गोरखाको धार्चे गाउँपालिका– ४ लाप्राक गुप्सीपाखास्थित एकीकृत बस्तीका पाँच सय ५४ जनाले लालपुर्जा पाएका छन् । पाँच सय ७३ घरधुरी रहेको बस्तीमा बाँकीलाई चाँडै लालपुर्जा वितरण गर्ने तयारी रहेको वडाध्यक्ष किसान गुरुङले बताए ।
०७२ को भूकम्पले लाप्राकको पुरानो गाउँ ध्वस्त बनाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गुप्सीपाखामा पाँच सय ७३ घर निर्माण गरिदिएको थियो । सरकारी जग्गा मन्त्रिपरिषद्बाट निर्णय गरेर घरधनीलाई ०७७ बाट लालपुर्जा वितरण गर्न थालिएको हो । पहिलो चरणमा ०७७ मा दुई सय ८० घरधनीलाई लालपुर्जा वितरण गरिएको थियो ।
दोस्रो चरणमा १५ पुसमा ल्होसारको अवसरमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले घरधनीलाई लालपुर्जा वितरण गरेका हुन् । दोस्रो चरणअन्तर्गत ९ देखि १६ पुससम्म दुई सय ७४ घरधनीलाई लालपुर्जा वितरण गरिएको वडाध्यक्ष गुरुङले बताए । मालपोत कार्यालयबाट आएको टोलीले लाप्राकमै पुगेर लालपुर्जा वितरण गरेको हो ।
अब १९ जनाको वितरण गर्न बाँकी रहेको र उनीहरूमध्ये केही विदेशमा रहेको र केही मृत्यु भएकाले लालपुर्जा वितरण नभएको वडाध्यक्ष गुरुङले बताए ।