१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २० बुधबार
  • Saturday, 21 September, 2024
कमलराज भट्ट काठमाडाैं
२o७९ पौष २० बुधबार o६:१८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अब सांसदको विद्युतीय हाजिरी

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष २० बुधबार o६:१८:oo

संघीय संसद्का सांसदका लागि पहिलोपटक विद्युतीय हाजिरीको व्यवस्थापन गरिएको छ । संसद् सचिवालयले राष्ट्रिय सभामा विद्युतीय हाजिरी लागू गर्न परीक्षण थालेको हो । प्रतिनिधिसभामा भने सभामुख चुनिएपछि व्यवस्थापन गरिने सचिवालयले जनाएको छ । 

सांसदले यसअघि हाजिरीपुस्तिकामा हाजिर गर्दै आएका थिए । संसद्लाई पेपरलेस बनाउने अभियानअन्तर्गत विद्युतीय हाजिरी व्यवस्थापन गरिएको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । ‘सचिवालयले राष्ट्रिय सभामा विद्युतीय हाजिरी लागू गर्न परीक्षण गर्दै छ, परीक्षण सफल भएपछि लागू हुन्छ,’ उनले भने । उनका अनुसार हाल सचिवालयले राष्ट्रिय सभा सदस्यहरूको फिंगर प्रिन्ट लिँदै विद्युतीय हाजिरी परीक्षण गरिरहेको छ । 

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले राष्ट्रिय सभा सदस्यको ल्याप्चेलाई हाजिरी यन्त्रमा समावेश गर्ने कार्य भइरहेको बताए । ‘२५ पुसमा पहिलो बैठक बस्दै छ । त्यसअघि नै राष्ट्रिय सभाका सबै माननीयको ल्याप्चेलाई हाजिरी यन्त्रमा समावेश गरिसक्छौँ,’ उनले भने, ‘यो सेसनबाट विद्युतीय हाजिरी प्रयोगमा आउँछ ।’ 

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुस दिउँसो १ बजे संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् । त्यसअघि एजेन्डा तय गर्न सर्वदलीय बैठक बस्दै छ । बैठकले अन्तरिम नियमावली, सिट व्यवस्थापन, प्रधानमन्त्रीको विश्वासको मत र सभामुखको निर्वाचनलगायत एजेन्डा तय गर्ने ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बताए । अधिवेशन आह्वासँगै राष्ट्रिय सभामा सांसदको विद्युतीय हाजिरी प्रारम्भ हुँदै छ भने प्रतिनिधिसभामा सभामुख चयनपछि कार्यान्वयनमा आउनेछ ।

संघीय संसद्का महासचिव भरतराज गौतमले दलहरूबाट निर्णय भए प्रतिनिधिसभामा पनि विद्युतीय हाजिरी लागू गर्न समस्या नभएको बताए । ‘कार्यव्यवस्थाले मार्गनिर्देशन गरे सचिवालय प्रतिनिधिसभामा पनि व्यवस्थापन गर्न तयार छ,’ उनले भने, ‘यो विषय नयाँ सभामुख आएपछि टुंगो लाग्ला ।’

महासचिव गौतमले मंगलबार राष्ट्रिय सभा सदस्य जितेन्द्र देवको फिंगर प्रिन्ट लिएर विद्युतीय मेसिनमा हाजिरी परीक्षण गराएका थिए । विद्युतीय हाजिरीको परीक्षणमा सहभागी भएका कांग्रेसबाट राष्ट्रिय सभा सदस्य देवले सकारात्मक र सिर्जनात्मक रूपमा ग्रहण गरेको बताए । ‘सांसदहरूलाई संसदीय गतिविधिमा नियमित रूपमा भाग लिन, बैठकमा बस्न, बैठक चलुन्जेलसम्म छलफलमा सहभागी हुन र निर्णय प्रक्रियामा तदारुकताका साथ सक्रिय रूपमा बस्न वातावरण प्रदान गर्छ,’ उनले भने । विगतमा धेरै सांसद संसद् र समिति बैठकमा नआइदिने र आएपछि तुरुन्तै निस्किने खालको विकृतिलाई रोक्न सघाउ पुग्ने देवको विश्वास छ । 

नेता देवले विद्युतीय हाजिरी प्रतिनिधिसभामा बढी आवश्यक रहेको बताए । प्रतिनिधिसभा र त्यसका समितिका कोरम नपुग्ने, बैठक नै पटक–पटक स्थगित हुने अवस्था भएकाले विद्युतीय हाजिरीले सांसदलाई उत्तरदायी बनाउने उनको धारणा छ । 

राष्ट्रिय सभामा अध्यक्षका लागि टेली प्रमोटर जोडिँदै

संसद् सचिवालयले राष्ट्रिय सभामा विद्युतीय हाजिरी लागू गर्न परीक्षण गरिरहे पनि कार्यव्यवस्था परामर्श समितिबाट औपचारिक निर्णय हुन बाँकी छ । अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसदलाई प्रविधिमैत्री बनाउने गरी अध्ययन गर्न सचिव राजेन्द्र फुँयालको नेतृत्वमा कार्यदल गठन गरेका थिए । कार्यदलले तत्काल विद्युतीय हाजिरी लागू गर्नेदेखि अन्य प्राविधिक सुधारको सिफारिस गरेको थियो । कार्यदलको सिफारिसअनुसार राष्ट्रिय सभामा टेली प्रमोटरको प्रयोग पनि परीक्षणमै रहेको सचिव फुँयालले जानकारी दिए । ‘दुइटा टेली प्रमोटर आएको छ, ट्रायलमा छौँ,’ उनले भने, ‘अब रोस्ट्रममा उभिएर र अध्यक्षले पढ्ने कुरा घोप्टिएर पढ्नु नपर्ने अवस्था बन्छ । टेली प्रमोटरबाट सीधा हेरेर लिखित सम्बोधन गर्ने सुविधा हुन्छ ।’ कार्यदलको सिफारिसका आधारमा राष्ट्रिय सभामा एस, नो र नो भोटिङको सुविधा भएको विकल्प सांसदको टेबुलमै राख्ने योजना छ । यसले तत्कालै मतदानको अवस्था स्क्रिनमा देखिने सुविधा दिनेछ । संसद्मा प्रस्तुत गरिने विभिन्न प्रस्तावमा भएका त्रुटि तत्कालै सच्याउन विद्युतीय नेटवर्किङको व्यवस्थापन गर्न पनि कार्यदलले सिफारिस गरेको र यसलाई क्रमशः कार्यान्वयन गर्दै लगिने सचिव फुँयालले बताए ।