वर्षको कैद हुने फैसला गरेको हो ।
अदालतले सासु तुलसा थापालाई हत्याको मतियार ठहर गरी दश वर्षको जेल सजाय तोकेको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको एकल इजलासले उक्त फैसला गरेको हो ।
जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायाधिवक्ता मुकुन्दहरि पौडेल, जिल्ला सहायक न्यायाधिवक्ता राजेन्द्रमणि पौडेल, अधिवक्ताहरू राजेन्द्र शर्मा, मदनकुमार दाहाल, मनप्रसाद भट्टराई, अप्सरा बस्नेत, बालकृष्ण अधिकारीले बहस गरेका थिए ।
कपिलवस्तु वाणगंगा नगरपालिका माइती भएकी सुस्मिता र हेटौंडा– ४ का रुपेन्द्र थापाबीच १८ वैशाख ०७६ मा विवाह भएको थियो । पाँच महिनापछि २३ असोज ०७६ मा थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।
दुर्घटनामा मृत्यु भएका पतिको नाममा रहेको बिमा रकम सुस्मिताबाट परिवारका सदस्यले उनको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।
ससुराले सुस्मिताको हत्यालाई आत्महत्या देखाउने प्रयास गरेका थिए । छोरीको हत्या गरिएको भन्दै सुस्मिताको बुवा कृष्णबहादुर केसीले २९ असार ०७७ मा पाँचैजनाविरुद्ध मुद्दा दर्ता गराएका थिए ।