१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १९ मंगलबार
  • Sunday, 29 September, 2024
२o७९ पौष १९ मंगलबार २२:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा कांग्रेसलाई दलको नेता छान्न सकस, देउवाका भतिजा पनि प्रतिस्पर्धामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १९ मंगलबार २२:o४:oo

सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई संसदीय दलको नेता छान्न सकस परेको छ । 

आकांक्षी धेरै भएपछि कांग्रेसले दलको नेता अझै छान्न सकेको छैन । नेता चयन गर्न पार्टीका प्रदेश पदाधिकारीसहित मंगलबार बसेको बैठकमा सहमति जुट्न सकेन ।

बैठकमा ६ जनाले दलको नेतामा दाबी गरेका थिए । पार्टीको प्रदेश महामन्त्रीसमेत रहेका मेघराज खड्का, बहादुरसिंह थापा, दिवानसिंह बिष्ट, प्रकाश देउवा, शिवराज भट्ट र कमल शाहले दलको नेतामा दाबी गरेका प्रदेश सभा सदस्य प्रकाश बमले जानकारी दिए । 

बिष्ट र शाह संस्थापन इतर समूहका हुन् । देउवा पार्टी सभापति शेरबहादुर देउवाका भतिजा हुन् । 

प्रदेश सभा सदस्य बमका अनुसार पदाधिकारी बैठकमा दलको नेताका आकांक्षीले आ–आफ्नो धारणा राखेका थिए । 

‘सहमतिमा नेता  छान्ने प्रयासका लागि पार्टीको प्रदेश समितिका पदाधिकारीले प्रदेश सभा सदस्यहरूसँग छलफल गर्नुभएको हो तर आकांक्षी धेरै देखिएकाले सहमति जुटेन,’ बमले भने, ‘आकांक्षीलाई आपसमा छलफल गरेर सहमति गर्न भनिएको छ, नभए भोलि निर्वाचन कार्यतालिका प्रकाशित गर्ने भन्ने छ ।’

सहमतिको सम्भावना भने कम देखिएको उनले बताए । निर्वाचनमा दलको नेताका लागि देउवा र थापाबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको कांग्रेसका एक नेताले बताए । 

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९ सदस्य छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै प्रदेशमा पनि कांग्रेस प्रतिपक्षमा रहने सम्भावना छ । 

नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी वा एकजना स्वतन्त्रले साथ दिएमा भने यहाँ विपक्षी गठबन्धनको सरकार बन्न सक्छ । 

‘पछि सत्ता समीकरणमा फेरबदल आए मुख्यमन्त्री बन्ने सम्भावना रहेकाले पनि दलको नेतामा धेरैको आकांक्षा छ,’ कांग्रेसका एक नेताले भने । 

माओवादी, एमाले, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीले भने संसदीय दलको नेता चयन गरिसकेका छन् । 

प्रदेश सभामुखका लागि २८ पुसमा निर्वाचनको मिति तय गरिएको छ । प्रदेश सभामा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक तथा स्वतन्त्रबाट निर्वाचित एक सदस्य छन् ।