हरित हाइड्रोजन अहिले निकै चर्चामा छ । गत नोभेम्बर इजिप्टमा आयोजित संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्मेलन (कोप–२७)का क्रममा जर्मनीका चान्सलर ओलाफ सोल्जले हाइड्रोजनको बजार विकास गर्न चार अर्ब ३० करोड डलरभन्दा धेरै लगानी गर्ने उद्घोष गरे ।
राष्ट्रपति जो बाइडेन प्रशासनले ‘सफा’ हाइड्रोजनलाई आफ्नो इन्फ्लेसन रिडक्सन एक्टको मूल विषय बनाए र नवीकरणीय ऊर्जालाई अनुदान प्रदान गरे । चीनले इलेक्ट्रोलाइसिसमा यति धेरै लगानी गरेको छ कि केही पर्यवेक्षक चीनले फोटेभोल्टिक (सौर्य) प्यानलको बजार एकलौटी बनाएजस्तै यसको पनि बजार एक्लै हत्याउने हो कि भनेर डराउँछन् । अस्ट्रेलियन माइनिङ जायन्ट फोर्टेस्क्यु जस्ता कर्पाेरेसनहरू खर्बाैँ डलरको बन्दै गरेको यो उद्योगमा लगानी गरिरहेका छन् ।
जब कुनै प्रविधि यति धेरै प्रचारित हुन्छ, तब धेरैजसो वातावरणवादी अत्तालिन पुग्छन् । के ‘सफा हाइड्रोजन’ प्राकृतिक ग्यास र आणविक ऊर्जाबाट निकालिने तथाकथित ‘ब्लु (निलो)’ वा ‘पिंक (गुलाबी)’ हाइड्रोजनलाई चोख्याएर हरित करार गर्ने चालबाजी त होइन ? के विश्वका मध्यम र उच्चवर्गले आफ्नो ऊर्जा तथा स्रोतको खपतलाई संकुचित गर्दै लगेको अहिलेको अवस्थामा अन्तरिक्ष पर्यटन तथा हाइपरसोनिक उडानजस्ता ज्यादतीपूर्ण हर्कतलाई जायज ठह¥याउने खालको प्रविधि उत्पादन गर्ने प्रयास हो त यो ? कि जलवायु परिवर्तनसँग जुझ्ने बहानामा विपन्नहरूको जमिन र पानीलाई दोहन गर्ने निकासीवादको अर्काे चरण हो ?
यी सबै प्रश्नहरूको छोटो जवाफ हुन्छ– यस्तै हो । तर, सम्पूर्ण कथा यति मात्रै भने होइन । सही हो, यदि हामीले हरित हाइड्रोजन सही विधिबाट प्राप्त गरेनौँ भने यो सपना दुःस्वप्नमा विकसित हुन सक्छ । तथापि, हरित हाइड्रोजन विश्व अर्थतन्त्रलाई जलवायु विनाशकारी जीवाश्म इन्धनबाट शतप्रतिशत नवीकरणीय ऊर्जामा आधारित दिगो मोडलतर्फ संक्रमण गराउने अपरिहार्य निर्माण खण्ड हो । यो अस्पष्टतालाई स्विकार्नु चुनौतीपूर्ण हुन सक्छ, तर जलवायु विपत्तिबाट बच्नका लागि यो आवश्यक छ ।
हरित हाइड्रोजन जीवाश्म इन्धनको उत्तम विकल्पको रूपमा देखा पर्दै छ । तर, यसलाई ग्रिनवासिङको अर्काे बहाना बन्नबाट रोक्न पश्चिमका नीति–निर्माताले विकासशील मुलुकका समकक्षीसँग सहकार्य गर्नुपर्छ, ताकि यसलाई बलियो वातावरणीय एवं सामाजिक मानकसहित आर्थिक रूपले व्यावहारिक बनाउन सकियोस् ।
हाइड्रोजनका थुप्रै सम्भावित अनुप्रयोगहरूलाई ध्यानमा राख्दै केही विद्वान् यसले शताब्दीको मध्यसम्ममा विश्वव्यापी ऊर्जा खपतको २०–३० प्रतिशत धान्न सक्ने आकलन गर्छन् । तर, यतिलै मात्रै पनि यसलाई सबैभन्दा प्रभावकारी विकल्प बनाउँदैन । सवारीसाधन चलाउन हाइड्रोजन इन्धन सेल वा विद्युतीय–इन्धनलाई भन्दा विद्युतीय ब्याट्रीहरूलाई प्रतिकिलोमिटर किलोवाट ऊर्जा थोरै भए पुग्छ । यसैगरी, ग्यास बोइलरलाई हाइड्रोजनमा रूपान्तरण गर्नुभन्दा हिट पम्प प्रयोग गर्नु बढी किफायती हुन्छ । नाइट्रोजन मलखादको जैविक विकल्पलाई पनि धेरै ध्यान दिनुपर्छ ।
तर यहाँ लामो दूरीका सिपिङ तथा उड्डयन, रसायन कारखाना, फलाम कारखानालगायत महत्वपूर्ण क्षेत्रमा हरित हाइड्रोजन र यसका डेरिभेटिभ्सहरू आर्थिक रूपले व्यावहारिक शून्य–कार्बनका केही मात्रै विकल्प हुन् । थुप्रै उद्योग क्षेत्रलाई सन् २०५० सम्म शून्य उत्सर्जनमा पुग्न ठूलो मात्रामा सफा हाइड्रोजन चाहिनेछ ।
ब्लुमबर्ग न्यु इनर्जी फाइनान्सका संस्थापक माइकल लाइबे्रचले चुनौतीको स्तर देखाउन जीवाश्म इन्धनबाट उत्पादित आजको ‘फोहोर’ हाइड्रोजनलाई प्रतिस्थापन गर्न मात्रै पनि हाल विश्वमा उपलब्ध वायु तथा सौर्य ऊर्जाको १४३ प्रतिशत ऊर्जा चाहिन्छ ।
ग्लोबल साउथ (विपन्न विश्व)का धेरैजसो देशसँग विश्वस्तरीय सौर्य तथा वायु ऊर्जाको सम्भावना रहेकाले उनीहरू न्यून लागतमै हरित हाइड्रोजन उत्पादन गर्न सक्षम छन् । नामिबियाजस्ता केही देशले यसै प्रतिस्पर्धात्मक लाभको वरपर रहेर आफ्नो औद्योगिक विकास रणनीति निर्माण गरेका छन् । तर, हरित हाइड्रोजन र यसका डेरिभेटिभ्सका अन्तर्राष्ट्रिय व्यापार कसरी समृद्धिको मार्ग बन्न सक्छन् ? अनि कसरी विकासशील देशले हरित निकासीवादको पासोबाट बच्न र यो व्यापार निष्पक्ष र दिगो भएको सुनिश्चित गर्न सक्छन् ?
