१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २६ मंगलबार
  • Saturday, 21 September, 2024
कमलराज भट्ट काठमाडाैं
२o७९ पौष २६ मंगलबार o७:३१:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रतिनिधिसभाको पहिलो बैठक : जनजीविकाका सवालमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता

Read Time : > 4 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष २६ मंगलबार o७:३१:oo

प्रतिनिधिसभाको पहिलो बैठकमा सांसदहरूले कानुन निर्माण र जनजीविकाका सवालमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठकमा दलीय आधार र स्वतन्त्र रूपमा नेताहरू बोलेका थिए । प्रतिनिधिसभालाई प्रधानमन्त्रीसहित १३ जना र राष्ट्रिय सभामा सातजनाले सम्बोधन गरेका थिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको अहिलेको समर्थन ससर्त रहेको बताए । ‘हामी सुशासन दिन सक्छौँ वा सक्दैनौँ, जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ वा सक्दैनौँ, यो संसद् हाम्रो परीक्षाको केन्द्र हो,’ दाहालले भने, ‘जनताले हामीबाट असाधारण संकल्पको अपेक्षा गरेका छन् । निरन्तर जनताको निगरानीमा छौँ ।’ लैंगिक, जातीय, धार्मिक, क्षेत्रीय प्रतिनिधित्व रहेको प्रतिनिधिसभाले राष्ट्रको प्रतिनिधित्व गर्ने भन्दै उनले जनतासँग सुशासन र समृद्धिको साझा प्रतिबद्धता रहेकाले एकैठाउँमा उभिएर अघि बढ्ने विश्वास दिलाए । ‘यो संसद्को अर्जुनदृष्टि सुशासन र समृद्धि हुनेछ, गरे के हुँदैन भन्ने आशा र उत्साह जगाउँछौँ । राजनीतिलाई आर्थिक समृद्धिको महाभियानमा केन्द्रित गर्नेछौँ । राष्ट्रिय एकता बलियो बनाउँछौँ । न्यायपूर्ण राष्ट्र बनाउँछौँ,’ उनले भने । यो संसद् सार्थक संवादको थलो बन्ने उनले विश्वास व्यक्त गरे । ‘यो सम्मानित र सार्वभौम संसद् नेपाली इतिहासको एउटा नयाँ भाष्य रचना गर्न सफल हुनेछ,’ उनले भने । प्रधानमन्त्री दाहाल आठ मिनेट बोलेका थिए । 

कांग्रेस जिम्मेवार र रचनात्मक बन्ने
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभाले पाँच वर्षको आफ्नो कार्यकालमा देश र जनताको हितमा काम गर्न सफल हुने विश्वास व्यक्त गरे । जनताको भावनाअनुसार काम गर्न उनले सांसदहरूलाई अनुरोध गरे । देउवाले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि त्यसअनुरूपका आवश्यक नीति र कानुन बनाउन जुट्नुपर्नेमा जोड दिए । प्रतिनिधिसभामा कांग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भई प्रस्तुत हुने र जनताका जीवनसँग जोडिएका विषयमा विशेष ध्यान दिन उनको प्रतिबद्धता थियो । देउवा सात मिनेट बोलेका थिए ।

२५ मिनेट बोले ओली
सत्तासाझेदार एमालेका अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीले यो प्रतिनिधिसभासामु धेरै जिम्मेवारी रहेको बताए । राजनीतिलाई देश विकास, जनताको सेवा, लोकतन्त्रको रक्षा र संवद्र्धनमा अग्रसर सामाजिक न्याय र समानताको दिशामा अग्रसर गराउनुपर्ने अभिभारा आएको उनको भनाइ थियो । राष्ट्रियता, सामाजिक र साँस्कृतिक काममा पनि मार्गदर्शन गर्नुपर्नेमा ओलीले जोड दिए । सबै समस्याहरूको सकारात्मक समाधान खोज्ने र देशलाई अगाडि बढाउने उत्तरदायित्व बोकेर यो संसद् आएको र गम्भीरताका साथ अघि बढ्ने ओलीले प्रतिबद्धता जनाए । उनी सबैभन्दा धेरै २५ मिनेट बोलेका थिए ।

