मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २८ बिहीबार
  • Wednesday, 18 December, 2024
बाँकेको भेरी अस्पतालमा दादुराको उपचार गराइरहेका एक बालक । तस्बिर : विश्वरावज पछल्डङ्ग्या/नयाँ पत्रिका
मञ्जु टेलर काठमाडौं
२o७९ पौष २८ बिहीबार o७:४२:oo
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

नेपालगन्जमा दादुरा ‘आउट ब्रेक’

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २८ बिहीबार o७:४२:oo

दुई सातामा एक सय १५ जना संक्रमित, दादुरा उन्मूलनको लक्ष्य लिएको वर्षको सुरुमै प्रकोप

नेपालले दादुरा उन्मूलनको लक्ष्य लिएको वर्षको सुरुमै नेपालगन्जमा तीव्र संक्रमण फैलिएको छ । नेपालले सन् २०२३ सम्म दादुरा उन्मूलन गर्ने नीति लिएको छ । तर, वर्षको सुरुमै संक्रमण फैलिएपछि लक्ष्यको मिति पुनः धकेलिने भएको छ ।

यसअघि नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य लिएको थियो । तर, त्यसवेला पनि धादिङ, जाजरकोटलगायतका जिल्लामा दादुराका बिरामी भेटिएपछि संक्रमण उन्मूलनको लक्ष्य २०२३ सम्मका लागि सारिएको थियो । पछिल्लो समय नेपालगन्जमा दादुरा संक्रमण फैलिएसँगै दादुरा उन्मूलनको लक्ष्य प्राप्तिमा चुनौती थपिएको हो । गत १२ पुसयता नेपालगन्जमा दादुरा संक्रमण तीव्र फैलिएको हो ।

दादुरा निवारणको लक्ष्य सरकारको मुख्य प्राथमिकतामा रहे पनि केही समुदायमा खोप पूर्णतया प्रयोगमा ल्याउन नसकिएकाले संक्रमण निवारणमा चुनौती देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । ‘निश्चित एरियामा निश्चित समुदायका मान्छेमा खोप लगाउने विषयमा विविध कारणले बुझाइ फरक छ । जसकारण खोपको पहुँच सबै समुदायमा शतप्रतिशत छैन । यो आउट ब्रेकले अब खोप प्रयोगबारे झन् सचेत बनाइदिएको छ । तर, अहिले खोप कार्यक्रम तीव्र पारिएकाले संक्रमण नियन्त्रण हुँदै गएको छ,’ उनले भने ।

डा. समीरकुमार अधिकारी, सहप्रवक्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
निश्चित एरियामा निश्चित समुदायका मान्छेमा खोप लगाउने विषयमा विविध कारणले बुझाइ फरक छ । जसकारण खोपको पहुँच सबै समुदायमा शतप्रतिशत छैन । यो आउट ब्रेकले अब खोप प्रयोगबारे झन् सचेत बनाइदिएको छ । तर, अहिले खोप कार्यक्रम तीव्र पारिएकाले संक्रमण नियन्त्रण हुँदै गएको छ ।

खोपले जीवन जोगाउँछ भन्ने जनचेतना सबै ठाउँमा एकनास नभएको र सोहीअनुसार खोपका रणनीति पनि फरक ढंगले लागू हुने अधिकारी बताउँछन् । ‘केही प्रतिशत मात्र पनि खोपको पहुँचबाहिर हुँदा दादुरा संक्रमण निकै संक्रामक रहेकाले एकैपटक धेरैमा फैलिएको हो,’ उनले भने ।

११५ जनामा संक्रमण, सात हजार १६३ मा खोप लगाइयो 
नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकामा फैलिइरहेको दादुरा संक्रमणबाट प्रभावित हुनेको संख्या एक सय १५ पुगेको छ । बुधबार थप पाँचजनामा संक्रमण देखिएको हो । हालसम्म संक्रमणबाट एक शिशुको मृत्यु भएको छ भने दुईजनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । दादुराविरुद्धको पूर्ण खोप नलगाएका कारण फैलिएको भनिएको संक्रमणविरुद्ध खोप अभियानसमेत तीव्र पारिएको छ । 

नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांकअनुसार बुधबार थप तीन हजार दुई सय ३१ बालबालिकामा दादुराविरुद्धको खोप लगाइएको छ । संक्रमण फैलिएपछि अधिकांश बालबालिकामा खोप नलगाइएको पाइएपछि सुरु गरिएको खोप कार्यक्रमअन्तर्गत पछिल्लो ६ दिनमा सात हजार एक सय ६३ जनालाई खोप लगाइएको छ । संक्रमण फैलिएपछि २२ पुसबाट खोप लगाउन सुरु गरिएको थियो । दादुरा निकै संक्रामक रहेकाले संक्रमण नियन्त्रणका लागि पुस अन्तिमसम्मका लागि सबै विद्यालय बन्द गरिएको जनाइएको छ । यसअघि बुधबारसम्मका लागि मात्रै विद्यालय बन्द गरिए पनि संक्रमण तीव्र बढ्न थालेपछि विद्यालय बन्दको समय थपिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

