Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २६ मंगलबार ०९:२२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बन्यो देशकै सबैभन्दा ठूलो बैंक

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू आपसमा गाभिएर एकीकृत कारोबार सुरु, बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५ अर्ब ७७ करोड, निक्षेप चार खर्ब र कर्जा तीन खर्ब ७९ अर्ब पुग्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २६ मंगलबार ०९:२२:००

ग्लोबल आइएमई बैंक लिमिटेड देशकै सबैभन्दा ठूलो बैंक बनेको छ । पुँजी तथा व्यवसायको आकारका हिसाबले ग्लोबल आइएमई नेपालकै सबैभन्दा ठूलो बैंक बनेको हो । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड आपसमा मर्ज भई सोमबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपछि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत कारोबार शुभारम्भको उद्घाटन गरे । 

एकीकृत कारोबार शुभारम्भको अवसरमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरसँगै ग्लोबल आइएमई बैंक नेपालकै सबैभन्दा ठूलो बैंक बनेको बताए । ‘ग्लोबल आइएमई अधिकांश वित्तीय सूचकमा नम्बर एक बैंक भएको छ,’ उनले भने, ‘अंक र आकारमा मात्र होइन, अर्थतन्त्र तथा वित्तीय क्षेत्रमै ठूलो परिवर्तन ल्याउन सक्ने बैंक हुनेछ ।’

मर्जरपश्चात् बैंकको सम्पत्ति पाँच खर्ब पाँच अर्ब, कुल पुँजी ५७ अर्ब र चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कुल निक्षेप चार खर्ब र कुल कर्जा तीन खर्ब ७९ अर्बभन्दा बढी पुगेको बैंकले जनाएको छ । यससँगै ग्लोबल आइएमई कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारका हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेको उसले दाबी गरेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडमा २१ वटा बैंक तथा वित्तीय संस्था आपसमा गाभिएर सबैभन्दा ठूलो बैंक बनेको हो । यस बैंकमा हालसम्म पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका हुन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । दुवै बैंकले गत २३ मंसिरमा वार्षिक साधारणसभा गरी मर्जरसम्बन्धी प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गरेका थिए । राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु गरेको हो । 

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्र्रसाद ढकालसहित पाँचजना र बैंक अफ काठमाण्डूको तर्फबाट दुईजना रहेका छन् । त्यसैगरी, बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहेका छन् । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरू परिपालनामा सधैँ पहिलो हुने बताए । ‘नेपालको बैंकिङ इतिहासमा एउटा ऐतिहासिक कार्य भएको छ,’ उनले भने, ‘मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसाबले सर्वोत्कृष्ट बैंक बनाउनेछौँ ।’

मर्जरपछिको ग्लोबल आइएमई बैंकको तीन सय ६५ शाखा कार्यालय, तीन सय ६७ एटिएम, दुई सय ८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीनवटा विदेशस्थित सम्पर्क कार्यालय र ४० लाखभन्दा बढी ग्राहक पुगेका छन् । यस्ता अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक भएको दाबी गरिएको छ । 

 उत्पादनमूलक क्षेत्रमा कर्जा बढाउनुपर्छ  : गभर्नर 
उक्त अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले स्वनियममा बसेर उत्पादनमूलक क्षेत्रमा कर्जा बढाउनुपर्ने बताए । उनले साना ऋण प्रवाहमा जोड दिनुपर्नेसमेत बताए । वित्तीय संस्था धेरै हुँदा वित्तीय खर्च धेरै भएको र अस्वस्थ प्रतिस्पर्धासमेत बढेकाले मर्जरमा जोड दिएको बताए । यसबाट बैंकिङ क्षेत्रमा उल्लेख सुधार हुनुका साथै वित्तीय मध्यस्थताको लागतसमेत घटेको उनले बताए । 

 बैंकिङ क्षेत्र थप बलियो र गतिशील बन्नुपर्छ : प्रधानमन्त्री
उक्त अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला बैंक एक–आपसमा गाभिएर एकीकृत कारोबार शुभारम्भ हुनु राष्ट्रका लागि महत्वपूर्ण कदम रहेको बताउँदै यसबाट देशले अझ बलियो, थप गतिशील बैंकिङ क्षेत्र प्राप्त गर्ने विश्वास व्यक्त गरे । ‘अहिले मर्जरलगायतका क्रियाकलापपश्चात् ठूला परियोजनामा स्रोत जुटाउन सहज हुने, दक्षता वृद्धि हुने र वित्तीय क्षेत्रमा देखिने अस्वस्थ प्रतिस्पर्धा पनि हट्ने अपेक्षा गर्न सकिन्छ,’ उनले भने, ‘तर, यो क्रममा नागरिक र सेवाग्राहीको पहुँचमा भने ह्रास नआओस् भन्ने कुराको हेक्का राख्न जरुरी छ ।’ बैंकिङ क्षेत्रको विस्तार र सुदृढीकरणले दिएको अवसरको सही उपयोग गर्न सकेमा ऋण तथा लगानीका स्रोतमा पहुँच बढ्ने उल्लेख गर्दै उनले यसबाट अर्थतन्त्रलाई गति मिल्ने र आमनागरिक तथा व्यवसायहरूको उत्थानशीलता बढ्ने बताए । उनले ठूला परियोजनामा मात्र नभएर नवीनतम बैंकिङको प्रयोग गरेर आमजनताको वित्तीय क्षेत्रमा पहुँच, वित्तीय साक्षरता र स्वरोजगारका क्षेत्रमा समेत बैंकिङ क्षेत्रले योगदान गर्नु जरुरी रहेको उनले बताए ।