‘सरकार सफल बनाउन ध्यान दिन्छौँ’
प्रतिनिधिसभामा पहिलोपटक प्रतिनिधित्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष, दलका नेता एवं गृहमन्त्री रवि लामिछानेले परिवर्तनको वाहकका रूपमा आफूहरूलाई जनताले दिएको मतलाई संसद् र सिंगो देशले सुन्ने बताए । ‘यो संसद्ले नेपाली जनताको हितका लागि त्यसलाई सदुपयोग गर्नेछ भन्ने विश्वास छ,’ उनले भने । आफूहरूले पाएको मत नेपालीको आशाको मत भएको उल्लेख गर्दै त्यो आशा सबै दलहरूमाथि गरिएको उनको भनाइ थियो । संसद् विपक्षीको भएको र प्रतिपक्षी दलले रचनात्मक सुझाव दिए सरकारले आत्मसात् गर्दै अघि बढ्ने लामिछानेले बताए । संसद् र सरकारको कार्यकाल सफल बनाउन आफ्नो दलबाट इमान्दारपूर्वक ध्यान दिने उनको प्रतिबद्धता थियो । १० मिनेट समय पाएका लामिछाने निर्धारित समयभन्दा तीन मिनेट बढी बोलेका थिए । 

जनताको अभिमतलाई सम्मान गर्ने
राप्रपा दलका नेता राजेन्द्र लिङ्देनले जनताको अभिमतलाई सम्मान गर्दै अघि बढ्नुपर्ने बताए । देशको सबै क्षेत्र ओरालो लागेको तथा समस्याको चाङ लागेका वेला यो प्रतिनिधिसभामा आएको भन्दै उनले देशलाई शीरमा राखेर सामूहिक रूपमा यावत् समस्या समाधानको दिशातर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । राप्रपा संसद्मा यही जनादेशबमोजिम राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास, सेवा प्रवाहका मुद्दामा दृढताका साथ उभिने उनको भनाइ छ । सात मिनेट बोल्ने समय पाएका लिङ्देनले निर्धारित समयभित्रै आफ्नो सम्बोधन सकेका थिए । 

संविधान संशोधनमा यादवको जोड
जसपा दलका नेता रामसहायप्रसाद यादवले मधेसी जनताको भावना समेटिने गरी संविधान संशोधन गर्नुपर्ने धारणा राखे । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशितालगायत उपलब्धिलाई संस्थागत तथा कार्यान्वयन गर्नु अहिलेको संसद्को महत्वपूर्ण जिम्मेवारी रहेको बताए । संघीयता कार्यान्वयनका लागि प्रहरी समायोजन, निजामती कर्मचारी समायोजनलगायत ऐन तत्काल बनाउनेतर्फ प्रतिनिधिसभा अग्रसर हुनुपर्ने उनको भनाइ थियो । ६ मिनेट समय पाएका यादव निर्धारित समयभन्दा बढी बोलेका थिए । 

‘आशालाई परिणाममा बदल्छौँ’
पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपा सांसद शरतसिंह भण्डारीले आमजनताको आशालाई परिणाममा बदल्ने कार्यमा प्रतिनिधिसभाले भूमिका खेल्ने बताएका थिए । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीलगायत निर्दाेष थारूहरूको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी थिइन् । राष्ट्रिय सभामा पनि दलका नेताहरूले जनमुखी कानुन निर्माणमा आफ्नो भूमिका सशक्त पार्न र सरकारलाई उत्तररदायी बनाउन प्रतिबद्ध रहेको धारणा राखेका थिए । 

राष्ट्रिय सभामा अब विद्युतीय हाजिरी 
राष्ट्रिय सभाले पहिलो बैठकबाट सांसदहरूको विद्युतीय हाजिरी सुरु गरेको छ । यसअघि हाजिरी पुस्तिकामा राष्ट्रिय सभा सदस्यहरूले हाजिरी गर्दै आएका थिए । ‘पहिलो बैठकदेखि ई–हाजिरी प्रारम्भ भएको छ । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष ज्यूले ई–हाजिरी मेसिनबाट हाजिरी गरी उक्त कार्यको प्रारम्भ गर्नुभयो,’ संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भने ।

पहिलो बैठकमा देखिएका रोचक दृश्य
४ मंसिरमा सम्पन्न निर्वाचनबाट आएको प्रतिनिधिसभा सञ्चालन गर्ने जिम्मेवारी पाएका थिए ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले । उमेरले ८० कटेका राणाले प्रतिनिधिसभाको अध्यक्षता गर्दा सहजता भएन । पाको उमेरका कारण शारीरिक अशक्तता अध्यक्षता ग्रहण गर्ने क्रममा देखिएको थियो । एक एक शब्दमा उच्चारण गर्ने राणा वेलावेला अकमकिरहेका थिए । हुन्छ र हुन्न भन्नेमै झुक्किएका थिए । असहज भएपछि कांग्रेसकी ईश्वरी न्यौपानेले अध्यक्षता गरेकी थिइन् । नेताहरू बोल्दा उनले समयमा कडाइ गरेकी थिइन् । सभाको कमान्ड गर्न सक्ने क्षमता उनमा देखिएको थियो । अन्तिममा आराम गरेर फर्किएका राणाले सभा टुंग्याएका थिए । 

