संकटा क्लबले आहारारा पोखरा गोल्डकप २०७९ जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा संकटाले पाहुना टोली भुटनिज युथ स्पोर्टस् क्लब अमेरिकालाई अतिरिक्त समयमा ३–२ ले पराजित गरेको हो । यससँगै संकटाले दोस्रोपटक प्रतियोगिताको उपाधि हात पारेको हो । यसअघि ७७ सालमा अफ्रिकन रुट्स एसोसिएसनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै संकटाले पहिलोपटक उपाधि जितेको थियो ।
सहारा क्लब पोखराको आयोजनामा भएको २२औँ संस्करणको प्रतियोगिताको उपाधिसँगै विजेता संकटाले १२ लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता भुटनिज युथले ६ लाखमा चित्त बुझायो । १० टोलीको सहभागिता रहेको प्रतियोगितामा सर्वाधिक ६ पटकको च्याम्पियन नेपाल पुलिस र मनाङ मस्र्याङ्दी क्लब क्वार्टरफाइनलबाटै बाहिरिएका थिए ।
रोमाञ्चक फाइनल खेल
खेलको ३६औँ मिनेटसम्म दुई गोलले अघि सरेकोे संकटाले त्यसलाई जोगाउन नसक्दा उपाधिका लागि अतिरिक्त समयसम्म कुर्नुपर्यो । खेलको आठौँ मिनेटमा संकटाका सुरजजिउ ठकुरीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । रक्षक निशान खड्काले बायाँ कर्नरबाट दिएको लामो पासलाई सुरजले गोलमा परिणत गरेका हुन् । ३५औँ मिनेटमा मेसौके ओलोमोउले हेड गोल गर्दै अग्रता २–० को बनाएका थिए । यसपटक कप्तान सुनील बलले पास उपलब्ध गराए ।
दुई गोलले पछि परेको भुटनिज युथ पहिलो हाफमै गोल बराबरी गर्न सफल भयो । ३७औँ मिनेटमा भुटनिज युथका रेनी स्यान्टिलोनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए । मिगेल पालाफोक्सले दिएको पासलाई रेनीले उपयोग गरे । पहिलो हाफको इन्जुरी समयमा विल्स ग्रिफितले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । यसपछि दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन नसक्दा खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयको ११७औँ मिनेटमा संकटाका कप्तान सुनीलले निर्णायक गोल गरे । विदेशी खेलाडी मेसौके खेलको म्यान अफ दी म्याच घोषित भए ।
संकटालाई राष्ट्रिय खेलाडीको साथ
१९ फागुनबाट आयोजना हुने सहिद स्मारक ए डिभिजन लिगका लागि संकटाले कप्तान सुनीलसहित राष्ट्रिय टोलीका सुरजजिउ ठकुरी, आयुष घलान, गौतम श्रेष्ठ र गोलरक्षक टीकेन्द्रसिंह थापासहित निशान खड्का र कुलदीप कार्कीलाई क्लबमा भिœयाएको थियो । क्लबलाई आहारारा जिताउनका लागि उनीहरूले नै महत्वपूर्ण भूमिका खेले । सुनील, सुरज, आयुष, गौतम, टीकेन्द्र र निशानले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन् । सल्यान खड्गीको प्रशिक्षणमा रहेको संकटाबाट विदेशी खेलाडी मेसौके ओलोमोउ, स्टेफन बिनोङ र आन्द्रे थेरी वियिकले पनि उत्कृष्ट प्रदर्शन गरे । यता, प्रदीप हुमागाईंको प्रशिक्षणमा रहेको भुटनिज युथ पहिलोपटक फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित बन्यो । अघिल्लो संस्करणमा भुटनिज युथ पहिलो खेलबाटै बाहिरिएको थियो । भुटनिज युथले अमेरिकामा रहेका नेपाल र भुटानका खेलाडीलाई मैदानमा उतारेको थियो ।
रणनीतिमा सफल भयौँ : सल्यान खड्गी, प्रशिक्षक, संकटा
खेलाडीले मिहिनेत गरेअनुसार नतिजा आयो । धेरै खुसी छु । दुई गोलले अग्रता लिँदा पनि बराबरी भयो । पछि पुनः गोल गर्न सफल भयौँ र उपाधि जित्यौँ । खेल निकै प्रतिस्पर्धात्मक भयो । उपाधिका लागि हामी पूर्ण तयारीका साथ आएका थियौँ । बनाएको रणनीतिअनुसार सफल पनि भयौँ ।
सुनील सर्वाेत्कृष्ट खेलाडी
यसै वर्ष संकटा क्लबसँग अनुबन्धित भएका कप्तान सुनील बल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् । फाइनलमा विजयी गोल गरेका सुनीलले टेल्जीको इलेक्ट्रिक स्कुटर प्राप्त गरे । डेब्यु उपाधि जितेका कप्तान सुनीललाई टेल्जी नेपालका निर्देशक सञ्जीव शिल्पकारले स्कुटरको साँचो हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा संकटाका टीकेन्द्र थापा उत्कृष्ट गोलकिपर, भुटनिज युथका हेक्टर ओर्टेगा उत्कृष्ट रक्षक, संकटाका आयुष घलान उत्कृष्ट मिडफिल्डर, संकटाकै स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड र सल्यान खड्गी उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।
चार गोल गरेका संकटाका मेसौके सर्वाधिक गोलकर्ता चुनिए । धरान फुटबल क्लबले फेयर प्ले अवार्ड प्राप्त गर्यो । विधागततर्फ उत्कृष्ट हुने र सर्वाधिक गोलकर्ताले समान २५ हजार रुपैयाँ प्राप्त गरे । धरानले १० हजार रुपैयाँ प्राप्त गर्यो ।