१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ पौष २४ आइतबार १०:४५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मूल्य नपाउँदा सुन्तला किसानको दुई करोड आम्दानी घट्यो   

Read Time : > 1 मिनेट
२०७९ पौष २४ आइतबार १०:४५:००

गत वर्ष २६ करोडको सुन्तला बिक्री गरेका तनहुँका किसानले यस वर्ष २४ करोडको बेचे 

अघिल्लो वर्ष म्याग्देको उमाचोकका कृषकले सुन्तला बिक्रीबाट आकर्षक आम्दानी गरेका थिए । त्यस क्षेत्रका किसानले पाँचदेखि ८५ लाख रुपैयाँसम्म आम्दानी गरे । तर, यस वर्ष सोचेजति बजार मूल्य नपाएपछि उनीहरू चिन्तित छन् । गत वर्ष ५० लाखको कारोबार गरेका कृषक सुकनारायण श्रेष्ठले यस वर्ष ३० लाखको मात्रै बिक्री गरेको बताए । कृषकले उत्पादन भए पनि बजार मूल्य नपाएको गुनासो गरेका छन् ।

सुन्तला खरिदकर्ताले सस्तोमा लाने गरेको उनीहरूको गुनासो छ । नाम्सीकोटका कृषक रणबहादुर भुजेलले सुन्तला उत्पादन भए पनि मूल्य कम पाएको बताए । ‘धेरै ठाउँमा सुन्तलाको उत्पादनमा वृद्धि भएकाले बजार मूल्य त्यति छैनन् भन्छन् । त्यसपछि सस्तोमा दिन कृषक बाध्य हुन्छन्,’ उनले भने । 

उत्पादन राम्रो भए पनि जिल्लामा कोल्डस्टोर नहुँदा समस्या भएको हो । यस वर्ष बढी फलेकाले सुन्तलाले बजारभाउ नपाएको सुन्तला खरिदकर्ताको भनाइ छ । पोहोर–परारको तुलनामा यस वर्ष व्यापार कम भएको खरिदकर्ता बलबहादुर भण्डारीले बताए । तनहुँमा एक हजार नौ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएकोमा एक हजार चार सय ८० हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला उत्पादन भएको छ । गत वर्ष तनहुँमा २६ करोडको सुन्तलाको कारोबार भएको थियो ।

तनहुँ जिल्लामा यस वर्ष २४ करोडको सुन्तला बिक्री भएको छ । गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो । सुन्तलाले दाना हाल्ने समयमा असिना र पानी परेपछि सुन्तला कम फलेको हो । सुन्तलाको बोट मर्ने तथा दाना कुहिनेलगायतका समस्या देखिएकाले उत्पादनमा कमी आएको कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए ।

पकेट क्षेत्रमा पनि केही कृषकको सुन्तला कम फलेको छ भने केहीको धेरै फलेको पनि पाइएको छ । ‘कम उत्पादन भएका बगैँचामा रोग लागेकाले बोट मर्ने समस्या देखिएको हो । त्यस्ता ठाउँमा कम फलेको छ, जसका कारण कृषक मर्कामा परेका छन् । धेरै फलेका ठाउँहरू पनि छन्, त्यहाँका कृषकले भने रामै्र आम्दानी लिएका छन्,’ उनले भने ।