१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ३ मंगलबार ०६:२९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआरएनको माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ३ मंगलबार ०६:२९:००

 प्रधानमन्त्री पुष्पकमल दाहालले गैरआवासीय नेपालीका विभिन्न मागलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली संघका पदाधिकारीबीच सोमबार भएको छलफलमा उनीहरूको मागबारे सम्बोधन गर्ने जनाएका हुन् ।

 भेटघाटमा संघकी कार्यकारी अध्यक्ष रविना थापाले हालसम्म संघले गरिआएको काम, नेपाल सरकारको तर्फबाट सम्बोधन भइआएका विषयहरू र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानुनी सुधार सम्बन्धमा संघको तर्फबाट धारणा राखेकी थिइन् । संघका अर्का अध्यक्ष बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’लाई अघि बढाउन देखापरेका कानुनी र व्यावहारिक कठिनाइबारे जानकारी गराउँदै ती कठिनाइलाई तत्काल सम्बोधन गर्न आग्रह गरेका थिए ।  

यस्तै, संघका अध्यक्ष कुल आचार्यले संघले उठाएको गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न अनुरोध गरे । ‘एकपटकको नेपाली सदैव नेपाली’ हुने भन्दै अध्यक्ष आचार्यले विविध कारण अन्योलमा परेको नागरिकताको विषयलाई यथाशक्य छिटो टुंगो लगाउन संघका तर्फबाट आग्रह गरे ।

 संघका पदाधिकारीको आग्रहपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा विदेशमा रहेको कामदार र गैरआवासीय नेपाली संघले उठाएका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटमा प्रधानमन्त्री दाहालले नेपालमा विद्यमान कतिपय कानुनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई नेपाल सरकारले क्रमशः सच्याउँदै आएको र अबका दिनमा पनि कानुनी उल्झनलाई पन्छाउन आफ्नो तर्फबाट प्रयास जारी रहने बताए । 

उनले भने, ‘तपाईंहरूलाई विश्वस्त पार्न चाहन्छु कि म त्यस्ता खालका पर्खाललाई भत्काउनेछु ।’ विदेशमा रहेका नेपालीले नेपाल र नेपालीको पहिचान विश्वमाझ पु¥याउन ठूलो भूमिका निर्वाह गरेको भन्दै गैरआवासीय नेपालीप्रति प्रधानमन्त्री दाहालले आभार व्यक्त गरे । राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक रूपमा विश्वभर नेपाललाई चिनाउन नेपालीहरू थप संवेदनशील र जिम्मेवार बन्दै गएकोप्रति प्रधानमन्त्री दाहालले खुसी व्यक्त गरे  ।