चिली, अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, दक्षिण अफ्रिका, मोरोक्को र ट्युनिसियामा भएका छलफल र अध्ययनले यी प्रश्नको विस्तृतमा अध्ययन गरेका छन् । हेनरिच बोल फाउन्डेसन र ब्रेड फर द वल्र्डको एउटा नयाँ प्रतिवेदनले उनीहरूको निष्कर्षको संश्लेषण गरेको छ र हरित हाइड्रोजनकोे आवश्यकतालाई उजागर गरेको छ ।
हरित हाइड्रोजनको सपना दुःस्वप्न बन्नबाट रोक्न हामीले क्षेत्रीय योजना, स्पष्ट मापदण्ड र नीतिहरूका साथ यो क्षेत्रको विकास गर्नुपर्छ । साथै, यसमा स्थानीय समुदायको सुसूचित सहमतिको अधिकारलाई कायम राखिनुपर्छ । सफा इन्धन विकासको प्रतिज्ञा पूरा गर्न र दिगो अर्थव्यवस्थालाई बढावा दिन सरकारहरूले महत्वाकांक्षी र यथार्थवादी औद्योगिक रणनीतिहरू तयार पार्नुपर्छ । ती रणनीति दिगो विकास र ऊर्जा संक्रमणको प्रणालीगत दृष्टिकोणबाट तयार गरिनुपर्छ । यसबाहेक, यसको भुक्तानी कसले गर्न सक्छ भनेर मात्र होइन, हाइड्रोजनको प्रयोग कसरी गरिन्छ भनेर पनि विचार गर्नु आवश्यक छ ।
यीमध्ये कुनै पनि कुरा आफैँ हुनेछैनन् । दिगो भविष्य हासिल गर्ने कुरा राजनीतिक इच्छाको कुरा हो । यसका लागि नेतृत्व र सहकार्य चाहिन्छ । थुप्रै मुलुकले हरित हाइड्रोजनको निष्पक्ष र दिगो व्यापारको सपनालाई वास्तविकतामा रूपान्तरण गर्न सहयोग गर्न सक्छन् । नामिबिया, चिली, कोलम्बिया र अब ब्राजिलसँग पनि बलियो वातावरणीय तथा सामाजिक मानकसहित हरित हाइड्रोजन उत्पादनतर्फ अग्रसर हुन राजनीतिक अनुकूलता छ । समयक्रमसँगै अर्जेन्टिना र दक्षिण अफ्रिका यो सूचीमा सामेल हुन र उत्पादक देश बन्न सक्छन् ।
हरित हाइड्रोजनका सम्भावित प्रमुख आयातकर्ता एवं उपभोक्ताको रूपमा जर्मनीले बलियो वातावरणीय तथा सामाजिक मापदण्डमा आधारित रहेर उत्पादक देशसँग साझेदारी गर्नु आवश्यक छ । जर्मनीको सरकार प्रगतिशील भएका कारण ऊ आफ्ना दीर्घकालीन साझेदारसँग स्रोत प्रदायकको रूपमा मात्र होइन कि दिगो समावेशी समृद्धितर्फको यात्रामा सहयात्रीका रूपमा संलग्न हुने अपेक्षा गर्न सकिन्छ ।
यसका लागि जर्मनी तथा अन्य ऊर्जा आयातकर्ताहरूले मूल्य सिर्जनालाई स्थानीयकरण गर्ने निर्यातकर्ता देशहरूको प्रयासलाई सहयोग पनि गर्नैपर्छ । यसरी, हरित हाइड्रोजनको उदाउँदो अन्तर्राष्ट्रिय व्यापार धनी र विकासशील विश्वबीच एक नयाँ समतामूलक व्यापारिक सम्बन्धको अग्रदूत बन्न सक्छ । यसको साँचो नवीकरणीय ऊर्जासँग छ ।
(हास हेनरिच बोल फाउन्डेसनमा अन्तर्राष्ट्रिय राजनीतिका प्रमुख छन् ।) प्रोजेक्ट सिन्डिकेट