मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ माघ ४ बुधबार ०९:४२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जहाज दुर्घटनामा परी मृत्यु भएका पत्रकार पौडेलको दाहसंस्कार

Read Time : > 1 मिनेट
२०७९ माघ ४ बुधबार ०९:४२:००

जहाज दुर्घटनामा परी मृत्यु भएका पत्रकार त्रिभुवन पौडेलप्रति नेपाल पत्रकार महासंघ कास्कीमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएकाे थियाे। तस्बिर : रासस

पोखराको सेती खोँचमा यती एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको मंगलबार दाहसंस्कार गरिएको छ । मंगलबार शव बुझेर आफन्तले पोखरा– ११ स्थित फूलबारीमा रहेको घरमा लगेका थिए ।

त्यसपछि पौडेलको शव पत्रकार महासंघ कास्कीको परिसरमा ल्याएर श्रद्धाञ्जली सभा गरी शान्तिघाटमा अन्तिम दाहसंस्कार गरिएको थियो । प्रेस सेन्टरका उपाध्यक्षसमेत रहेका पौडेल शनिबार पदाधिकारी बैठकमा सहभागी हुन शुक्रबार पोखराबाट काठमाडौं गएका थिए ।

शनिबारको बैठकमा सहभागी भएपछि आइतबार सोही जहाजमा पोखरा फर्कंदै थिए । जहाजमा पोखरास्थित एपोस्टल एफएममा कार्यरत सञ्चारकर्मी अनिल शाही पनि थिए । उनको पहिचान हुन सकेको छैन ।

मंगलबारसम्ममा ७१ शव फेला, एक यात्रु अझै बेपत्ता

दुर्घटनाग्रस्त यती एयरलाइन्सको जहाजका एक यात्रु अझै फेला परेका छैनन् । आइतबार दुर्घटनामा परेको जहाजका ७२ मध्ये मंगलबारसम्ममा ७१ शव भेटिएको छ । मंगलबार भेटिएको शव महिलाको रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

महिलाको शव घटनास्थलदेखि करिब सात सय मिटर तल फेला परेको हो । मंगलबार बिहानदेखि गोताखोरसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको थियो । खोजीमा चारवटा ड्रोन प्रयोग गरिएको थियो । घटनास्थल सेती खोँचमा रहेको र सेती नदीमा पानीको बहाव बढी भएकाले याम्दीस्थित नहरमा पानी राखेर नदीमा पानीको सतह कम गराइएको छ । 

काठमाडौंबाट पोखराका लागि आइतबार बिहान १०:३२ बजे उडेको ९एन–एएनसी कलसाइनको एटिआर–७२ जहाज अवतरण ठीकअघि पोखरा महानगरपालिका– ७ र १५ को बीचमा पर्ने नयाँगाउँस्थित सीताराम कोलनीनजिकैको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । जहाजमा चालक दलका चार र ६८ यात्रु थिए । उनीहरूमध्ये १५ विदेशी थिए ।

४८ शव काठमाडौं पठाइयो

मंगलबारसम्ममा २२ शवको पोस्टमार्टम गरिएको छ । संकलन गरिएका ७१ शवमध्ये पहिचान भएका २२ शवको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टम भएको हो । अस्पतालका निर्देशक भरत खत्रीले २२ मध्ये १९ शव आफन्तले बुझेर लगेको जानकारी दिए ।

भेटिएका ७१ मध्ये ४८ शव मंगलबार काठमाडौं पठाइएको छ । मंगलबार फेला परेको एउटा शव पोखरामै रहेको छ । पहिचान हुन नसकेका, विदेशी नागरिक, चालक दलका सदस्यहरूको शव काठमाडौं पठाइएको निर्देशक खत्रीले बताए । ‘पहिचान हुन नसकेका शवहरूको डिएन परीक्षण गर्नुपर्ने भएकाले काठमाडौं पठाइएको हो,’ निर्देशक खत्रीले नयाँ पत्रिकासँग भने ।