एउटा जंगलमा विभिन्न पशुपन्छी एकसाथ मिलेर बस्थे । तीमध्ये काग र मुसाको मित्रता बेजोड थियो । दुवै एकअर्कालाई जहिल्यै साथ दिन्थे । एकअर्काको सुखदुःखमा सँगै हुन्थे । ती दुईको मित्रता देख्दा जोकोही छक्क पथेँ ।
एकपटक लामो समयसम्म त्यस जंगलआसपास पानी परेन । खोला, खोल्सा सबै सुके । जताततै सुक्खा भयो । जंगलका सबै बोटबिरुवासमेत सुक्दै गए । धेरै पशुपन्छी आहाराको अभावमा खान नपाएर मर्न थाले । कैयौँ पशुपन्छी सो जंगल छाडेर अन्तै गए । कागलाई पनि आहाराको अभावमा प्राण कसरी बचाउने भन्ने चिन्ताले सताउन थाल्यो । ऊ आफू त भुर्र उडेर कतै जान सक्थ्यो । तर, आफ्नो मित्र मुसालाई त्यसै छाडेर जान पनि उसले सकिरहेको थिएन ।
एकदिन कागले मुसासित भन्यो– मित्र, यो जंगलमा खानेकुरा पाइन छाड्यो । सबैजसो साथीहरू अन्तै गइसके । अब तिमी र म मात्र बाँकी रह्यौँ । अब हामी पनि यहीँ बसिरह्यौँ भने खान नपाएरै मर्नेछौँ । त्यसैले, अब यो जंगल छाडेर अन्तै जानुपर्छ । मेरो केही आफन्त यो डाँडोभन्दा पारिपट्टि बस्छन् । उनीहरूको तिर आहाराको अभाव छैन रे ! मलाई पनि उतै आऊ भन्दै छन् । तर, जानु पो कसरी ? त्यति टाढासम्म तिमी हिँडेर पुग्न पनि सक्दैनौ । अनि तिमी उड्न पनि सक्दैनौ । के गर्ने होला ?
मुसाले भन्यो– केही छैन मित्र, तिमी जाऊ । म जतिन्जेल बाँच्छु, यतै बाँचुला । खानै नपाएर मरेछु भने मरिहालेँ । कागले भन्यो– त्यसो होइन मित्र, हामी दुवै जसरी पनि उता जानुपर्छ । बरु तिमी मेरो ढाडमा चढेर मलाई च्याप्प समात । म तिमीलाई उडाएर लैजान्छु । बाँचे सँगै बाँचौँला, मरे सँगै मरौँला, हुन्न ? कागका कुरा सुन्दा मुसाको आँखा आँसुले भरिए ।