हिंस्रक घटना हुँदा करोडौँको क्षति भएको एक वर्षपछि सुनसरीको बर्जु गाउँपालिकामा यसपालि फेरि प्रशासनको अनुमतिविनै भारतीय कलाकार खेसारीलालाल यादवलाई ल्याएर सांस्कृतिक कार्यक्रम गर्न लागिएको छ ।
प्रशासनको निर्देशनलाई बेवास्ता गर्दै महोत्सव सञ्चालन गराउँदा गत ४ माघमा सुनसरीको बर्जु गाउँपालिका– ६ चिमडीमा आयोजित बर्जु महोत्वसमा आगजनी र तोडफोडको अप्रिय घटना भएको थियो । भारत बिहारका चर्चित कलाकार खेसारीलाल नआएको भन्दै उत्तेजित दर्शकले सवासीसाधन, साउन्ड सिस्टम र कुर्सीहरू तोडफोड गरी आगजनी गरेका थिए ।
उक्त घटना भएको ठीक एक वर्षपछि पुनः जिल्ला प्रशासनको अनुमतिविनै गाउँपालिकाको अनुमतिमा फेरि भारतीय कलाकार खेसारीलाल यादवलाई ल्याउन लागिएको छ । सुनसरीको बर्जु गाउँपालिका– ६ चिमडीस्थित बर्जुताल खेलमैदानमा गत वर्षझैँ यसपालि पनि स्थानीय बर्जु सामुदायिक विकास केन्द्रले सांस्कृतिक मेला भन्दै २२ पुसदेखि बर्जु रमाइलो मेला आयोजना गरिरहेको छ । स्थानीयताको प्रवर्द्धनका लागि धार्मिक–सांस्कृति महोत्वस भनिए पनि मेलामा विभिन्न जुवाजन्य खेलहरूसमेत खुलेआम भइरहेका छन् ।
स्थानीयहरूका अनुसार यसपालि पनि गत वर्षझैँ भारतीय कलाकार खेसारीलालको नाममा पाँच सय र हजारका टिकट सयौँको संख्यामा बिक्री गरिएका छन् । गत वर्षको घाटा असुल्न स्थानीय आयोजक संस्थाले प्रशासनले अनुमति नदिए पनि पालिकालाई दबाब दिएर मेला सञ्चालन गराएका हुन् । खेसारीलाललाई पूर्ण सुरक्षासहित क्षतिपूर्तिसमेत दिने भन्दै आयोजकले मंगलबार तामझामसहित कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।
जिल्ला प्रशासन सुनसरीका सहायक सिडिओ जोरासिंह माझीले बर्जुमा मेला लगाउन र भारतीय कलाकार ल्याएर कार्यक्रम गर्न प्रशासनले अनुमति नदिएको प्रस्ट पारेका छन् । सहायक सिडिओ माझीले भने, ‘हामीसँग अनुमति लिन आएका थिए। सामान्य धार्मिक मेलाका लागि मात्र मौखिक अनुमति दिएका छौँ। विदेशी कलाकार ल्याउन अनुमति दिएका छैनौँ ।’
बजु गाउँपालिका अध्यक्ष जीवछकुमार रायले प्रशासनको समन्वयमा बर्जुमा मेला लगाउन पालिकाले अनुमति दिएको बताए । उनले दुर्घटना भवितव्य हुने भएकाले कार्यक्रम नै गर्न छाड्नु गलत हुने तर्क गर्दै यसपालि पोहोरको जस्तो घटना नदोहोरिने दाबी गरे । अध्यक्ष रायले भने, ‘यसपालि हामीले प्रहरी प्रशासनसँग कुरा गरेर सुरक्षा व्यवस्था बलियो बनाएका छौँ। कुनै असुरक्षा हुँदैन ।’
सुनसरीका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले प्रशासनले लिखित आदेश नदिए पनि गाउँघरमा हुने मेलापर्वदेखि स्थानीयवासीको सुरक्षा गर्नु आफूहरूको दायित्व भएकाले बर्जु महोत्वसमा पनि सुरक्षा दिइरहेको बताए । उनले भोलि भारतीय कलाकार खेसारीलाल आउने भएकाले सुरक्षा सतर्कता उच्च बनाएको बताउँदै भने, ‘प्रशासनले आदेश दियो भने मात्र हामीले मेला रोक्ने हो । अहिलेसम्म कुनै लिखित आदेश छैन ।’