देउवाको छटपटी 
पहिलो बैठकमा ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दा सबै एकाग्र भएर उभिए पनि प्रतिपक्षी दलका नेता देउवामा छटपटी देखिन्थ्यो । शारीरिक अशक्तताले बसिरहँदा पनि उनी हलचल गरिरहेका थिए । एमाले अध्यक्ष ओली उपरखुट्टी लगाएर बसिरहेका थिए । अन्य नेताहरू भने सीधा बसेका थिए । सभामा सबैभन्दा बढी ध्यानपूर्वक कुरा सुन्नेमा गृहमन्त्री लामिछाने थिए । कांग्रेस सभापति देउवाले सम्बोधन गर्दा प्रस्ट बुझिएको थिएन । यहीवेला कांग्रेस महामन्त्री गगन थापा मोबाइल चलाउँदै बसिरहेका थिए । 

गगन थापाको सिट कब्जा
कांग्रेसका सांसदहरू प्रतिपक्षी रोमा बसेका थिए । बायाँपट्टिको चारवटा रोमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र स्वतन्त्र सांसद बसिरहेका थिए । दायाँपट्टिका दुई रोमा विपक्षी कांग्रेस, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा र स्वतन्त्र सांसद बसेका थिए । पहिलो दल कांग्रेसका सांसदले दायाँपट्टिको दोस्रो रो ओगटेका थिए । पहिलो लहरमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का थिए । दोस्रो लहरमा पार्टीका प्रवक्ता प्रकाशशरण महत, महामन्त्री विश्वप्रकाश शर्मा, शशांक कोइराला बसेका थिए । कांग्रेसको वरीयताअनुसार प्रकाशशरण बसेको सिटमा गगन बस्नुपर्ने थियो । तर, महत पहिल्यै आएर बसे । दोस्रो लहरको सिट कब्जा भएपछि गगन तेस्रो लहरमा सहमहामन्त्री बद्री पाण्डेसँगै टाँसिएर बसे । अघिल्लो लहरमा प्रकाशशरण बसेपछि गगन तेस्रो लहरमा कोभिड प्रोटोकलअनुसार सिट व्यवस्थापन उल्लंघन गरेर पाण्डेसँगै बसेका थिए ।

माधवलाई नसुनी हिँडे ओली
बैठकमा छैटौँ नम्बरमा जसपा दलका नेता रामसहायप्रसाद यादव बोलिरहेका थिए । यत्तिकैमा एमाले अध्यक्ष ओली र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ बाहिरिए । सभाको अध्यक्षता गरिरहेकी न्यौपानेले यसपछि बोल्ने माननीय सदस्य माधव नेपाल भनेर अगावै सूचित गरेकी थिइन् । माधवको पालो नआउँदै ओली उठेर हिँडे । १० मिनेटभन्दा बढी बोलेका नेपालले जनचाहनाअनुसार काम गर्न सरकारलाई आग्रह गरे । बोली मात्रै होइन, व्यवहारमा गरेर देखाउन उनले जोड दिएका थिए । बैठकमा स्वतन्त्र सांसदहरू बोल्दा रास्वपा, राप्रपा र जनमतका सांसदहरूले थपडी बजाएका थिए । जसमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले संघीयता र गणतन्त्र ल्याउनेहरूबाटै खतरा रहेको उल्लेख गरे । उनले प्रतिनिधिसभाको यो कार्यकाल सच्चिने अवसर भएको बताए । नेमकिपाका सांसद प्रेम सुवालले संसद्लाई सरकारको रबरस्टाम्प नबनाउन आग्रह गरे । हचुवाका भरमा संसद्‍मा प्रस्ताव नल्याउन आग्रह गर्दै उनले प्राज्ञिक थलो बनाउनुपर्ने जोड दिए । प्रभु साह, अमरेश सिंह र योगेन्द्र मण्डलले काम गर्ने वेला आएको भन्दै निराशाजनक कुरामा नअल्झिन आग्रह गरेका थिए ।