मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २१ बिहीबार
  • Thursday, 19 December, 2024
ललितपुरको छम्पीस्थित इँटाभट्टामा काम गर्ने ११ वर्षीय मनीष गोले र उनका साथी । तस्बिर : शिवहरि/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o७९ पौष २१ बिहीबार o७:३१:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बालबालिकाको हातमा इँटा बनाउने साँचो

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष २१ बिहीबार o७:३१:oo

११ वर्षीय मनीष गोले दुवै हात लगाएर सकिनसकी इँटा बनाउने साँचो बेस्सरी पक्डिन्छन् । मुछेर ठिक्क पारेको माटो साँचोमा भर्छन् । त्यसपछि मसिनो तारले साँचोको बिट र माटो बराबर पार्छन् । त्यसलाई दुईपटक भुइँमा ढ्वाकढ्वाक ठोक्काउँछन् र लस्कर मिलाएर घोप्ट्याउँछन् । 

ललितपुरको छम्पीस्थित एक इँटाभट्टामा काम गर्ने मनीषका हात इँटा पार्न अभ्यस्त भइसकेका छन् । सिपालु मिस्त्रीले जस्तै गरी काम गर्न सक्छन् । तर, यो उमेरमा उनको हातमा इँट्टा बनाउने साँचोभन्दा कलम चल्नुपथ्र्याे । दुर्भाग्य अहिले उनी परिवारसँगै इँटाभट्टामा दिन बिताइरहेका छन् । लेखपढ र नयाँ कुरा सिक्ने कलिलो हात इँटा बनाउने साँचो उचाल्नमा व्यस्त छ । ‘स्कुल कहिलेकाहीँ जान्छु, स्कुल जानभन्दा इँटा बनाउनै मन लाग्छ, पैसा पनि आउँछ,’ उनले हाँस्दै भने, ‘स्कुलमा राम्ररी पढाइ पनि हुँदैन ।’ एउटा इँटा पारेको एक रुपैयाँ ३० पैसा पाउने गरेको उनले बताए । दिनमा चार–पाँच सय इँटा पार्ने गरेको उनको भनाइ छ । कमाएको पैसा पनि आफैँले खर्च गर्ने गरेको मनीषले बताए । 

उनी हरेक दिन बिहानैदेखि बाबुआमा सँगसँगै इँटाको साँचो चलाउँछन् । माटो उचाल्दा–उचाल्दै हात गले पनि बाबुआमालाई सहयोग हुने उनको भनाइ छ । ‘मलाई इँट्टा बनाउन कसैले भनेको छैन, इच्छा लगेका वेला मात्रै बनाउँछु,’ उनले सुनाए । गोलेको परिवार गोदावरी नगरपालिकाको चापागाउँमा बस्दै आएको छ । मनीष छम्पीमै रहेको छम्पी सेकेन्डरी स्कुलमा कक्षा तीनमा पढ्छन् । तर, स्कुल भने नियमित जाँदैनन् । 

यहाँ उनले खेल्नका लागि आफूसरहका साथी पनि बनाएका छन् । तर, धेरैजसो समय बाबुआमासँगै इँटा पार्न व्यस्त हुन्छन् । ‘स्कुल भर्ना त गरिदिएका छौँ, कहिलेकाहीँ मात्रै जान्छ,’ मनीषकी आमा माइली गोलेले सुनाइन्, ‘सकेसम्म पढाउनुपर्छ भन्ने लाग्छ, तर काम नगरी खानै पुग्दैन ।’ 

यही इँटाभट्टामा मकवानपुर बकैयाका सन्तोष माझी पनि काम गर्छन् । उनी त झन् स्कुल जान छाडेको तीन महिना भइसक्यो । बाबुआमा इँटा बनाउने काममा ललितपुरमा आएपछि उनी पनि यत्तै आए । यहाँ आएपछि पढाइ मात्रै छुटेको छैन, दैनिकी नै बदलिएको छ । भट्टाका साहुले बालबालिकालाई पढाउने बताए पनि स्कुल भर्ना भने गरिदिएका छैनन् ।

साहुले पढाउने व्यवस्था नगरेको सन्तोषकी आमा सानुमाया माझीले बताइन् । उनले बालबालिकाको भविष्य सोच्दा परिवारको अहिलेकै खर्च टार्न नसक्ने भएकाले स्कुल छुटाएर इँटाभट्टामा आएको बताइन् । ‘हामी यहाँ ६ महिना काम गर्छौँ, यो वेला नानीबाबुले पढ्न पाउँदैनन्,’ सानुमायाले भनिन् । सन्तोष मकवानपुरकै सरकारी स्कुलमा कक्षा दुईमा पढ्थे । तर, भदौयता उनी स्कुल गएका छैनन् । अब फागुनको अन्तिममा भट्टामा काम सकिएपछि मात्रै उनी विद्यालय फर्किन्छन् । 

