![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/exercise112023-01-20-11-10-49.jpeg)
सन्तुलित भोजन र व्यायामले शरीरका सबै अंगलाई मजबुत गराउँछ । त्यसैले तपाईंले आफ्नो स्वास्थ्यका लागि समय निकाल्न आवश्यक छ । चिसो मौसममा मानिसको सक्रियता घटेर जाने भएकाले व्यायामको आवश्यकता अझै धेरै पर्छ । यसले रोगसँग लड्ने क्षमता विकास गर्छ ।
सन्तुलित जीवनशैली
अधिकांशलाई व्यायाम गर्दा मात्रै स्वस्थ भइन्छ भन्ने भ्रम छ । तर, हामीले व्यायाम गरेपछि सोहीअनुसार अनुशासित र सन्तुलित जीवनशैली अबलम्बन गर्नुपर्छ । तनाव कम लिने, आठ घण्टा नियमित सुत्ने, समयमै उठ्ने, बेलुकी समयमै सुत्ने गर्नुपर्छ । धुम्रपान, मदिरालगायतको लतबाट टाढा रहनुपर्छ ।
जिम जानुस् वा घरमै व्यायाम गर्नुस्, सन्तुलित भोजन आवश्यक छ । शरीरलाई प्रोटिन, फ्याट, फाइबर, भिटामिन आवश्यक पर्ने भएकाले सन्तुलित खानेकुरा खानुपर्छ । अन्डा, माछा, मासु, केरा, दूध, ओटमिल, सलादलगायत खानुपर्छ । बोसोरहित मासु खानुपर्छ । सकेसम्म हरियो सागसब्जी र फलफूलमा जोड गर्नुपर्छ । पर्याप्त पानी पिउने गर्नुपर्छ ।
व्यायामका फाइदा
शारीरिक व्यायामका लागि नियमित जिम जानुपर्छ वा जिम गएर व्यायाम गर्दा मात्रै स्वस्थ भइन्छ भन्ने भ्रम धेरैमा हुन्छ । स्वस्थ रहन हामी घरमै पनि कसरत गर्न सक्छौँ । कम्तीमा साताको तीनदेखि पाँच दिनसम्म आधा घन्टादेखि एक घन्टासम्म शरीरलाई सक्रिय राख्नुपर्छ ।
- मुटु स्वस्थ राख्छ ।
- तौल नियन्त्रण हुन्छ ।
- कोलेस्ट्रोल, मधुमेहजस्ता रोग लाग्ने खतरा कम हुन्छ । उच्च रक्तचाप सामान्य हुन्छ ।
- चिन्ताबाट मुक्ति गराउँछ ।
- शरीरलाई ऊर्जा मिल्छ, कार्यमा परिवर्तन ल्याउँछ । अनिद्रा रोकथाम हुन्छ ।