मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २४ आइतबार
  • Wednesday, 18 December, 2024
२o७९ पौष २४ आइतबार १६:४८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटक लोभ्याउन ‘डम्फुपार्क’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २४ आइतबार १६:४८:oo

ओखलढुंगाको मूलखर्कमा पर्यटक लोभ्याउन ‘डम्फुपार्क’ निर्माण गरिएको छ। तामाङ समुदायको बाहुल्य रहेको सुनकोसी गाउँपालिकाको केन्द्र मूलखर्कमा तामाङ समुदायको जीवन्त संग्रहालय बनाउने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले ‘डम्फुपार्क’ निर्माण गरिएको हो। 

चारैतिर घना जंगल, चराचुरुंगीको चिरबिर आवाज, गाउँलाई सहर जोड्ने नागवेली ग्रामीण सडक। सडककै बीचमा निर्माण भएको तामाङ समुदायको सांस्कृतिक पहिचानको प्रतीक ‘डम्फु’पार्कले सबैको मन तानिरहेको छ। 

मूलखर्क, च्यानम, कटुञ्जे, सिस्नेरी, बलखु आसपासको समुदायका मानिस हुन् या कामविशेषले सुनकोसी गाउँपालिका भएर यात्रारत मानिस ठूलो र अग्लो आकृतिमा ठडिएको डम्फु आकृतिको संरचनामा जोकोहीको पनि आँखा टक्क अडिने गर्छ। पछिल्लो समय डम्फू पार्कमा पुग्नेहरू तस्बिर खिचेर रमाउने र टिकटक बनाउन व्यस्त हुने गरेका छन्।

‘डम्फु’ तामाङ समुदायको सांस्कृतिक बाजा हो। ‘डम्फु’लाई सांस्कृतिक पहिचानको रूपमा स्थापित गर्न गाउँमा ‘डम्फुपार्क’ निर्माणको अवधारणा ल्याइएको सुनकोसी– ५ का वडाध्यक्ष गोविन्दराम तामाङले बताए। 

तामाङ समुदायको बाहुल्य रहेको मूलखर्कमा सो समुदायको कला, वेशभूषा, संस्कृति र पहिचानको संरक्षणका लागि वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। 

सुनकोसी गाउँपालिका– ५ को आठ लाख ५० हजार बजेटबाट ‘डम्फुपार्क’ निर्माण गरिएको हो । जगबाट माथि उठाएर फलामे रिङको संरचनामा डम्फु स्तम्भ बनाइएको हो। 

डम्फूपार्कनजिकै गुम्बा निर्माण र स्थानीय मनकुमार तामाङले पहरामा बुद्धको मूर्ति बनाएपछि मूलखर्क धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भएको छ। 

अब संग्रहालय निर्माणको योजना छ। संग्रहालय निर्माण भएपछि तामाङ संस्कृतिबारे अध्ययन गर्ने स्थल र पर्यटकीय केन्द्रका रूपमा विकास हुने स्थानीयको अपेक्षा छ। 

डम्फु तामाङ जातिको छेवार, पास्नी, विवाह, व्रतबन्धलगायतका जन्मदेखि मरणोपरान्तसम्मका शुभकार्यमा प्रयोग हुने सांस्कृतिक बाजा हो। ‘डम्फुपार्क’ले तामाङ समुदायको सांस्कृतिक बाजालाई संरक्षणमा टेवा पुग्ने नेपाल तामाङ घेदुङ संघ ओखलढुंगाका अध्यक्ष सुवास तामाङले बताए। 

जातीय पहिचान झल्काउने झाँकी, बाजा, भाषा संस्कार र संस्कृतिको संरक्षणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने अध्यक्ष तामाङको भनाइ छ।

‘मूलखर्कमा बनेको डम्फुपार्क, यहाँ सञ्चालित लामा पढाइजस्ता कामले हाम्रो जातीय समुदायको संस्कार संरक्षण र प्रवर्द्धनमा मद्दत पुगेको छ,’ तामाङले भने, ‘स्थानीय सरकारसँग नागरिकका धेरै ठूला अपेक्षा छैनन्। 

स–साना विकासका योजना, सामाजिक विकास र जागरणका कार्यक्रमहरू, विपन्न वर्गको हितका निम्ति कार्यविधि र स्थानीय भाषा, संस्कार र संस्कृतिको संरक्षणमा स्थानीय तहले भूमिका खेल्नुपर्छ।’ स्थानीयको पुर्ख्याैली परम्परा त्यस ठाउँको सम्पत्तिका रूपमा हेरिनुपर्ने उनको भनाइ छ।

जिल्लामा पछिल्लो समय धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विभिन्न क्षेत्रलाई स्थानीय तहले विकास गरिरहेका छन्।