अभिभावकलाई गुजाराकै चिन्ता
भट्टामा काम गर्ने बालबालिकालाई स्कुल पठाउनुपर्छ भन्ने सवाल सहरमा सधैँजसो नारा बन्छ । तर, ६ महिना इँटाभट्टामा काम गर्ने विपन्न परिवारलाई छोराछोरी पढाउनेभन्दा गुजाराकै चिन्ता छ । उनीहरू ६ महिनामा काम गरेर वर्ष दिनका लागि खर्च जुटाउँछन् । त्यसले पनि नपुगे ज्यामी काम गर्छन् । घरमा एक्लै छाड्न नमिल्ने भएकाले बालबालिकालाई पनि सँगै ल्याउँछन् । 

काठमाडौं उपत्यकाको ललितपुर र भक्तपुरमा सञ्चालित इँटाभट्टामा बालबालिकाको प्रयोग धेरै भएको छ । ललितपुरको चापागाउँ, हरिसिद्धि, गोदावरी, लेले, टीकाभैरव, छम्पी, डुकुछापलगायत क्षेत्रमा इँटाभट्टा छन् । यहाँकै भट्टामा बालबालिका धेरै छन् । 

यस्तै, भक्तपुरको चाँगुनारायण, कमलविनायक, व्यासी, झौखेललगायत क्षेत्रमा सञ्चालित इँटाभट्टामा पनि बालबालिका काम गरिरहेका छन् । अभिभावकसँगै इँटाभट्टामा काम गर्ने उनीहरू करिब ६ महिना स्कुल जान पाउँदैनन् । ‘हामीले दैनिक एक हजारदेखि १५ सयसम्म इँटा बनाउँछौँ, त्यसबाट दैनिक एक हजार पाँच सयसम्म आम्दानी हुन्छ,’ छम्पीमै रहेको अर्को इँटाभट्टामा काम गर्ने सीताराम माझीले भने, ‘यो पैसाले वर्षभरि खान पुर्‍याउनुपर्छ ।’ उनका अनुसार ६ महिनामा एक लाखदेखि डेढ लाखसम्म आम्दानी हुन्छ । ठूलो परिवार हुनेको त बचत हुँदैन । तर, सानो परिवारलाई यो पैसाले वर्ष दिन छाक टार्न पुग्छ । 

बालबालिकाको मुद्दामा वकालत गर्दै आइरहेका अधिवक्ता पंकज कर्णले इँटाभट्टामा बालबालिकाको प्रयोग बढ्दो अवस्थामा रहेको बताए । यसले उनीहरूको पढ्न पाउने र अन्य अधिकारबाट पनि वञ्चित गरेकाले सरकारले नै यसलाई कडाइ गर्नुपर्ने बताए । ‘संवैधानिक रूपमा बाल अधिकारको ग्यारेन्टी गरिए पनि सरकारले यसलाई चासो दिएको छैन, बाल श्रमिक राख्न पाइँदैन, हरेक बालबालिकाको शिक्षामा पहुँच हुनुपर्छ,’ उनले भने, ‘तर, संवेदनशील विषय नारा र कानुनमा मात्रै सीमित छ ।’ 

६ महिनामा जम्मा दुईपटक भुक्तानी

इँटाभट्टामा काम गर्ने श्रमिकलाई त्यसका साहुले ६ महिनामा दुईपटक भुक्तानी दिन्छन् । पहिलोपटक दसैँका वेला र दोस्रोपटक सिजन सकिने वेला । दसैँका वला इँटाको काम भर्खर सुरु भएको हुन्छ । तर, दसैँ मनाउनुपर्ने भएकाले श्रमिकले अग्रिम पेस्की लिन्छन् । साहुले २० हजारदेखि एक लाखसम्म पेस्की दिन्छन् । त्यही पेस्की तिर्न कतिपयले पुस–माघको ठन्डीमा इँटाभट्टामा काम गर्छन् ।

पेस्की लिएपछि त्यसबापतको काम गर्नैपर्ने भएकाले जाडोमा कठ्यांग्रिएर इँटाभट्टामा काम गर्नुपरेको मकवानपुरका सुनील गोलेले बताए । उनका अनुसार साहुले काम सुरु गर्ने वेला र सकिने वेला माघ–फागुनमा भुक्तानी दिन्छन् । तर, अत्यधिक चिसो भएपछि कतिपय भुक्तानी लिन छाडेर हिँड्ने गरेका छन् । साहुले बाँकी भुक्तानी अन्तिममा मात्रै दिने भएकाले त्यसको आशामा अधिकांश श्रमिक चिसो मौसममा इँटाभट्टामा खटिने गरेका छन् ।