संक्रमितमध्ये झन्डै ७० प्रतिशत पूर्ण खोप नलगाउने
बाँकेको नेपालगन्जमा फैलिइरहेको दादुरा संक्रमणबाट प्रभावितमध्ये झन्डै ७० प्रतिशतले दादुराविरुद्धको पूर्ण खोप नलगाएको पाइएको छ । उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द भन्छन्, ‘संक्रमण देखिएका अधिकांश बालबालिकामा खोप लगाइएको पाइएको छैन । समस्या जटिल बन्न थालेपछि अहिले खोप कार्यक्रम तीव्र पारिएको छ । अहिले १३ स्थानमा खोप दिइरहेका छौँ, अझै प्रभावित ११ वटै वडामा खोप लगाउने स्थान थप्दै जान्छौँ,’ उनले भने ।

दादुराबाट प्रभावितमध्ये अधिकांशले एक डोज मात्रै वा खोप नै नलगाइएको पाइएपछि खोप वितरण तीव्र पारिएको हो । उपमहानगरका स्वास्थ्य शाखा प्रमुख चन्दका अनुसार अति प्रभावित रहेका १, ४, ५, ७, ८, १४ र १५ का सातवटा वडाका १३ वटा खोप केन्द्रबाट ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप वितरण भइरहेको छ । खोपप्रतिको गलत बुझाइ भएपछि अझै पनि सबै बालबालिकामा खोप लगाउन चुनौती भइरहेको स्वास्थ्य शाखा प्रमुख चन्दले बताए ।

‘खोप लगाउँदा बच्चा बिरामी पर्छ भन्ने मान्यताका कारण अभिभावकले बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन नमानेको पाइन्छ । समुदायमा संक्रमण फैलिन थालेपछि धर्मगुरु, स्वयंसेविका, वडाध्यक्षको सहयोगमा सकेसम्म सबै बालबालिकामा खोप लगाउने प्रयास भइरहेको छ,’ उनले भने ।

सरकारले दादुराविरुद्धको खोप निःशुल्क प्रदान गर्र्दै आए पनि खोपप्रति जनचेतनाको अभावमा शतप्रतिशत बालबालिका अझैसम्म खोपको पहुँचमा नभएको भेरी अस्पतालका चिकित्सक डा. संकेत रिसालले बताए । उनका अनुसार कतिपय स्थानमा आधारभूत स्वास्थ्य सेवाको पहुँच नहुनु र विशेषगरी खोपको महत्वबारे समुदायस्तरमा ज्ञान नहुनुले संक्रमण फैलिने गरेको छ । ‘दादुराविरुद्धको खोप लगाउँदा खोप लगाएको भागमा केही समय दुखाइ हुने र बच्चामा ज्वरो आउन सक्ने भएकाले समेत अभिभावकले दोस्रो डोज खोप लगाएको पाइँदैन । यसबाहेक भिटामिन ‘ए’को कमी, शीतलहर र संक्रमण फैलिँदा संक्रमितको हेरचाहबारे पर्याप्त जानकारी नहुँदासमेत अहिले संक्रमण फैलिँदै गएको देखिन्छ,’ उनले भने ।

के हो दादुरा, कस्ता छन् जटिलता ? : डा. संकेत रिसाल, भेरी अस्पताल 
मिजल्स भाइरसको संक्रमणबाट हुने दादुराबाट विशेषगरी पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित हुन्छन् । यो तीव्र भाइरल संक्रमण हो, श्वासप्रश्वासको माध्यमबाट सर्ने यो संक्रमण बाल मृत्युदरको मुख्य कारकसमेत हो ।

संक्रमितको सम्पर्कमा आएको सातदेखि १२ दिनसम्ममा दादुराका लक्षण देखिन्छन् । संक्रमणको सुरुवातमा उच्च ज्वरो, रुघाखोकी, आँखा रातो हुनेजस्ता लक्षण देखिन्छन् । संक्रमण बढ्दै जाँदा मुख, घाँटी र छालामा घाउ देखिन थाल्छन् ।

साथै संक्रमण जटिल हुँदा निमोनिया, फोक्सो, आँखा, कान, मस्तिष्कमा संक्रमणका कारण जटिल समस्या निम्तिन्छन् । दादुराबाट विशेषगरी पाँच वर्षमुनिका बालबालिका र गर्भवती महिला बढी प्रभावित हुन्छन्, तर दादुरा संक्रमणबाट जो–कोही पनि प्रभावित हुन सक्छ ।