
जुम्लाकाे सिँजा गाउँपालिकाले सिँजा क्षेत्रमा नापी र मालपोत कार्यालय स्थापना गर्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको पर्वपक्षीय र सर्वदलीय बैठकले तीनवटा स्थानीय तहका लागि सिँजा क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गरेको हो ।
तत्कालीन ३० वटा गाविसका लागि सदरमुकाम खलंगामा नापी र मालपोत कार्यालय राखिएको थियो । ती कार्यालय स्थानीयलाई पायक पर्ने स्थानमा नभएकाले सिँजा क्षेत्रमा कार्यालय बनाउन माग गरिएकाे हाे । उक्त कार्यालय उकालो डाँडामा छ । बढी जग्गा ज्येष्ठ नागरिककै नाममा हुने गरेको छ । सवारीसाधनको व्यवस्था पनि नभएकाले ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई जग्गाको कारोबार गर्न समस्या छ ।
जिल्लामा रहेका कार्यालयहरू संघीय संरचनाअनुसार स्थानीय तहमा विकेन्द्रीकरण हुनुपर्ने हो । अधिकांश सरकारी कार्यालयहरू स्थानीय तहमा पुगे पनि मालपोत र नापी कार्यालय विकेन्द्रीकरण हुन सकेका छैनन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सिँजा क्षेत्रमा नापी र मालपाेत माग गरिए पनि अर्थ मन्त्रालयका कारण काम राेकिएकाे सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । अर्थ मन्त्रालयको निर्णयले सिँजामा मालपोत र नापी कार्यालय स्थापना गर्न बाधा पुर्याएको उनको भनाइ छ । उनले भने, ‘हामीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग माग गरेका थियौँ ।’
उक्त माग फाइल अर्थ मन्त्रालयमा पुगेको छ । अर्थले पुस २० गते नापी र मालपोत कार्यालयको अवस्था, वार्षिक बजेट तथा कार्यक्रमका विषयमा दूरदृष्टिसहितको सर्वेक्षणका लागि गृहकार्य गर्न उपयुक्त हुने निर्णय गरेको छ ।