ओखलढुंगाको मूलखर्कमा पर्यटक लोभ्याउन ‘डम्फु पार्क’ निर्माण गरिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको सुनकोसी गाउँपालिकाको केन्द्र मूलखर्कमा तामाङ समुदायको जीवन्त संग्रहालय बनाउने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले ‘डम्फु पार्क’ निर्माण गरिएको हो । चारैतिर हरियो वनजंगल, चराचुरुंगीको चिरबिर आवाज, गाउँलाई सहर जोड्ने नागबेली भएर बनेको ग्रामीण सडककै बीचमा पार्क निर्माण गरिएको छ ।
मूलखर्क, च्यानम, कटुन्जे, सिस्नेरी, बल्खुआसपासको समुदायका मानिस हुन् या काम विशेषले सुनकोसी गाउँपालिका भएर यात्रारत मानिस, ठूलो र अग्लो आकृतिमा ठडिएको डम्फु आकृतिको संरचनामा जोकोहीको पनि आँखा टक्क अडिने गर्छ । पछिल्लो समय डम्फु पार्कमा पुग्नेहरू तस्बिर खिचेर रमाउने र टिकटक बनाउन व्यस्त हुने गरेका छन् ।
‘डम्फु’ तामाङ समुदायको सांस्कृतिक बाजा हो । ‘डम्फु’लाई सांस्कृतिक पहिचानका रूपमा स्थापित गर्न गाउँमा ‘डम्फु पार्क’ निर्माणको अवधारणा ल्याइएको सुनकोसी–५ का वडाध्यक्ष गोविन्दराम तामाङले बताए । तामाङ समुदायको बाहुल्य रहेको मूलखर्कमा सो समुदायको कला, वेशभूषा, संस्कृति र पहिचानको संरक्षणका लागि वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सुनकोसी गाउँपालिका वडा नं ५ को आठ लाख ५० हजार बजेटबाट ‘डम्फु पार्क’ निर्माण गरिएको हो । पार्कनजिकै गुम्बा निर्माण र स्थानीय मनकुमार तामाङले पहरामा बुद्धको मूर्ति बनाएपछि मूलखर्क धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भएको छ । अब संग्रहालय निर्माणको योजना छ । संग्रहालय निर्माण भएपछि तामाङ संस्कृतिबारे अध्ययन गर्ने स्थल र पर्यटकीय केन्द्रका रूपमा विकास हुने स्थानीयको अपेक्षा छ । डम्फु तामाङ जातिको छेवार, पास्नी, विवाह, व्रतबन्धलगायतका जन्मदेखि मरणोपरान्तसम्मका शुभ कार्यमा प्रयोग हुने सांस्कृतिक बाजा हो ।
‘डम्फु पार्क’ले तामाङ समुदायको सांस्कृतिक बाजालाई संरक्षणमा टेवा पुग्ने नेपाल तामाङ घेदुङ संघ ओखलढुंगाका अध्यक्ष सुवास तामाङले बताए । जातीय पहिचान झल्काउने झाँकी, बाजा, भाषा संस्कार र संस्कृतिको संरक्षणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने अध्यक्ष तामाङको भनाइ छ ।
‘मूलखर्कमा बनेको डम्फुु पार्क, यहाँ सञ्चालित लामा पढाइजस्ता कामले हाम्रो जातीय समुदायको संस्कार संरक्षण र प्रवद्र्धनमा मद्दत पुगेको छ ।’ तामाङले भने, ‘स्थानीय सरकारसँग नागरिकका धेरै ठुला अपेक्षा छैनन् । स–साना विकासका योजना, सामाजिक विकास र जागरणका कार्यक्रमहरू, विपन्न वर्गको हितका नीति कार्यविधि र स्थानीय भाषा, संस्कार र संस्कृतिको संरक्षणमा स्थानीय तहले भूमिका खेल्नुपर्छ ।’ स्थानीयको पुख्र्यौली परम्परा त्यस ठाउँको सम्पत्तिका रूपमा हेरिनुपर्ने उनको भनाइ छ ।