१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २३ शनिबार
  • Monday, 30 September, 2024
रासस काठमाडौं
२o७९ पौष २३ शनिबार १२:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संघीय शिक्षा ऐन सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री प्रचण्ड

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २३ शनिबार १२:२२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषय वर्तमान सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

काठमाडौँको महेन्द्र माविमा शनिबार एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताएका हुन्।

उनले भने, ‘अघिल्लो सरकारको कार्यकालमा पनि सङ्घीय शिक्षा ऐनका केही काम भएका छन्, तर ऐन जारी भएन। यसपटक सङ्घीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा छ। यो ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकसँग सम्बन्धित अधिकांश समस्या सम्बोधन हुन्छन्।’

देशभरका शिक्षकलाई स्वास्थ्य सेवा प्रदान गर्न शिक्षक अस्पताल निर्माणको काम आफूहरुको पालामै अगाडि बढेको जनाउँदै उनले भने, ‘यसलाई सफल कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रै हो। यसका साथै शिक्षकको सम्मानित जीवनका निम्ति हामीले केही न केही पहल लिनैपर्छ। त्यसतर्फ पनि सरकारले सोचिरहेको छ।’

देशको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा शिक्षकको अहम् भूमिका भएकामा प्रधानमन्त्री दाहालले जोड दिए। सामाजिक चेतनाको अभिवृद्धि, राजनीतिक जागरण र राजनीतिक एवं सामाजिक उत्तराधिकारी निर्माणमा शिक्षकको महत्वपूर्ण योगदान रहँदै आएको जनाउँदै उनले यसमा सबै शिक्षकले गर्व गर्नुपर्ने बताए।