मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २४ आइतबार
  • Wednesday, 18 December, 2024
हिमपात नहुँदा कालापत्थर बनेको गंगापूर्ण हिमाल । तस्बिर सौजन्य : विनोद गुरुङ
२o७९ पौष २४ आइतबार o७:o६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मंसिर नलाग्दै हिउँ पर्ने मनाङमा पुसमा पनि देखिएन, हिमाल कालापत्थरमा परिणत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २४ आइतबार o७:o६:oo

विगतका वर्षमा मंसिर नलाग्दै मनाङका डाँडाकाँडा हिउँले सेताम्मे हुन्थे । उत्तर र पश्चिमतिर सेता हिमाल टल्किन्थे । हिउँ परेपछि खेती–किसानी गर्नेहरू बाली सप्रिने भयो भनेर खुसी हुन्थे । तर, केही वर्षयता मनाङमा हिउँ कम पर्न थालेको छ । अझ यसपालि त पुस सकिने वेलासम्म पनि हिमपात नहुँदा मनाङका सेता हिमाल कालापत्थरमा परिणत भएका छन् ।

हिमपात नभए पनि यहाँ अघिल्लो वर्षभन्दा चिसोचाहिँ बढेको सर्वसाधारणको भनाइ छ । सर्वसाधारणको भनाइलाई सही थप्दै प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेलले पनि निकै चिसो अनुभव गरेको बताइन् । ‘मनाङमा हालसम्म हिउँ परेको छैन । तर, चिसो निकै बढेको छ,’ उनले भनिन् ।

मनाङमा अघिल्लो साल असोज तेस्रो सातामै हिमपात भएको थियो । हुन त असोजमा हिमपात बिरलै हुने गर्छ । प्रायः मंसिर अन्तिम सातादेखि मात्र हिमपात सुरु हुन्छ । चिसो र हिमपात छल्न मनाङवासीहरू कात्तिक अन्तिम र मंसिर पहिलो साता काठमाडौं, पोखरा, बेँसीसहर झर्ने गर्छन् । बाक्लो हिउँ परेकाले धेरै समयसम्म हिमाल सेता देखिएका थिए । तर, यस वर्ष सिजनमा समेत हिमपात भएको छैन ।

मनाङ पिसाङकी डोल्मा गुरुङ जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको बताउँछिन् । विश्वकै चर्चित अन्नपूर्ण राउन्ड पदयात्रा मार्गमा पर्ने मनाङमा हिउँ पर्ने क्रम घट्न थालेपछि स्थानीय निराश बनेका छन् । ‘विगतमा जाडोयाममा हिउँले मनाङका डाँडा सबैतिर सेताम्मे देखिन्थे, हिजोआज हिमालमा समेत हिउँ छैन, सेता हिमाल काला बन्दै गएका छन्,’ गुरुङ भन्छिन् । पहिले ६–७ फिटसम्म हिउँ परे पनि अचेल एक फिट हिउँ पनि नपर्ने गुरुङ बताउँछिन् ।

आधा दर्जन हिमाल कालापत्थरमा परिणत
मनाङको गंगापूर्ण, लमजुङलगायत हिमाल आधाभन्दा बढी भाग कालापत्थरमा रूपान्तरण भइसकेका छन् । हिउँ पर्न छाडेपछि मनाङको तापक्रमसमेत बढ्न थालेको छ । मनाङका हिमनदी पग्लने क्रम बढेको छ । वर्षौँदेखि मनाङवासीले जलवायुको परिवर्तनको असर प्रत्यक्ष रूपमा भोग्दै आएका छन् ।

हिमपात नहुँदा चिस्यान नहुने आलु, उवा र फापर छर्ने ठाउँमा जोत्नसमेत कठिन भएको चामे गाउँपालिका–२, थान्चोकका किसान कुलबहादुर घलेले बताए । ‘हिउँ परे खेती गर्न सहज हुन्छ । उत्पादन पनि बढ्छ । हिउँले गर्दा स्याउ, आलु, गहुँ, फापरलगायत बाली सप्रिन्छन् । किसानले सिँचाइको छुट्टै व्यवस्था गर्नुपर्दैैन,’ उनले भने ।

हिमपातले स्याउका साथै आलु, करु, गहुँ, फापर र तरकारी बालीलाई राम्रो चिस्यान पुग्ने उनले बताए । हिउँ पर्न छाडेपछि मनाङका लेक र खर्कमा पाइने यार्सागुम्बालगायत बहुमूल्य जडीबुटी पनि पाइन छाडेको छ । सिजनमा समेत हिमपात नहुँदा मनाङका अधिकांश किसान चिन्तित बनेका छन् ।

जलवायु परिवर्तनको असर हिमक्षेत्रमा
जलवायु परिवर्तनले हिमालमा हिउँ जम्न छाडेको, समयमा हिउँ र पानी नपरेको विज्ञहरूको भनाइ छ । जलवायु परिवर्तनले मानिसको जनजीविकामा असर परेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय पानी पर्ने समयमा पानी नपर्ने, हिउँ नपर्ने, बालीनालीमा समयभन्दा अघि नै पाक्नेजस्ता जलवायु परिवर्तनका असर देखिन थालेको छ । 

मानव सिर्जित समस्याजस्तै प्राकृतिक स्रोतको अत्यधिक दोहन, ऊर्जाको अत्यधिक प्रयोग, बढ्दो औद्योगिकीकरणका साथै डढेलो, भूकम्प, ज्वालामुखीजस्ता प्राकृतिक प्रकोपलगायत कारण भइरहेको जलवायु परिवर्तनले मानव जीवनका हरेक क्षेत्रमा नकारात्मक असर पु¥याएको बताइन्छ । कम्तीमा पनि मानव सिर्जित समस्या कम गर्न सकिए जलवायु परिवर्तनले पार्ने असर न्यूनीकरण गर्न सकिने विज्ञहरू बताउँछन् ।