कांग्रेसले सरकारलाई विश्वासको मत दिएर सत्तारूढ गठबन्धनलाई अप्ठ्यारो पारेको हो ?
यो कुनै नयाँ कुरो होइन । विगतमा ओली नेतृत्वको सरकारलाई पनि कांग्रेसले समर्थन गरेकै हो । अहिले पनि त्यही गरेको हो । सरकारलाई विश्वासको मत दिएर लोकतान्त्रिक मूल्य–मान्यताअनुरूप भूमिका खेल्ने विषयमा कांग्रेसले आफूलाई पछि धकेलेको छ । बलियो प्रतिपक्षी बनेर लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउने र सरकारलाई खबरदारी गर्ने भूमिकाबाट कांग्रेस च्यूत भएको छ । देउवा नेतृत्वको कांग्रेसले सत्ताबाहिरै बसेर पनि भागबन्डा खोज्ने जुन चाल चलेको छ, त्यो लोकतान्त्रिक व्यवस्थाका लागि सबैभन्दा खतराको विषय हो ।
कांग्रेसको विश्वासको मतले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच अविश्वास बढाएको त होइन नि ?
यसरी व्यक्तिगत रूपमा नहेरौँ । अहिलेको जस्तो लेनदेनको राजनीतिले लोकतान्त्रिक संस्थालाई बलियो बनाउँदैन । भागबन्डाको राजनीति लोकतन्त्रका लागि खतरा हुन्छ । कांग्रेसको विश्वासको मतले त्यही खतरा बढाएको छ ।
कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने सम्भावना कति देख्नुहुन्छ ?
कांग्रेस सरकारमै त नजाला । हाम्रो संविधानले संवैधानिक पदहरूमा नियुक्तिका लागि प्रतिपक्षी दलका नेताको समेत उपस्थितिको कल्पना गरेको छ । यसले सरकारले मनोमानी गर्न नपाओस् भन्ने सदाशय राखेको छ । तर, हाम्रा दलहरूले त्यो सदाशयको दुरुपयोग गरेर त्यस्ता पदमा भागबन्डा लगाउँदै आएका छन् । अहिले कांग्रेसले पनि सरकारबाहिरै बसेर त्यस्ता नियुक्तिमा हिस्सेदारी लिने बाटो बनाएको मात्र हो ।